
नायिका शुभेच्छा थापासँगकुराकानीः
नयाँ नयाँ अवतारमा देखिनुहुन्छ, कसको फलो गरिरहनुभएको छ ?
अरुले के गरे, के गरेनन मलाई थाहा छैन । तर मैले जे गरे । त्यो मेरो आफ्नो कुरा हो । आफ्नो स्टाइल हो । मेरो आफ्नो पहिचान पनि हो । शुभेच्छा थापा कसैलाई फलो गरेर अगाडि बढ्ने र कसैको स्टाइल चोर्ने नायिका होइन । म आफ्नो तरिकाले ड्रेसअप गर्छु । फोटो सुटकै कुरा गर्नुहुन्छ भनेपनि मेरो आफ्नो तरिका छ । नेपाली नायिकाको कुरा गर्नुहुन्छ भने को नायिकाले कस्तो ड्रेसअप गर्नुहुन्छ भन्ने मलाई मतलव हुँदैन । म आफूलाई सुहाउने र आफ्नो तरिकाले अगाडि चाहन्छु ।
यही विषयलाई लिएर अरु नायिकाहरुले तपाईको कुरा काट्ने गरेका छन रे नि ?
हुन सक्छ । मेरो कुरा उहाँहरुलाई अनौठो लाग्न सक्छ । अथवा धेरै राम्रो लागेर पनि चर्चा भएको हो कि ? तर मलाई यस्तो कुराले केही फरक पार्दैन । मेरो बानी अरुको कुरा गर्ने छैन ।
मिडियाकर्मीहरुबाट पनि आलोचना भएको देखिन्छ । किन होला जस्तो लाग्छ ?
मिडियाबाट आलोचना होइन, मैले सपोर्ट पाएजस्तो लाग्छ । मिडियाले सत्य तथ्य कुरा लेखेको हुन्छ । केही कुरामा अलि बढी ग्लामर भएको पनि हुन सक्छ । नेपाली समाजको लागि पनि मिडियाले यो कुरा बोल्दा सही कुरा बोलेजस्तो लाग्छ । तर नयाँ परिवर्तनलाई हामी सवैले स्वीकार्नुपर्छ ।
नयाँ परिवर्तन भनेको कस्तो ?
जस्तो नयाँ पुस्ताले विदेशी पहिरन फलो गरेको देखिन्छ । विश्व नै एउटा हल्केलोमा आइसकेको अवस्था छ । त्यसकारण हामी कलाकारहरुले पनि यो कुरालाई फलो गरेका हौँ ।
तर तपाई त पछिल्लो समय जवानी देखाउन लाग्नुभयो भन्ने कुरा आएको छ नि ?
छ र त देखाउने हो नि । नभए कसले देखाउँछ र । तर यसमा पनि कुनै भल्गर छैन । ग्लामरको रुपमा दर्शकहरुले हेरिरहनुभएको छ ।
अरु नायिकाको तुलनामा तपाई आफूलाई को भन्दा बढी ग्लामर छु जस्तो लाग्छ ?
यो त तपाईहरु र दर्शकले भन्ने कुरा हो । तपाईले मलाई हेरिरहनुभएको छ । म आफूले आफैँलाई कसैसँग तुलना गर्दिन । शुभेच्छा थापाको आफ्नै पहिचान छ । शुभेच्छा थापा, शुभेच्छा थापा नै हो ।
ग्लामर सो चर्चामा आउने विषय मात्र हो कि फिल्मी उद्योगमा अत्यावश्यक छ ?
ग्लामर विश्वमै जरुरी छ । कुनै पनि चीज राम्रो देखिनु भनेको ग्लामर देखिनु हो । चलचित्रमा त झन अति जरुरी छ । यसलाई बुझ्नुमा भर पर्छ । छोटा छोटा लुगा लगाउनु र अंग प्रदर्शन गर्नुमात्र ग्लामर होइन । एउटा कलाकारभित्र भएको ट्यालेन्ट पनि अगाडि देखिनुपर्छ । त्यो ग्लामरमा आफैँ झल्कन्छ ।
कति कुरा भए नायिका ट्यालेन्ट हुन्छन ?
अभिनय, डान्सदेखि लिएर एउटा नायिकामा हुनुपर्ने सम्पूर्ण गुण उसमा हुनुपर्छ । र अर्को कुरा अनुशासन पनि अत्यावश्यक छ । कुन कथाबस्तुले कस्तो रुपमा र कस्तो अभिनयमा खोजेको छ । भिजेर काम गर्न सक्ने हुनुपर्छ ।