Skip to content
LAXMI SUNRISE BANK

गृहमन्त्रीका छोराको नाममा कैदीको असुली धन्दा, जेलरलाई दशैं

अर्थ सरोकार

उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमका पुत्र हरिश गौतमको नाममा डिल्लीबजार जेलका कैदी नाइके दिपक सुनुवारले करिब ५० लाख रकम असुली गरेको रहस्य सार्वजनिक भएको छ । कर्तव्य ज्यान मुद्दामा डिल्लीबजार जेलमा सजाय काटिरहेका सुनुवार डिल्लीबजार जेलको कैदी नाइके हुन् ।

सुनुवारले डिल्लीबजार जेलमा करिब ३० प्रतिशत कैद भुक्तानी भएका ११ जना कैदीहरुका आफन्तमार्फत संविधान जारी भएको खुसियालीमा सरकारले दिने मिनाहामा नाम पार्न रकम खर्च गर्नुपर्ने र उक्त कामको जिम्मेवारी गृहमन्त्री–पुत्र हरिश गौतमको काँधमा रहेको भन्दै धमाधम रकम असुली गरिरहेको स्रोतको दाबी छ ।

गृहमन्त्री–पुत्रको नाममा जेलका कैदीहरुसँग रकम असुली गरेको विषयमा प्रतिक्रिया लिनखोज्दा डिल्लीबजार कारागारका जेलर खड्गराज शर्माले उक्त विषयमा आफूलाई कुनै सूचना नआएको भन्दै कैदी नाइके सुनुवारबाट त्यस्तो अवैध धन्दा भएको पुष्टि उनीमाथि आफूले कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता जनाए ।

कारागारमा कैदीहरुको दैनिक उपभोग्य वस्तुको व्यवस्थापन र कारागारको पर्खालभित्रको सुरक्षा र कैदीबन्दीहरुलाई अनुशासित एवं मर्यादित बनाउन कारागारमा भएका पुराना कैदीहरुमध्ये छानेर सम्बन्धित कारागारका जेलरले कैदी नाइके नियुक्ति गर्ने गर्दछन् । त्यसरी नियुक्त गरिएका कैदी नाइकेहरुले कैदीबन्दीको हितभन्दा विभिन्न सुविधाको नाममा अवैध रकम असुली गर्ने, कैदीबन्दीहरुलाई कुटपिट गर्ने तथा यातना दिनेसम्मका कार्य गर्नाले कारागारभित्रका अवैध गतिविधिको विषयमा कैदीबन्दीहरु सकेसम्म मुख खोल्न चाहँदैनन् ।

करिब तीन वर्षदेखि डिल्लीबजार कारागारको कैदी नाइके रहेका सुनुवारले टेलिफोन, भेटघाट सुविधा, राम्रो ठाउँमा सुत्ने सुविधाको लागि कैदीबन्दीहरुसँग १० हजारदेखि ५० हजार रुपैयाँसम्म असुल्ने गरेको विषयमा पटक–पटक समाचार सार्वजनिक हुँदा पनि नियामक निकाय कारागार व्यवस्थापन विभाग मौन बस्नाले समस्या बल्झिएको कैदीबन्दीको भनाइ छ ।

कैदी नाइके सुनुवारले अवैध असुली गरिरहेको विषयमा प्रतिक्रिया लिनखोज्दा विभागका महानिर्देशक हिमनाथ दवाडीले कारागार सरकारी सम्पत्ति भएकाले सरकारी सम्पत्तिको प्रयोगमा कोही कसैले अतिरिक्त फाइदा लिन नपाउने बताउँदै सुनुवारको उक्त धन्दाबारे छानबिन गरेर कारबाही गरिने जानकारी दिए । अर्कोतर्फ माफी मिनाहाको नाममा गृहमन्त्री–पुत्रको नाममा जेलबाटै अवैध असुली भएको विषयमा टेलिफोनमार्फत प्रतिक्रिया लिनखोज्दा गृहमन्त्री–पुत्र हरिश गौतमले टेलिफोन ‘रिसिभ’ गरेनन् । आर्थिक दैनिक

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK