
ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले टिम्स कार्डको सट्टा बिल जारी गरेर भ्रष्टाचार गरिरहेको छ। १३ मंसीरमा पर्यटन बोर्डको पोखरा कार्यालयमा गुनासो गर्न आएका फ्रान्सेली पर्यटक पेलिसर जँ फ्र्स्वाँसँग पदयात्री पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड फारम र कार्डबापत टानको पोखरा कार्यालयले दिएको बिल थियो। फारममा ‘युज्ड’ भन्ने छाप लागेको थियो (हे.तस्वीरमा रातो घेरा)।
सुरक्षा र पदयात्रा सम्बन्धी सूचनाका लागि पर्यटकलाई फारम भराएर टिम्स कार्ड जारी गरिन्छ। यसबाट सम्बन्धित पर्यटक कहिले, कहाँ गयो भन्ने जानकारी हुनुको साथै उसलाई कुनै अप्ठ्यारो परे उद्धारमा पनि सजिलो हुन्छ। टिम्स कार्डको अनधिकृत प्रयोग रोक्न सम्बन्धित पर्यटक गन्तव्यमा पुगेपछि त्यसमा ‘युज्ड’ भन्ने छाप लगाइन्छ। तर, पोखरा टानले पेलिसरलाई टिम्स कार्ड नदिएर उनले भरेको फारम नै दिएको थियो, जसमा टानका जोमसोमस्थित कर्मचारीले ‘युज्ड’ भनेर छाप लगाइदिएका थिए।
टानले पर्यटकलाई कार्डको साटो बिल दिएर भ्रष्टाचार गरिरहेको यो घटनाले पुष्टि गरेको छ। काठमाडौंबाट टिम्स कार्ड नआएकोले बिलकै आधारमा पैसा लिएको पोखरा टानकी कार्यालय सचिव सावित्री जोशी बताउँछिन्। यता काठमाडौंस्थित पर्यटन बोर्डका अधिकारीहरू छाप नलगाइएको टिम्स कार्ड दुरुपयोग हुने र पर्यटकलाई फारम नै दिएर पठाउँदा त्यसबापत उठाइएको रकम तथ्यांक अभावमा हिनामिना हुने बताउँछन्। टिम्स कार्ड परीक्षण गर्ने कर्मचारी टानकै भएकाले पनि यस्तो आशंका गरिएको हो।
बोर्डको पोखरा कार्यालयका अधिकृत श्रद्धा श्रेष्ठका अनुसार, अघिल्ला वर्ष यो समयमा पोखराबाट दैनिक सरदर ३०० टिम्स कार्ड जारी हुने गरेकोमा भूकम्पका कारण अहिले दैनिक २० वटासम्म टिम्स कार्ड जारी हुने गरेका छन्। समूहगत पदयात्रामा जाने पर्यटकले प्रति व्यक्ति १० अमेरिकी डलर र एक्लाएक्लै जानेले प्रति व्यक्ति २० डलर तिरेर टिम्स कार्ड लिनुपर्छ। त्यसरी जम्मा हुने रकमबाट एकतिहाइ टानले पाउने बोर्डसँग सम्झौता भएको छ। बोर्डले टिम्स कार्डबापतको पैसा अग्रिम रूपमा दिन छोडेपछि टानले पर्यटकलाई टिम्स कार्ड नदिई फारम र बिल मात्र दिन थालेको छ। टानले अनियमितता गरेको आशंकामा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले गएको १८ चैतमा बोर्डलाई टिम्स कार्डबापत अग्रिम रकम नदिन निर्देशन दिएको थियो।
“टानले टिम्स कार्ड दिएर मात्र त्यसबापतको रकम लिनुपर्छ”, बोर्डका एक अधिकारी भन्छन्, “कार्ड जारी नगरी त्यसबापत पैसा उठाउनु गैर–कानूनी हो।” टानले २०७१ चैतसम्म टिम्स कार्डबापत रु.१७ करोड २७ लाख ३० हजार ७३६ उठाएर रु.१२ करोड ६६ लाख ८८ हजार ४२९ खर्च गरेको छ। त्यसमध्ये रु.६ करोड ५० लाख अनियमितता भएको लेखा परीक्षण तथा आन्तरिक लेखा परीक्षण प्रतिवेदनले देखाएको छ।
पर्यटन मजदूरको हितमा खर्च गर्नुपर्ने रकमबाट टानका पदाधिकारीहरू पटक–पटक विदेश भ्रमणमा गएका छन्। सुरेशमान श्रेष्ठ पर्यटन सचिव हुँदा टिम्स कार्डको रकम विदेश भ्रमणमा खर्च गर्ने सम्झौता गरिदिएका थिए। -बिजशाला
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्