
काठमाडौं/नेपाल स्टक एक्सचेञ्जमा सेयर ब्रोकरहरुले धरौटी भनेर राखेको साढे २ करोड रुपैंया बेपत्ता भएको खुलाशा भएको छ । पाँच वर्षअघि २७ वटा नयाँ ब्रोकरलाई धितोपत्र बोर्डले लाईसेन्स दिएपछी नेप्सेले कारोवार सदस्यता दिनुपर्ने भयो । तर, त्यसबेला नेप्सेले नियममै नरहेको धरौटी भन्दै ब्रोकरहरुसँग रकम माग्यो । तर, ब्रोकरहरुलाई रकम माग्न पठाइएको पत्रमा भने ब्रोकर लाइसेन्सको लागि शिफारिश गरिएकोमा रकम मागिएको थियो ।
नेप्सेले ७ कात्तिक २०६७ मा ५० वटै ब्रोकर कम्पनीलाई पत्र पठाएर पूँजी बजारको विकासका लागि रु. ५ लाखका दरले धरौटी रकम बुझाउन निर्देशन दिएको थियो । (हेर्नुस पत्र) पत्रमा नेप्सेले ‘सिफारिश छनोट विधिको बुँदा नम्बर ९ अनुसार’ रकम मागे पनि कानूनमा ब्रोकरसँग रकम उठाउने व्यवस्था छैन । नियम विपरित धरौटी भनेर मागिएको यस्तो रकमलाई उसले मुनाफामा लगेर हालेको छ ।
सोही अनुसार २७ वटा ब्रोकरहरुले नेप्सेमा नियममा तिर्नु नै नपर्ने ५ लाखका दरले रकम बुझाएर सदस्यता लिए । त्यसपछी नेप्सेले आफैंले ब्रोकरहरुबाट उठाएको रकम धरौटी रकम भन्दै छुट्टै खातामा राख्ने गरेको थियो । तर, योग्यता नपुगे पनि केही सेयर खेलाडीहरुको लगानीमा ठुलो रकम बुझाएर सिताराम थपलिया महाप्रवन्धक भएर आए । उनले शंकरमान श्रेष्ठले धरौटीवापत भनेर छुट्टै खातामा राखेको साढे २ करोड रुपैंयालाई आम्दानी मानेर नेप्सेको मुनाफामा हालिदिए । त्यसपछी सो रकमबाट उसले आफु र कर्मचारीलाई बोनस बाँडिदिए । कर्मचारीहरुले बोनस रकम वापत ठुलो रकम पाएपछी सबै ‘तैचुप मैचुप’को अवस्थामा पुगे ।
कानूनमा नभएको व्यवस्था सञ्चालक समितिबाट पारित गरेर उठाएको झन्डै रु.२ करोड ५० लाखलाई रकम लिएको ३ बर्षपछी आर्थिक वर्ष २०६९/७० मा आम्दानी मानेर कर्मचारीलाई बोनस बाँडेको भेटिएको हो । यस बिषयमा कुरा उठे पनि नेप्सेले दलालहरुलाई थर्काएर नेप्सेले सामसुम पार्यो । महाप्रवन्धक थपलियाले आफ्नो पर्फमेन्स राम्रो देखाउन केही भ्रष्ट कर्मचारीहरुको मिलेमतोमा आफै बोनस खानेगरी ब्रोकरले धरौटी राखेको पैसा ३ बर्षपछी बोनस खाएर सकेका हुन् ।
परिचालन योजना, कार्यविधि नतोकी ब्रोकर कम्पनीबाट धरौटी उठाएर राख्ने, ब्रोकरहरुको लागि केही काम नगर्ने र दु:ख मात्र दिने काममा नेप्सेका कर्मचारीहरु लागेका छन् । उनीहरुले ब्रोकरहरुसँग बार्षिक रुपमा नै सदस्यता शुल्क भनेर ५ लाख रुपैंया लिनुपर्ने प्रस्ताव समेत बोर्डमा लैजान लागेको बताइएको छ । अध्ययन र अनुभभव बिना नै नेप्सेको महाप्रवन्धक बनेका थपलियाले हावा तालमा नेप्से चलाइरहेका छन् । यसअघि रामजी रेग्मीलाई अध्यक्ष बन्नबाट रोक्न ठुलो दौडधुप गरेका थपलियाले अहिले ‘रेग्मीसरलाई एक दिन रक्सी खुवाईदिए पुगिहाल्छ’ भन्दै महाराजगन्ज चोकमा भन्दै गरेको सुन्नेहरु धेरै थिए ।
‘ब्रोकरले काम गरिदिएर रकम उठाएर बुझाएपछी नेप्सेका् आम्दानी हुन्छ तर नेप्सेका कर्मचारीहरु ब्रोकरलाई कसरी दु:ख दिन पाईन्छ भन्दै दुलो खोज्दै बसिरहेका हुन्छन्’, एक ब्रोकर कम्पनीका कर्मचारी बताउँछन् । पछिल्लो ३ बर्षमा नेप्सेमा सुधारको कुनै काम भएको छैन । ठुलो तामझामसहित स्थापना भएको सिडिएस अहिले नेप्सेको एउटा बिभागभन्दा पनि सानो रुपमा रहेको छ । कर्मचारीहरु सबैले एउटा न एउटा ब्रोकर कम्पनीमा धम्क्याएर सेयर हालेका छन् । यस्तोमा भर्खरै नियुक्त भएको अध्यक्ष रामजी रेग्मीलाई भने एक्लो बनाइएको छ । यसअघि लामो समय राष्ट्र बैंकको तर्फबाट नेप्सेको बोर्डमै बसेको भए पनि रेग्मीलाई सहयोग नगर्न र सुचना नदिन जिएम थपलियाले कर्मचारीहरुलाई धम्क्याएका छन् ।
(मंसिर २० गतेको सेयरबजार साप्ताहिकमा प्रकाशित)