
अचेल गभर्नर डा. नेपाललाई भेट्न जानेहरूको पहिलो पंक्तिमा नवधनाढ्य अजयराज सुमार्गी छन् । राष्ट्र बैंक धाएर गभर्नरसँग मन्त्रणा गर्नेमा अग्रस्थानमा रहेका सुमार्गीलाई गभर्नरले पनि विशेष महत्व दिएर भेट दिइरहेका छन् । स्रोतका अनुसार, विदेशबाट आफ्नो कम्पनीको नाममा आएको तर स्रोत नखुलेको अर्बौं रकम छुटाउनका लागि सुमार्गीले गभर्नरको भेटलाई बाक्लो तुल्याएका हुन् । स्रोत नखुलेको करिब चार अर्ब रुपियाँ नेपालका दुई ठूला बैंक नेपाल इन्भेस्टमेन्ट र नबिल बैंकमा आएर थन्किएको छ र उक्त रकम अहिलेसम्म सुमार्गीले छुटाउन सकिरहेका छैनन् ।
पूर्वगभर्नर डा. युवराज खतिवडाकै पालामा उक्त रकम छुटाउन अनेक प्रयत्न गर्दा पनि सुमार्गी असफल भएका थिए । विभिन्न राजनीतिक दलका नेताहरूलाई गुहारेर उक्त ठूलो रकम छुटाउन प्रयत्न गरे पनि असफल भएका उनले अहिले भने गभर्नर डा. नेपाललाई प्रभावमा पारेर उक्त काम फत्ते गर्ने प्रयास गरिरहेको अनुमान बैंकिङ क्षेत्रमा गरिएको छ । यसैगरी, गभर्नर डा. नेपाललाई प्रभावमा पारेर आफ्नो काम सल्टाउनेमा बैंक माफिया राकेश अडुकिया पनि उत्तिकै लागिपरेका छन् । उनले पनि गभर्नर नेपालसँगको भेटघाटलाई बाक्लो तुल्याएका छन् । संकटग्रस्त अवस्थामा रहेको गोर्खा विकास बैंकबाट ६० करोड ऋण लिएर अहिलेसम्म नतिरेका अडुकियालाई बैंकिङ कसुरको अभियोगसमेत लागेको छ ।
तिनै अडुकियाले नेपाली कांग्रेसका नेताहरूलाई खुसी पारेर बैंकको करोडौं ऋण मिनाहा गर्न एउटा फिल्ममा समेत लगानी गरेका छन् । कांग्रेस नेता बीपी कोइरालाको चर्चित कृति ‘तीन घुम्ती’को फिल्मांकन गर्दा उनले त्यसमा लगानी गरेका हुन् । बीपी संग्रहालयको ब्यानरमा बनेको उक्त फिल्ममा अडुकियाले लगानी गरेर कांग्रेसका नेताहरूलाई प्रभावमा पारी आफूले लिएको ऋण मिनाहा गर्न लगाउने उद्देश्यअनुरूप काम सुरु गरिसकेको बताइन्छ । केही दिनअघि भएको उक्त फिल्मको प्रिमियर सोमा प्रधानमन्त्री सुशील कोइरालालाई प्रमुख अतिथि बनाउन अडुकियाले भ्याइसकेका छन् ।
गभर्नर डा. नेपाललाई भेट्न जानेहरूमा अहिले सेयर मार्केटको करोडौं कर्जा अपचलन गरेका योगेन्द्र श्रेष्ठका आफन्तहरू पनि छन् । नेपाल सेयर मार्केटका मुख्य प्रमोटर रहेका श्रेष्ठ बैंकिङ कसुरमा अहिले जेलमा रहे पनि उनका आफन्तहरूले भने गभर्नरलाई भेटेर छुटाउने प्रयत्न गरिरहेका छन् । कांग्रेस नेता रामकृष्ण ताम्राकारका आफन्त श्रेष्ठलाई छुटाउन ताम्राकार पनि लागिपरेको बताइन्छ ।
बैंकिङ कसुरवाला र माफियाहरूसँग बाक्लो भेटघाट थालेका गभर्नर नेपालले राष्ट्र बैंकभित्रको सरुवा, बढुवामा पनि एकलौटी गर्न थालिसकेका छन् । तर, राष्ट्र बैंकभित्रको सरुवा, बढुवालगायत अरू कार्यमा एकलौटी नगर्न उनलाई बैंकभित्रका कर्मचारीहरूले सचेत तुल्याएका छन् । यसैबीच, राष्ट्र बैंकका कर्मचारीहरूले संस्थागत सुधार, वृद्धि विकासलगायत भौतिक संरचनाको पुनर्निर्माण गर्नुपर्ने, भौतिक संरचनाको संरक्षण हुनुपर्नेलगायत माग राखेर आन्दोलनमा उत्रिएका छन् । गत आइतबारदेखि राष्ट्र बैंकका कर्मचारीहरूले दैनिक तीन घन्टा हातमा कालोपट्टी बाँधेर विरोधमा उत्रिएका छन् । गभर्नरको कार्यकक्षअघि दैनिक तीन घन्टा धर्नामा बसेका कर्मचारीहरू आफ्नो माग व्यवस्थापन पक्षद्वारा सुनुवाइ नभए अझ कडा र सशक्त आन्दोलनमा उत्रिने मनस्थितिमा रहेका छन् । –बुधबार साप्ताहिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्