
अर्को महाधिवेशन नभएसम्मका लागि अध्यक्ष चयन गर्ने र नयाँ महाधिवेशन आयोजना गर्ने जिम्मा अहिले चयन हुने ‘म्यादी अध्यक्ष’ले पाउनेछन् । त्यसका लागि उपाध्यक्ष दिलु पन्त, सूर्य ढकाल र महासचिव राजीव पहारीले गुरिल्ला कसरत थाल्दै आएका छन् । बीचको अवधि अध्यक्ष भए पनि यो कमिटीको कार्यावधि आगामी फागुन १३ सम्म वा जम्मा पाँच महिनामात्र हुनेछ र संघको इतिहासमा पूर्वअध्यक्षको एउटा फोटो थपिनेछ ।
को छ बलियो ?
संघको केन्द्रीय कमिटी १ सय ८१ सदस्यीय छ । उनीहरुबीच सर्वसम्मत वा निर्वाचनको विधिद्वारा अध्यक्ष चयन गरिने बताइएको छ । भएसम्म सर्वसम्मत र नभए निर्वाचनद्वारा नै आफ्नो समूहले जित्ने दाबी संस्थापन पक्षले गरेको छ । जसका आधिकारिक उम्मेदवार महासचिव राजीव पहारी भएको बताइन्छ । अध्यक्ष निरु पाल पार्टीकै केन्द्रीय सदस्य भइसकेकाले उद्योगमन्त्री तथा पूर्वअध्यक्ष महेश बस्नेत, निरु पाललगायतको समर्थन पहारीलाई भएको बताइन्छ । यता पन्त पक्षले पनि आफ्नो समूहले जित्ने दाबी गरेको छ । यो पक्षले निर्वाचनद्वारा पनि आफ्नो समूहले शानदार बहुमतका साथ अध्यक्ष पद जित्ने दाबी गरेको हो । दुवै गुटमा सशक्त ढंगले लागेका केन्द्रीय सदस्यबाहेक केही तटस्थ मत पनि युवा संघमा रहेकाले त्यो मत कसले लिन सक्छ उसैले जित्ने निश्चित भएको बताइन्छ ।
भिडन्तमा पन्त र पाल, बलियो बन्दै सूर्य ढकाल
केही समयअघिसम्म पन्त समूहमा लागेका उपाध्यक्ष सूर्य ढकाल पछिल्लो समय पाल समूहतिर लागे । त्यहीबापत उनलाई संगठनको दुईपटक कार्यबाहक अध्यक्ष बनाइयो । तर अहिले उनी आए आँप गए झटारो भनेर कुनै हालतमा आफ्ना नाममा सहमति भएबाहेक अन्यलाई नछाड्ने बरु निर्वाचनमै गएर हार्न तयारको मनस्थितिमा रहेका छन् । दुवैतिरबाट सहानुभूति पाइँदा कट्टर प्रतिस्पर्धीलाई जिताउनु भन्दा आफूतिर समर्थन आउनसक्ने उनको आसा छ । त्यसैले उनले सबैलाई आफैलाई मत दिन आग्रह गर्दै आफू सर्वसम्मत र चुनाव नै हुँदा पनि योग्य उम्मेदवार भएको दाबी प्रस्तुत गरेका छन् । उनले दुवै समूहले आफ्नो नेतृत्व स्वीकारेर कार्यबाहकको जिम्मेवारी दिइसकेकाले आफूलाई अध्यक्ष बनाउँदा विधानको समेत कार्यान्वयन हुने ढकालको दाबी छ । उनले अस्तव्यसत भएको संघको आन्तरिक जीवनलाई चुस्तदुरुस्त पार्न पनि आफू संघको नेतृत्वमा आउन जरुरी रहेको बताए ।
‘चालीसे’लाई चिन्ता
संघको विधानमा १६ वर्ष उमेर कटेको र ४० वर्ष ननाघेको व्यक्ति मात्र सदस्य बन्नसक्ने प्रावधान छ । यो हिसाबले आगामी महाधिवेशसम्ममा महासचिव पहारी र तीन उपाध्यक्षमध्ये कोही पनि अध्यक्षमा उम्मेदवार बन्न योग्य हुने छैनन् । त्यसैले पनि सबैले अन्तिम प्रयासस्वरुप अध्यक्षका लागि दाबी गरेको बताइन्छ ।
माघ २१ खारेजीः पन्त पक्षको विजय
२१ माघमा पदाधिकारी बैठकले जबर्जस्त उपाध्यक्ष निरु पाललाई अध्यक्ष घोषित गर्दा त्यसयताका युवासंघका गतिविधि अपांग बनेको हो । समानान्तर कार्यक्रममात्र होइन र एकले अर्को पक्षलाई कारबाही र निष्कासनसमेत गरेको भन्दै वक्तव्यबाजीमा उत्रिएकाले पार्टी इन्चार्ज शेरधन राई पनि संघको विवाद मिलाउन निकै गृहकार्यमा जुटे । पन्त पक्षले २१ माघका निर्णय खारेज गर्न माग गर्दै आएको थियो । एक पक्षले ‘खारेज’ वा अर्को पक्षले त्यही शब्द प्रयोग नगरेर ‘स्थगन’ भने पनि अब संघमा महेश बस्नेतले राजीनामा दिएको र नयाँ अध्यक्ष चयन नभएको पूर्ववत अवस्थामा नै पुगेको छ । यसो हुनाले पन्त पक्षको नैतिक विजय भएको बताउन थालिएको छ ।
शेरधनको अध्यक्षतामा बैठक
नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा युवा फाँट इन्चार्ज शेरधन राईको अध्यक्षतामा १५ र १६ असोजको बैठक बसेर नयाँ अध्यक्ष चयनको लागि प्रक्रिया अघि बढेमात्र युवासंघको विवाद मिल्ने अवस्था छ । यद्यपि पन्त समूहका केन्द्रीय सदस्यहरुलाई भने खबरसमेत नभएको बताइएको छ । संघका कोही पनि नेता फोन नउठाएर बसेका छन् । एमालेनिकट मिडियाले युवासंघका विषयमा बाहिर ल्याएका समाचारले पनि युवा संघका पदाधिकारीहरुलाई फोन उठाउन अप्ठेरो परेको बताइएको छ । सबैले आफूअनुकुल समाचार लेखाए भनेर पदाधिकारीले नै पार्टीका नेताहरुबाट ‘वज्र–झपार’ पनि भेटेका छन् ।
विद्याको रोजाई राजीव, महेशको रोजाई पुरानै
केहीसमयअघि एमाले उपाध्यक्ष विद्या भण्डारीको निवासमा भएको छलफलले युवा संघबाट निरु पाललाई बिदाई गरेर महासचिव राजीव पहारीलाई बाँकी समयका लागि ‘म्यादी अध्यक्ष’ अथवा ‘संयोजक’ दिएर राष्ट्रिय सम्मेलन गर्ने तयारी भएको थियो । भण्डारीको यो योजनाले मूर्तता पाउँदा पहारी संयोजक बनेर राष्ट्रिय सम्मेलन हुन्थ्यो भने ४० वर्ष कटेकाले बाँकी समय फेरि पोखरा फर्किएर भूगोलमा पनि उही दिलु पन्त समूहसँग पार्टी काममा सक्रिय बन्नुपथ्र्यो ।
युवा फाँट इन्चार्ज शेरधन राई पनि यो मामलामा सहमति जनाउन नेता माधवकुमार नेपाल निवास पुगे । पहारी संयोजक हुने, सहसंयोजक हस्त शाही र महासचिव नरेश शाही हुने गरी राष्ट्रिय सम्मेलन आयोजक समिति बनाउन राई झन्डै सफल भएका थिए । यता विद्या भण्डारी खुश, उता माधवकुमार नेपाल सहमत, राईको योजना सफल हुने बेला एकाएक निवर्तमान अध्यक्ष महेश बस्नेतले असहमति जनाए भने पन्त समूहमा पनि यो कुरा सर्वसम्मत भएन । त्यसैले विवाद बढेर केही महिना आआफ्नै सुरले भूकम्पपीडितलाई सहयोगमा जुटे । यतिखेर ‘म्यादी अध्यक्ष’को आकर्षक बम्पर सेल लाग्नुको भित्री कारण यो पनि हो ।
यस्तो भए अचम्म हुँदैन
राईको अध्यक्षतामा बैठक बस्दा र नयाँ अध्यक्ष चयन हुँदा बलियो चैँ सूर्य ढकाल बन्न थालेका छन् । मतदान नै भएको अवस्थामा पन्त समूहले पनि सूर्य ढकाललाई सहयोग गर्ने सम्भावना छ भने संस्थापन पक्षले पनि महासचिव राजीव पहारीको सट्टा ढकाल रोज्ने सम्भावना छ । संस्थापन पक्षकै सचिव किरण पौडेल समूहले पनि ढकाललाई साथ दिने भित्री योजना रहेको बुझिएको छ । त्यसो त सरोज दिलु विश्वकर्मालगायत अरु पदाधिकारी पनि ढकालकै पक्षमा रहेका छन् । तेस्रो धारका युवा पनि ढकालकै पक्षमा छन्, जसको नेतृत्व अशोक चन्दले गरेका छन् । महेश मन्त्री भइहाले, निरु पाल पार्टी वैकल्पिक केन्द्रीय सदस्य, किरण पौडेल महासचिव हुने नै छन्, समस्या त राजीव पहारीलाई पो पर्ने हो कि भन्दै युवा संघका कार्यकर्ता बागबजारदेखि बानेश्वरसम्म चियापसलमा ताउरमाउर गरिरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्