
वि.स २०, २०७२- पूर्वअर्थमन्त्री रामशरण महत विश्वकै उत्कृष्ट अर्थमन्त्री छानिएका छन् । बेलायती पत्रिका द बैंकरले हरेक बर्ष सार्वजनिक गर्ने सूचिमा महत विश्व र एसिया प्रशान्त दुवै तर्फबाट उत्कृष्ट अर्थमन्त्री छानिएका हुन ।
‘गत बर्षको भूकम्प लगत्तैको उद्धार र त्यसपछि अन्तर्राष्ट्रिय सहायता ल्याउन महतले गरेको कामले उनी एसिया प्रसान्त क्षेत्र र विश्वभरिकै उत्कृष्ट अर्थमन्त्री छानिएका हुन्,’ द बैंकरले उनी उत्कृट हुनुको कारण खुलाएको छ ।
बैंकरका अनुसार उसले हरेक बर्षको जनवरी अंकमा उत्कृष्ट अर्थमन्त्री सार्वजनिक गर्ने गरेको छ । यसअघि हाल भारतका राष्ट्रपति प्रणव मुखर्जी अर्थमन्त्री छँदा एसिया प्रशान्त क्षेत्रमा उत्कृष्ट अर्थमन्त्री छानिएका थिए । यसपटक महत भने दुवै तर्फ उत्कृष्ट छानिएका छन् ।
बैंकरले भूकम्पपछिको अवस्थामा पनि वृहत् आर्थिक परिसूचक सहि अवस्थामा राख्न सफल भएको पनि उल्लेख गरेको छ । भूकम्पपछिको उद्धार र स्रोत जुटाउने कामकै लागि महत उत्कष्ट भए पनि भुकम्पपिडितको पीडा भने कम हुन सकेको छैन । राजनीतिक खिचातानीले भूकम्प गएको ८ महिना पछि वल्ल पुनर्निर्माण प्राधिकरणको प्रमुख छानिएको छ ।
बैंकरले तराई क्षेत्रमा चलेको आन्दोलन र भारतले लगाएको अघोषित नाकावन्दीले पुनर्निर्माणको काम हुन नसकेको उल्लेख गरेको छ । महत आफैं पनि पीडितले राहत नपाएकोमा दु:खी भएको वताउँछ्न । ‘हुन त यो खुसीको बेलामा म कसैलाई दोष दिन चाहन्न,’ प्रमुख प्रतिपक्षी कांगेसका नेता समेत रहेका महतले भने, ‘तर सरकारले काम गर्नुपर्ने हो जुन हुन सकेको छैन, मेरो केहि सहयोग चाहिन्छ भने म गर्न तयार छु ।’