
मंगलबार बिहानै आफ्ना ज्वाइँ शुभशंकरसँगै लाजिम्पाट पुगेका दीनानाथलाई प्रचण्डले केही पदाधिकारीसँग भेटघाट भइरहेको भन्दै तर्काएपछि आफैँ भित्र पसेर उपराष्ट्रपतिका निम्ति उभिइउभिइ २ मिनेट कुरा गरेको स्रोतको दाबी छ । एमालेले विद्या भण्डारीलाई राष्ट्रपति बनाए एमाओवादीले अमिक शेरचन वा गोपाल किराँतीलाई उपराष्ट्रपतिमा पठाउने र झलनाथ वा सुवास नेम्वाङ बनेमा ओनसरी वा पूर्णा सुवेदीलाई पठाउने चर्चा छ ।
केपी ओलीलाई जसरी पनि हराउने मनसायका साथ शनिबार २९ जना केन्द्रीय सदस्यको वक्तव्य जारी गराएका डा.बाबुरामलाई बिगार्न खोज्ने तत्व १३ भाइको फ्लोर क्रसमा समेत असफल भएको छ । आइतबार बिहान ७ बजे बाबुरामपक्षीय सांसद भेला सानेपामा डाकेको सुइँको पाएका प्रचण्डले त्यहीबेला सबै सांसदलाई संसद् भवन वानेश्वरमा भेला हुन ह्विप जारी गरे ।
उनको निर्देशनबमोजिम प्रमुख सचेतक गिरिराजमणि पोखरेलले सबै सभासद्लाई अनिवार्य रूपमा बानेश्वर आइपुग्न सूचना पठाए । तनहुँकी सभासद् आशा कोइराला खनालले आफूहरू पार्टीको आदेशानुसार बानेश्वर आइपुगेकाले सानेपा आउन नसक्ने जानकारी गराइन् । त्यसपछि बाबुरामले निजी सचिव विश्वदीपलाई आफू प्रधानमन्त्री चयनको खेलमा संलग्न नभएको स्टाटस फेसबुकमा हाल्न लगाए र संसद्का कर्मचारीसामु आफूले सभासद्बाट दिएको राजीनामा पत्रमा सनाखत गरिदिए ।
बिहान साढे ७ बजेसम्म संसद् भवनमा जम्मा भएका सांसदलाई प्रमुख सचेतक गिरिराजमणि पोखरेल र मुख्यसचिव हितराज पाण्डेले कोठाभित्रै थुनेर राखे । उनीहरू चिया, खाजाका लागि निस्कन खोज्दा पनि अहिले यही व्यवस्था हुन्छ भन्दै बाहिर निस्कन दिइएन । ११ बजेसम्म पनि खाजा खाना केही खान नपाएपछि सांसदहरूले भोक लागेको गुनासो पोख्नासाथ कोषाध्यक्ष हरिबोल गजुरेलले नजिकैको रोस्यो रेस्टुरेन्टबाट सबैलाई प्याकेटको खाना लिन पठाए ।
तर, त्यहाँ ग्यास नभएको भन्दै केही पनि पाइएन । केही छिनपछि सबै सांसदलाई बैठक कक्षमा जान भनियो । माओवादी सांसद भोकभोकै हलमा प्रवेश गरे । प्रधानमन्त्री निर्वाचन प्रक्रिया सकिएर साँझ ५ बजेपछि बल्ल माओवादी सांसदतिर फुत्किन नपाएर हतार हतार बानेश्वर नगिचका होटल, रेस्टुरेन्ट र खाजा पसलमा पसेर जे पाइन्छ त्यहीले भोको पेट भरे ।
बाबुरामका बल
डा. बाबुराम भट्टराईले खोल्न लागेको नयाँ पार्टीको संरचना र अवधारणासम्बन्धी प्रारम्भिक प्रस्तावना तयार गर्न पूर्व अर्थसचिव र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका हस्तीलाई जिम्मा लगाएका छन् । ती हुन् पूर्व अर्थसचिव रामेश्वर खनाल । मेघा बैंकका सिइओ अनिल शाह र पूर्व मुख्यसचिव लीलामणि पौडेलसँग पनि सल्लाह माग्ने काम भएको छ ।
पुरातन कम्युनिष्ट मान्यता नझल्किने गरी बेग्लै मोर्चा खडा गर्न यसप्रकारको जिम्मेवारी सुम्पिइएको हो । आजभोलि नै यी व्यक्तिबाट मस्यौदा प्राप्त गरी दशैंको बिदा अवधिभर अन्तिम प्रारुप तयार गर्ने र दशैं–तिहारलगत्तै नयाँ शक्ति घोषणा गर्ने कार्यक्रम छ । हार्वर्ड युनिभर्सिटीका विद्यार्थीहरुले खोलेको विवेकशील समूह र दायित्व नामक एनजिओलाई पनि साथ लिएर पार्टी घोषणा गर्ने तयारीमा बाबुराम लागेको बताइन्छ । यो समाचार जनआस्था साप्ताहिकबाट लिइएको हो ।