Skip to content
LAXMI SUNRISE BANK

गृहमन्त्री गौतमले भने–हवाइजहाजबाट इन्धन ल्याउँछौं, आत्मसमर्पण गर्दैनौं

अर्थ सरोकार

भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको हाहाकार भैरहेकाबेला उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमले हवाइमार्गबाट इन्धन ओसार्ने बताएका छन् ।
इन्धन अभावको सामना गर्न जोर बिजोर प्रणालीका आधारमा गाडी चलाउने घोषणा गरिसकेको भन्दै उनले आत्मसमर्पण गर्ने स्थिति आउन नदिने बताए ।

प्याक–प्याक हुन दिँदैनौं

शनिबार नर्भिक अस्पतालले राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री गौतमले नाकाबन्दीको डटेर सामना गर्ने बताए ।

‘भारतले नाकाबन्दी गर्दैैमा प्याक–प्याक हुन दिँदैनौं । काठमाडौंका जनतालाई आत्मसमर्पण गर्ने स्थिति आउन दिँदैनौं,’ भारतप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका मन्त्री गौतमले भने, ‘हवाई जहाज अब रोकिने छैन । हवाई जहाजलाई चाहिने इन्धन हवाईमार्गबाटै ल्याउँछौं ।’

समय धेरै परिवर्तन भैसकेकाले आफूहरुसँग पनि धेरै उपाय रहेको भन्दै उनले पहिलेको जस्तो नठान्न भारतलाई चेतावनी दिए । उनले संविधान निर्माण नेपालको आन्तरिक मामिला भएकाले हस्तक्षेप नगर्न समेत भने ।

मोर्चाको विज्ञप्ति र भारतका कुरा उस्तै–उस्तै

‘हामीले के बिगारेका छौं भारतको निम्ति ?’ एमाले उपाध्यक्ष समेत रहेका मन्त्री गौतमले भने, ‘भारतले हाम्रो चिन्ता गर्नुपर्दैन, आफ्नो चिन्ता गरे हुन्छ ।’

मधेसी मोर्चाको विज्ञप्ति र भारतका कुरा उस्तै–उस्तै भएको भन्दै उनले त्यसलाई संयोगमात्र मान्न नसकिने बताए । मन्त्री गौतमले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेर तराईका जनतालाई नउचाल्न सुझावसमेत दिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK