Skip to content
LAXMI SUNRISE BANK

सिनर्जी फाइनान्स धरापमा, ४८ करोडको फाइनान्समा ५३ करोडको कर्जा घोटाला

अर्थ सरोकार

दुई बर्षअघि ३ वटा फाईनान्स कम्पनी गाभिएर बनेको सिनर्जी फाईनान्स कम्पनीको अवस्था झनै धराशायी भएको छ । तीनवटा कम्पनीबाट आएका सञ्चालकहरुको कलह र विवादका कारण शीघ्र सुधारात्मक कारवाहीबाट भर्खरै फुकुवा पाएको सो फाइनान्सका सिईओ राजेन्द्रमान शाक्य राजिनामा दिएर बाहिरिएका छन् । साधारणसभा हुनु केही दिनअघि मात्र उनी राजिनामा दिएर निस्किएका हुन् । फाइनान्सको साधारणसभा आज हुदैछ र यसमा सञ्चालकहरुको चुनाव पनि हुदैन ।

 तर, सो निर्वाचनमा बैंकिङ कसुर लागेर मुद्दा खेपिरहेका व्यक्ति समेत सकृय छन् । सिएमबी फाइनान्स, एल्पिक एभरेष्ट फाइनान्स र बुटवल फाइनान्स गाभिएर सिनर्जी फाइनान्स बनेको हो । तर, तत्कालिन बुटवल फाइनान्सका कार्यकारी अध्यक्ष देवेन्द्र ध्वजु र एल्पिक एभरेष्टका रामशान्त श्रेष्ठले गरेको करोडौं घोटालाका कारण कम्पनीको अस्तित्व नै धरापमा परेको हो । मर्जरलगत्तै थला परेको फाइनान्स कम्पनीले अहिलेसम्म लाभांश दिएको छैन । पहिले समस्याग्रस्त भएको कस्मिक फाइनान्सले नाम फेरेर सिएमबी बनेपछी सुध्रिएको अवस्थामा पुगेको थियो । तर, बुटवल र एल्पिक एभरेष्टबाट आएको खराब कर्जाले धरापमा पारेपछी अब कम्पनीको अस्तित्व नै खतरामा परेको छ । 
फाइनान्सका एक संस्थापक भन्छन, ‘अब कम्पनीको बाच्ने आश छैन । ४८ करोडको फाइनान्समा झण्डै ५३ करोडको कर्जा घोटाला भएको छ ।’ यसमध्ये लगभग एकतिहाई कर्जा मात्र उठ्ने संभावना रहेकाले कम्पनी नै टाट उल्टिने अवस्थामा पुगेको हो । सिईओ राजेन्द्रमान शाक्यले राजिनामा दिएर बाहिरिएपछी घोटालाका नाईकेहरु रामशान्त श्रेष्ठ र देवेन्द्र ध्वजुनियमित कार्यालय गएर आफुसम्बद्ध कर्जाको धितो लिलाम नगर्न दवाब दिन थालेको कर्मचारीहरु बताउछन् । 
जबकी रामशान्तलाई राष्ट्र बैंकले बैंकिङ कसुरमा ५ लाख जरिवाना गरेर कारवाही गरेको छ भने देवेन्द्र ध्वजु र उनकी श्रीमती पार्वती ध्वजुलाई पक्राउ गरी बैंकिङ कसुरमा मुद्दा चलाएको छ । उनीहरु धरौटीमा छुटेका हुन् । फाइनान्समा बुटवलको ३१ करोड र एल्पिक एभरेष्टको २२ करोड कर्जा खराब देखिएको छ । यसमध्ये गतमहिना बिक्री भएको ध्वजु“को नामको एककरोडको धितोसहित बुटवलसम्बद्ध ७ करोड रुपैेंया कर्जा उठेको छ भने एल्पिकसम्बद्ध २२ करोडमा 
प्रविरशमशेर राणाको डेढ करोडबाहेक कुनै उठेको छैन ।
बोहरा अध्यक्ष हुने

आज हुने फाइनान्सको साधारणसभा संस्थापहरुको तर्फबाट ५ जना निर्विरोध निर्वाचित भैसकेका छन् । निर्वाचन अधिकृत मिलनकुमार राईका अनुसार संस्थापक समुहबाट निर्वाचित हुनेमा झपट बहादुर बोहरा, सुरज केसी, कृष्णहरी श्रेष्ठ, होमबहादुर पुन र उमेशलाल श्रेष्ठ छन् । तर, सर्बसाधारण समुहबाट चयन हुने ३ जनाको लागि भने ५ जनाको उमेदवारी परेको हु“दा चुनाव हुने भएको छ । 

जसमा अर्जुन कार्की, चन्द्रलोक प्रसाद श्रेष्ठ, सशिराज बज्राचार्य, कुशुमदेबी शाक्य र अनुभव ध्वजु छन् । अनुभव ध्वजु बुटवल फाइनान्समा करिब ३१ करोड घोटाला गरेका देवेन्द्र ध्वजुका छोरा हुन् । उनको आमाबाबु दुबैलाईं बैंकिङ कसुरमा अदालतमा मुद्दा चलिरहेको अवस्थामा उनीहरु बैंकिङ ज्ञान केही नभएको छोरालाई सञ्चालकको उमेदवार बनाएका हुन् । फाइनान्सको आज हुने साधारणसभाले सबै नया सञ्चालकको चयन गरेपछी झपट बोहरालाई अध्यक्ष बनाउने गरी तयारी भैसकेको छ ।

एकतिहाई पनि उठ्दैन

सिनर्जी फाइनान्समा भएको घोटाला लामो समयसम्म लुकेको थियो । राष्ट्र बैंकले पनि राम्रोसग सुपरिवेक्षण नगरेका कारण फाइनान्स भित्रभित्रै समस्यामा परिसकेको थियो । सिईओ शाक्यले १ बर्षभित्र सबै कर्जा उठाउने प्रतिबद्धता जनाएका कारण राष्ट्र बैंकले कारवाही नगरी रोकेको बताइएको छ । तर, शाक्यले पनि करिब ७ करोड खराब कर्जा मात्र असुल गर्न सकेका छन् ।

 देवेन्द्र ध्वजुले बिभिन्न नक्कली ऋणी खडा गरी आफैले कर्जा प्रवाह गरी आफैले अपचलन गरेका थिए । उनले घरजग्गा व्यवशायी तथा सिद्धार्थ विकास बैंकका पूर्व सन्चालक मधुसुदन सिलवालसग मिलेर घोटाला गरेका हुन् । सिलवाल आफै सिद्धार्थ र किस्ट बैंकको घोटालामा परेर जेल सजाय पाएर अझै मुद्दा खेपिरहेका छन् । ध्वजुले बुटवल फाइनान्सको शाखा कार्यालय काठमाडौंको दरवारमार्गमा राखेर जग्गा प्लटिङको धन्दा चलाएका थिए । 
उनले मधुसुदन सिलवाल, उनकी श्रीमती शोभा गिरी र छोरी रुपा गिरीको नाममा समेत करोडौं कर्जा प्रवाह गरेका थिए । त्यस्तै सरस्वती थापा, केशव सत्याल लगायतको नाममा पनि करोडौं कर्जा छ । ध्वजु र सिलवालले सो फाइनान्सबाट ३१ करोड घोटाला गरेका थिए । यसमा धितोस्वरुप राखिएको घरजग्गाको चारगुणा बढी मुल्यांकन गराईएको छ । जुन अहिलेको अवस्थामा बिक्री गर्ने हो भने एक तिहाई मात्र रकम उठ्ने अवस्था छ । ध्वजु समुहले घोटाला गरेको ३१ करोडमध्ये २ बर्षको अवधीमा ६ करोड मात्र उठ्न सकेको छ ।
रामशान्तको कृत्य

त्यस्तै रामशान्त श्रेष्ठको एल्पिक एभरेष्ट फाइनान्समा पनि करोडौं घोटाला भएको छ । कतिसम्म भने सुन्धारामा रहेको कर्मचारी सन्चय कोषको भवन भाडामा लिएर चलाउने नारायण कार्की र प्रविर शमशेर जबरालाई बिना धितो, कागजात नै नराखी करोडौं कर्जा दिइएको पाइएको छ । प्रविरशमशेर यस्ता व्यक्ति हुन्, जसले काठमाडौं मल सन्चालन गर्न लिजमा लिएर बिभिन्न व्यक्तिलाई मसल राख्न दिएर रकम उठाए पनि कोषलाई तिरेका थिएनन् । 

कोषले उनीसगको सम्झौता रद्द गरेपछी संयौं भाडावालहरु ठगिएका छन् । उनी अहिले फरार छन् र प्रहरीले खोजि गरिरहेको छ । राणाभन्दा अगाडी नारायण कार्कीले सो भवन भाडामा लिएका थिए । उनीहरु दुबै साझेदार हुन् । रामशान्तले यसबाहेक घरजग्गा व्यवशायी राजाराम बानियालाई पनि करोडौंं कर्जा दिएका थिए । कमिशनमा कर्जा दिएका उनले सो रकम उठाउन सकेका र्छैनन् । बानियाको दर्जनौं बैंकमा अर्बौं रकम तिर्न बाकी छन् । उनी लामो समयदेखि फरार छन् । 
यसबाहेक रामशान्तले चन्द्रशेखर चौधरी, भक्ती कार्की आदीको नाममा पनि करोडौं ऋण प्रवाह गरेका छन् । जुन रकम नउठ्ने अवस्थामा छ । एल्पिक एभरेष्टबाट प्रविरशमशेर जबराको नाममा प्रवाह भएको ३ करोड रकममध्ये डेढ करोड रकम नउठ्ने भएको छ । राष्ट्र बैंकमार्फत अन्तराष्ट्रिय अडीट कम्पनी केपिएमजीले गतसाल गरेको निरिक्षणमा कुनै धितो डकुमेन्ट नै नराखी प्रविरशमशेरलाई ३ करोड कर्जा प्रवाह गरेको पाइएको थियो । केपिएमजीले त्यसपछी तत्काल कारवाही गर्न राष्ट्र बैंकमा शिफारिश गरेपछी राष्ट्र बैंकले तत्काल रामशान्तलाई ५ लाख रुपैंया जरीवानासहित कारवाही गरेको थियो ।
 यसबाहेक रामशान्तले आफन्तको नाममा पनि कर्जा लिएका थिए । उनले कर्जा नतिरे पनि आफै कार्यकारी प्रमुख भएको बेला सुटुक्क धितो फुकुवा गराएर बिक्री गरेको समेत पाइएको छ । एकदम कमसल धितो राखेको र धितो लिलाम गर्दा आधा रकम पनि नउठ्ने अवस्थामा रहेको फाइनान्सका कर्जा बिभागका एक अधिकारीले बताए । यसबाहेक नारायण कार्कीको नाममा रहेको नेशनल स्टोन नामक ढुंगा खानीको नाममा पनि ३ करोड कर्जा प्रवाह भएकोमा सो कर्जाको फाइल पनि फेला परेको छैन ।
 डकुमेन्ट नै नराखी कर्जा दिइएकोमा राष्ट्र बैंकले यसमा कारवाही चलाएको छ । कतिसम्म भने मर्जरको एमओयू भैसकेपछी उनीहरुले पछिल्लो मिति राखेर बिभिन्न किर्ते ऋणी खडा गरी करोडौं ऋण प्रवाह गरेको पाइएको थियो । बैंकिङ कसुर लागेका ध्वजु“ले आफ्नो छोरा उठाएको र रामशान्त आफै सोही फाइनान्सको रकम लगानी गरी अर्को लघुवित्त बैंक खोल्न लागिपरेका कारण फाइनान्समा भएको केही सम्पत्ति पनि डुबाउने् खेल शुरु भएको बताइन्छ ।– शेयर बजार साप्ताहिकमा प्रकाशित
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK