
मंगलबार विहान करिब ११ बजे भारतीय बजार सुनौली नाकाबाट नेपालतर्फ एक्कासी ढुंगामुढा गरेका संयुक्त मधेसी मोर्चाका कार्यकर्ताको कारण दिनभर बेलहियामा तनाब भयो ।
बेलहिया नाकाको कमाण्ड सम्हाल्ने जिम्मेवारी पाएका तमलोपा सहअध्यक्ष हृदेश त्रिपाठी भैरहवा आईपुगेसंगै मोर्चाका कार्यकर्ताले दसगजामा अराजकता प्रदर्शन गर्दै आएको बेलहिया प्रहरीले जनाएको छ ।
संयुक्त मधेसी मोर्चाको केन्द्रिय संयुक्त बैठकले मुलुकको दोस्रो ठूलो भन्सार नाका भैरहवा बेलहिया नाकामा नाकाबन्दी गर्ने तथा आन्दोलनको कमाण्ड सम्हाल्ने जिम्मेवारी तमलोपा पार्टिलाई दिएको थियो । पार्टिका केन्द्रिय अध्यक्ष महन्थ ठाकुर नआएपछि उनकै निर्देशनमा पार्टिका सहअध्यक्ष हृदेश त्रिपाठी र महामन्त्री सवेन्द्रनाथ शुक्ला दशगजा केन्द्रित आन्दोलनलाई उद्घाटन गर्न ६ दिन पहिले भैरहवा आएका थिए ।
स्थानीयबासिन्दाको प्रतिकार पछि सोमबारदेखी भैरहवा नाका खुलेपछि पुनः सो नाका बन्द गराउने ध्ययेले नेता त्रिपाठी काठमाण्डौंबाट भैरहवा आएका हुन् । त्रिपाठी स्थानीय होटल पवनमा बसेका थिए । उनी विहानै पवनबाट ३ वटा मोटरसाइकलमा भारततर्फ हानिएका थिए । मुख्य नाका बेलहियाबाट नगई स्थानीय नाका फरेना बजार हुदैं नौतनवा सुनौली पुगेका त्रिपाठीको निर्देशनपछि भारतमै बसेका मोर्चाका कार्यकर्ता झन उग्र भएका थिए ।
नेता त्रिपाठीले सुनौलीको होटल निरन्जनामा मोर्चाका सीनियर लिडर र सुनौलीकै रामजानकी मन्दिरमा अन्य कार्यकर्तालाई नाकाबन्दीलाई भारतमै बसेर कडा बनाउन निर्देशन दिएको मोर्चाका एक नेताले बताए । भारतीय भूमीबाट नेपालतर्फ फर्केर चर्का नाराबाजी गरेका मोर्चाको जुलुसमा त्रिपाठी पनि सहभागी रहेका थिए । मोर्चाका नेता कार्यकर्ताले भारतीय भूमीबाट नेपालतर्फ ढूंगा मुढा गर्दै नेपाल विरुद्ध नाराबाजी गरेपछि स्थानीय बेलहियाका जनताहरु घरघरबाट निस्केर भारत र मोर्चा विरुद्ध नाराबाजी र प्रदर्शन गरेका थिए ।