Skip to content
LAXMI SUNRISE BANK

मन्त्रीको शपथ देखेपछि केपी ओली ‘चुकेल्याङ’ बन्नै नसक्ने भन्दै झलनाथको पश्चाताप

अर्थ सरोकार

विभिन्न निजी कम्पनीका वैतनिक वकिलका रूपमा कार्यरत झापाका अग्निप्रसाद खरेललाई पार्टीभित्र कुनै छलफल नगरी मन्त्री बनाइएकोमा आश्चर्य मानिएको छ । नेताको चाकडी गरेर नेता भएका ती वकिलले मन्त्री बन्नका लागि के अस्त्र प्रयोग गरेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई बाध्य पारे ? रहस्यको विषय बनेको छ ।

सोमबार बिहान बालकोटमा प्रधानमन्त्री ओलीले उनलाई कानुनमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेपछि त्यहाँ उपस्थित सबै नेताले एक स्वरमा विरोध जनाएका थिए । एमाले सत्तामा रहँदा सधैँ सुविधा लिन माहिर ती वकिलले ‘दुई सय कानुन बनाउनुछ, तपाईं फस्नुहुन्छ, म भए जिम्मा नै भयो’ भनेर कान भरेका रहेछन् भन्ने कुरा नेताहरूलाई ओलीको वयान सुन्दा थाहा भयो । वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेले ‘पार्टीमा अरू साथीहरू पनि छन्, एउटै मानिसलाई यस्तो नगरौँ’ भनेर एउटै विचार राखेका थिए ।

अघिल्लो संविधानसभामा समानुपातिक तर्फबाट सभासद् भएका खरेल पछिल्लो संविधानसभामा मन्त्रिपरिषद्बाट मनोनीत भएर पुगेका थिए । त्यतिले नपुगेर निर्वाचित तथा समानुपातिक गरी १ सय ८४ सभासद् हुँदाहुँदै एक वर्षसम्म खाली राखेर उनैलाई प्रमुख सचेतक बनाइएको थियो । त्यतिबेला नै चर्को आलोचना खेपेका उनलाई मन्त्री बनाउने प्रस्ताव आएपछि महासचिव पोखरेलले कडा आपत्ति जनाएको थाहा भएको छ । ओलीको बैठक कोठामा नेताहरूको बसिरहेको बेला सोमबार बिहान साढे ११ बजे त्यस्तो भनेर ओली दाह्री काट्न गएपछि त्यहीं पुगेर पनि उनले ‘अग्निलाई नबनाऔँ, राम्रो सन्देश जाँदैन, व्यापारीले दबाब दिएर बनाए भन्ने हुन्छ’ भनेका थिए ।

उपाध्यक्ष भण्डारीले पनि एउटै व्यक्तिलाई कति अवसर दिने भन्दै खरेललाई नबनाउने आग्रह गरेकी थिइन् । वरिष्ठ नेता नेपालले अवसरकै लागि कुदिरहने खरेललाई हुन्छ भन्ने कुनै भएन ।  मैले सकिनँ भनेर ओलीले जानकारी दिएपछि खरेलले अन्तिममा के अस्त्र प्रयोग गरे, जसले ओलीलाई शीतल निवास पुग्दासम्म निर्णय बदल्न बाध्य बनायो ? दौरा–सुरुवाल लगाए पनि मलिन अनुहार शीतल निवास पुगेका खरेल कांग्रेसका सभासद् रामहरि खतिवडासँग भन्दै थिए, ‘मेरो त अन्तिममा नाम कटाए ।’ तर, त्यही बेला राष्ट्रपति कार्यालयका सचिव टेकप्रसाद ढुंगानाले शपथका लागि नाम पढेपछि उनी हतार–हतार दौडिएका थिए ।

झापाबाटै दुई पटक जितेका र यसअघि पुरुषोत्तम पौडेललाई हटाएर मन्त्री बनाउने अफर गरिएका दीपक कार्कीलाई समेत छोडेर ओलीले खरेललाई रोज्नुलाई झापामै आश्चर्यका रूपमा हेरिएको छ । मन्त्रीका लागि छलफल नै नगर्ने हो कि क्या हो भनेर वरिष्ठ नेता नेपालले फोन गरेपछि ओलीले उनलाई ११ बजे बालकोट बोलाएका थिए । मन्त्रीका बारेमा छलफल सुरु के भएको थियो, प्रफुल्ल मुद्रामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पुगिहाले ।

अनि एकछिन उनले पनि अग्निकै बारेमा बर्णन सुन्नप¥यो । एक जना मात्र नगरौं भनेपछि विष्णु पौडेलले सोम पाण्डेलाई पनि आजै शपथ गराऔं भनेका थिए । हुन्छ भन्दै नेता उठे तर शीतल निवासमा सत्यनारायण मण्डलको पनि नाम सुनेपछि उनीहरू नै छक्क परे । शपथपछि पुष्पलालको प्रतिमामा माल्यार्पण गर्न चम्पादेवी पुगेका बेला प्रतिष्ठानका अध्यक्ष समेत रहेका नेपालले सोध्दा ओलीले जवाफ दिए– ‘एक जना मधेसी पनि हालौं भन्ने कुरा भयो । कसको नाम हालौं भन्दा सत्यनारायणको नाम आयो, अनि हालें ।’

मन्त्रीबारे नेता नै बेखबर

को–को मन्त्री बन्दै छन् भन्ने एमालेकै नेतालाई थाहा थिएन । सुट–टाइसहित शीतल निवास पुगेका महासचिव ईश्वर पोखरेल भीम रावललाई सोध्दै थिए– ‘तपाईंलाई केही थाहा छ ?’ उनले अग्निको हो क्यारे भने । अनि वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम पनि पूरै बेखबर रहेछन् । उनीहरूले माधव नेपाललाई देख्नासाथ सोधे– ‘को–को हुने भए त ?’ नेपालले पनि ठोस जवाफ दिन सकेनन् ।

झलनाथद्वारा पश्चात्ताप

सोमबारै साँझ आफूलाई भेट्न आएका कार्यकर्तासमक्ष पूर्वअध्यक्ष खनालले निकै पश्चात्ताप प्रकट गरे । उनको भनाइ थियो– ‘दीपक अमात्यलाई मन्त्री बनाउन ओलीलाई भन्नु मेरो भूल थियो, त्यसबाट उनले खेल्ने मौका पाए ।’ आफूले बिना निर्णय मन्त्री बनाएको र पछि पनि त्यसरी नै बनाउन सहयोग गरेर गल्ती भएको भन्दै उनले ओलीको कडा आलोचना गरे । उनको दार्शनिक पाराको भनाइ थियो– ‘यहाँ कोही पनि चुकेल्याङ (सबै काम एक्लै गर्ने चिनियाँ पात्र) छैन । कसैले चुकेल्याङ बन्न खोज्छ भने सम्भव छैन ।’  –बुधबार साप्ताहिकबाट ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK