
नेफ्टा अवार्डको लागी कतार जाँदै गरेका ४० बढी कलाकर्मीहरु दुबईको एरपोर्टमा अलपत्र परेका छन् । स्रोतका अनुसार आवश्य प्रक्रिया नपुर्याईकिन चलचित्रकर्मीलाई कतार पुर्याउन खोजेको आयोजकको कमजोरीका कारण चलचित्रकर्मी थुनामा परेको बुझिएको छ । पछिल्लो २४ घण्टायता नेपाली कलाकार तथा निर्माता निर्देशकहरु सारजाह एरपोर्टमा नै थुनामा रहेको बुझिएको छ ।
अवार्डको लागी सोमबार त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गरेका कलाकर्मीहरु कतार नपुग्दै बीच बाटोमा नै अलपत्रमा परेका हुन् । ट्राभल चेक बनाए पनि सबैसँग १५ सय डलर रकम नभएपछि पैसा नहुनेहरुलाई सारजाह विमानस्थलले नै रोकेको हो । एअर अरेबियाको विमानबाट गएका कलाकर्मीहरुलाई कर्मचारीहरुले लाईनमा राखेर हातमा डलर राख्न भन्दै डलर हुनेहरुलाई मात्र पास दिएको र अन्यलाई त्यही रोकेको श्रोत बताउँछ ।
१५ सय डलर बोकेका चलचित्रकर्मीहरु भने कतार पुगिसकेका छन् । विकास वोर्ड अध्यक्ष राजकुमार राई लगायतको टोली कतार पुगिसकेको छ । यद्धपी अवार्ड थाप्ने र प्रस्तुती दिने कलाकारहरु नै बीच बाटोमा यता न उता परेर रोकिएका छन् ।
कलाकारहरु नै बीच बाटोमा अलपत्र भएपछि बिहिबार हुने अवार्ड नै हुने नहुने अन्यौल भएको छ । ४६ जना कलाकारहरु अहिले पनि सारजाहमा अलपत्रमा छन् । जसले नेपाली कलाकर्मी मात्र होईन् राष्ट्रकै बदनाम गराएको चर्चा सुरु भएको छ । हचुवा र हावाको भरमा कलाकारहरुलाई कुनै सुचना र आवश्यक जानकारी नै नदिई कतार लैजान तयार हुनुले यो अवस्था आएको हो । जसले नेफ्टाको असली हर्कत छर्पष्ट भएको छ ।
त्यसो त नेपालबाट अवार्डमा सहभागी हुने कलाकारहरुबाट नेफ्टाले पैसा उठाएर कतारको टिकट दिएको हल्ला समेत सुरु भएको छ । ‘पैसा तिरेर कतार जान तयार हुनेले खल्तीमा डलर भने बोक्न बिर्सेर बाटोमा अड्किनु जस्तो हाँस्यास्पद र लज्जास्पद कुरा केहिँ होईन्, जसले नेफ्टाको असली हैसियत उदाङ्ग बनाएको छ सँगसँगै नेपाली कलाकारको बदनामी पनि’ एक चलचित्रकर्मीले भने ।
टिकट सस्तो पर्ने भन्दै आयोजकले सिधै दोहाको सट्टा शारजहाँमा ट्रान्जिट पारेर लगेको थियो। शारजहाँमा एयर अरेबियाले १५०० डलर नहुँनेलाई प्लेन चढ्न नदिएपछि उनीहरु अलपत्र परेका हुन्। यसरी रोकिएपछि एयर अरेबियासँग विवाद भएको कतार पुगेका एक कलाकारले बताए । यस्तो घटना घटेपछि नेफ्टाका पदाधीकारीहरु रुझेको बिरालो जस्तो निन्याउरो अनुहार बनाएर बसेको बुझिएको छ । अन्य ठाउँमा चर्को चर्को स्वरमा कराउन र लफडा गर्न तम्सिने नेफ्टा अध्यक्ष मनोज केसी चुप छन् । यो बिषयमा जानकारी माग्दा नेफ्टा पदाधीकारीहरु मौन बसे ।
आयोजकले १५०० डलर साथमा बोक्नुपर्ने नियमको बारेमा जानकारी नगराउँदा कलाकार साथीहरु २४ घण्टा बितिसक्दा पनि कतारको शारजाहाँको ट्रान्जिटमा रोकिनु परेको र एयर अरेवियाका कर्मचारीले दुर्व्यवहार पनि गरेको बताईएको छ । प्राप्त भिडियोमा कोही कलाकारले डलर नपुगेर अन्यसँग माग्दै छन भने कोही लाईनमा बसेर डलर देखाउँदै छन् ।