Skip to content
LAXMI SUNRISE BANK

‘म भारतीय हुँ,तर नाकावन्दीको बिरोध गर्छु’

अर्थ सरोकार

भारतको बिहारका नेहाज अन्सारी रोजगारीको लागि विगत एक दशकदेखि बागलुङमा छन्। बागलुङमा घर निर्माण गर्ने पेशा गर्दै आएका अन्सारीलाई आफ्नो देशले नेपालमा लगाएको अघोषित नाकावन्दी पटक्कै मन गरेको छैन। भारतका सत्ता संचालकको व्यवहार चित्त नबुझे पछि उनी बिहीवार बागलुङमा बिरोध प्रर्दशनमा उत्रिए।

भारतीय नाकावन्दीको बिरोधमा ‘म भारतीय हुँ, तर, नेपालमाथिको नाकावन्दीको बिरोध गर्छु,’ लेखिएको प्ले कार्ड लिएर उनी सहित भारतीय नागरिकले यहाँ प्रर्दशन गरे। ‘हामी यहाँ (नेपालमा) मिलेर बसेका छौँ,’ अन्सारीले भने, ‘हाम्रो सरकारले नाका बन्दी गरेको सुन्दा दुःख लाग्यो ।’ उनले तत्काल नाकावन्दी खोलेर आपूर्ति सहज गर्न आग्रह गरे। ‘यो नाकावन्दी तत्काल खोल्नु पर्छ,’ उनले भने, ‘दुई देशबीच वैमनस्यता आउनु दिन हुँदैन।’

बागलुङमा आयोजना गरिएको बिरोध प्रर्दशनमा अन्सारी मात्र होइन भारत उत्तरप्रदेश नैतुनाका जय कुमारले आफ्नो सरकारको कदमको कडा आलोचना गरे। उनले पनि आफ्नै सरकारको चित्त नबुझ्दो निर्णय फिर्ता लिन माग गरे। ‘नाकाबन्दीको कदमले हामीलाईनै अप्ठ्यारो पारेको छ,’ वषौँदेखि बागलुङमा सैलुन व्यवसाय संचालन गरेका कुमारले भने, ‘मिडियाले खबर पुराइदिओस् । हाम्रो सरकारले नाकावन्दी खोलोस् ।’ यो नाकावन्दीले कसैको हित नगर्ने उनले बताए । भारतबाट यहाँ आई विभिन्न पेशा व्यवसाय गर्ने बिरोधमा उत्रिएका हुन्।

नाकावन्दीसँगै तराइमा जारी आन्दोलनप्रति तराईबाट यहाँ आएर बस्ने मधेशका नागरिकको पनि चित्त दुखेको रहेनछ। ‘हामी तराई र पहाडी मिलेर बसेका छौँ,’ बाराका महेन्द्र साहले भने, ‘अहिलेको आन्दोलनले सामाजिक सद्भावमा असर पुगेको छ ।’ यसले भाई—भाइबीच वैमनस्यता आउन सक्ने भन्दै चिन्ता व्यक्त गरे ।

भारतको नाकावन्दीको बिरोधमा बागलुङमा विद्यार्थी संगठन र विभिन्न पेशा व्यवसाय गर्नेले शान्तिपूर्ण प्रर्दशन गरेका छन्। भारतले कुटनीतिक मर्यादा विपरित नाकावन्दी गरेको भन्दै तत्काल हटाउन माग गर्दै सांकेतिक बिरोधका कार्यक्रम गर्दै आएका छन्।

भारतले कुटनीतिक मर्यादा विपरित नाकावन्दी गरेको भन्दै तत्काल हटाउन माग गरे । राष्ट्रिय स्वाधिनताको रक्षा गरी सामाजिक सद्भाव कायम गर्न भन्दै नागरिक समाज, उद्योग बाणिज्य संघ, पत्रकार महासंघ, प्राध्यापक संघलगायतले राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय सञ्जाल,बागलुङ गठन गरेर सांकेतिक बिरोध गर्दै आएका छन्। ढाका टोपीसहित सडकमा उत्रिएका उनीले लोकतान्त्रिक देशले असोभनिय व्यवहार गरेकोले बिरोधमा उत्रिनु परेको उद्योग बाणिज्य संघका अध्यक्ष बसन्त कुमार श्रेष्ठले बताए । ‘नयाँ संविधान बनेकोमा स्वागत गर्नुपर्नेमा भारतले नेपालीलाई दुःख दिने काम ग¥यो,’ श्रेष्ठले भने, ‘यो निर्णय तत्काल सच्चाउनु पर्छ ।’

सो कार्यक्रममा भारत र तराइबाट बागलुङमा आई पेशा व्यवसाय गर्ने भारतीय र तराइमूलका नागरिक सहित सहभागी ¥यालीले बजार परिक्रमा गरेको थियो । ¥याली पछि आयोजित कोण सभामा बोल्ने वक्ताहरुले भारतले गरेको नाकावन्दीको चर्को आलोचना गरेका थिए।

यहाँका प्रमुख पार्टीका भातृ संस्था नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु क्रानितकारी, अनेरास्ववियु छैठौँ लगायतका संगठनले स्थानीय उत्पादनका सामाग्री प्रर्दशन गरेर सांकेतिक बिरोध गरे। विद्यार्थीहरुले हस्ताक्षर संकलन गरेर परराष्ट्र मन्त्रालय मार्फत भारतीय दुतावासलाई दबाब दिन प्रमुख जिल्ला अधिकारी मार्फत हस्ताक्षर पठाएको नेविसंघ, बागलुङका अध्यक्ष खडक थापाले बताए। ‘भारतले असल छिमेकीको चरित्र देखाउन सकेन,’ थापाले भने, ‘नाकावन्दीले जनजीवन प्रभावित भएकोले दबाब दिन आन्दोलन गर्नु परेको हो।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK