
राइडलले तीस वर्षसम्म सीआइएसँग काम गरेका थिए । उनी चार जना अमेरिकी राष्ट्रपतिका सुरक्षा सल्लाहकार थिए । उनले लेखेको पुस्तक ‘जेएफकेज् फर्गटन क्राइसिसः टिबेट, सीआइए एन्ड सिनो–इन्डो वार’मा चीन–भारत युद्धरत अवस्थामा पाकिस्तान पनि युद्धमा आउन उद्धत रहेको जनाइएको छ । दुईतिरबाट आक्रमण भएको अवस्थामा भारत ध्वस्त हुने थियो भन्ने उनको आँकलन छ ।
राइडलले अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले यस्तो अवस्थामा पाकिस्तानी आक्रमण रोक्न निर्णायक भूमिका खेलेको बताएका छन् । उनका अनुसार केनेडी र बेलायती प्रधानमन्त्री ह्यारोल्ड म्याकमिलनले पाकिस्तानलाई युद्धमा नजान चेतावनी दिएका थिए । भारतमाथि आक्रमण गरे चीनले झैँ युद्धको सुरुवात गरेको मानिने र त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए ।
पाकिस्तानले यो लडाइँ चीन र भारतबीचको सीमायुद्ध भएको मान्थ्यो भने अमेरिका र बेलायतले यसलाई शीतयुद्ध र कम्युनिज्मसँग जोडेर हेरेका थिए । उनीहरुले कम्युनिस्ट देशले लोकतान्त्रिक देशमाथि हमला गरेको रुपमा यस आक्रमणलाई लिएका थिए । त्यो बेलाका भारतस्थित अमेरिकी राजदूत जोन गेलब्रेथले पाकिस्तानी सैन्य शासक अयुब खान भारत आक्रमण गर्न लालायित थिए । यसलाई रोक्न अमेरिकी राष्ट्रपति केन्नेडीले चिठ्ठी लेखी आक्रमण नगर्न सुझाव दिएका थिए । यसको जवाफमा अयुब खानले कस्मिरमाथि पाकिस्तानको अधिकार हुनुपर्ने र कस्मिर मामिलामा अमेरिकाले भारतलाई सम्झाउनु पर्ने शर्त राखेका थिए ।
राइडल गेलब्रेथले आफ्नो डायरीमा लेखेका छन्, ‘अमेरिका र पाकिस्तानले दबाब दिएर भारतलाई कस्मिर पाकिस्तानलाई फिर्ता दिनुपर्ने अयुब खानको चाहना थियो । लडाइँका बेला चीनले भारतका कतिपय जमिन कब्जा गरेको थियो । त्यस्तै पाकिस्तानले पनि कस्मिर पाउनुपर्ने दाबी गरिरहेको थियो ।’
क्युबामा रुसी मिसाइल संकटमा जुझिरहेका बेला भारत र चीनको लडाइँ भएको थियो । त्यो बेला भारत र चीनको समस्या वासिङ्टनको चासोमा कमै थियो । यस्तो अवस्थामा भारतस्थित अमेरिकी दूत गेलब्रेथका धारणा नै केनेडीका एक मात्र भरपर्दो व्यक्ति थिए । राजदूत गेलब्रेथ भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुका निकटका व्यक्ति मानिन्थे र त्यो बेला उनका सल्लाहकार भनेर समेत चिनिएका थिए ।
पाकिस्तानी सैनिक शासक अयुब खानले केनेडीलाई भारतमाथि आक्रमण गर्ने वा नगर्ने विषयमा कुनै आश्वासन नदिए पनि अमेरिकाले पाकिस्तानलाई जानकारी नदिई चीनविरुद्ध प्रयोग गर्ने गरी हतियार दिएकोमा चित्त नबुझेको बताएका थिए । – नागरिक दैनिक