निगमका प्रवक्ता दीपक बरालले निजी सवारीसाधनतर्फ मोटरसाइकललाई प्रतिसाता तीन लिटर र चारपांग्रे सवारीसाधनलाई प्रतिसाता १० लिटर इन्धन उपलब्ध गराइने जानकारी दिए । प्रवक्ता बरालका अनुसार सार्वजनिकतर्फ ट्याक्सीलाई १० लिटर, माइक्रोबसका लागि १५ लिटर, मिनीबसका लागि २० लिटर र ठूला बसका लागि ३० लिटर कोटा तोकेको छ ।
सार्वजनिक सवारीसाधनले जोरबिजोर प्रणालीअनुसार चलेको दिन इन्धन भर्न पाउने व्यवस्था गरिएको छ । निगमले इन्धन वितरण गरेपछि सम्बन्धित सवारीधनीको ब्लुबुकमा विवरण राख्ने व्यवस्थासमेत गरेको जनाएको छ । कोटा निर्धारणपछि मौज्दात इन्धनले १५ दिनसम्म धान्न सक्ने अनुमान गरिएको प्रवक्ता बरालले जानकारी दिए ।
‘खुला गर्ने हो भने मौज्दातले एक दिन पनि धान्न सक्दैन,’ उनले भने, ‘जोहो गरेर पुर्याउने हो भने १५ दिनसम्म धान्न सकिन्छ ।’ हवाई कम्पनीलाई पनि नेपालमा इन्धन बचाउन र नजिकका विमानस्थलसम्म पुग्ने इन्धन मात्र भरेर जान आग्रह गरिएको बरालले बताएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।