
नेपालका लागि चिनिया राजदूत ऊ चुन्ताईले प्रधानमन्त्री र आपूर्तिमन्त्रीसहित प्रमुख दलका नेतासमक्ष इन्धन दिन चीन तयार रहेको प्रस्ताव गरेका थिए ।
तर प्रधानमन्त्री सुशील कोइराला र आपूर्तिमन्त्री सुनीलबहादुर थापाले राजदूतको प्रस्ताव ठाडै अस्विकार गरेका हुन् ।
यद्यपि एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने राजदूतको प्रस्तावमा समर्थन जनाउँदै प्रधानमन्त्रीसमेत कुरा राख्ने बताएका थिए ।
नेपालले भारतसँग मात्र पेट्रोलियम ढुवानी सम्झौता गरेको छ । नेपाल र चीनबीच सम्झौता नभएकाले चीनबाट कपडा र दैनिक भपभोग्य सामग्री आयात हुने गरे पनि इन्धन आपूर्ति हुने गरेको छैन ।
चिनिया राजदूतले सम्झौताको ड्राफ्ट तत्काल उपलब्ध गराउन नेताहरुलाई भनेका थिए । स्रोतका अनुसार चीनबाट पेट्रोलियम ढुवानी गर्दा भारत थप चिढिने भएकाले तत्काल सम्झौता हुन नसक्ने जवाफ ओली र प्रचण्डलाई दिएका छन् ।
भारतले एक सातायता अघोषित नाकाबन्दी गरे पनि सरकारी तवरबाट त्यसबारे आधिकारिक धारणा बाहिर आएको छैन । बरु सरकारका केही वरिष्ठ मन्त्रीहरुले नै नेपालमा भारतले नाकाबन्दी नगरेको अभिव्यक्ति दिँदै आएका छन् ।