
संकटग्रस्त बैंक तथा वित्तीय संस्थाले पछिल्लो समय सम्भावित कारबाहीबाट जोगिन अवलम्बन गरिआएको एउटा सजिलो बाटो हो मर्जर । अथवा, एउटा वित्तीय संस्थामा अन्य वित्तीय संस्था गाभ्ने र गाभिने काम । यस्तो प्रक्रियामा सम्बन्धित संस्था गाभिनुअघि डीडीए गर्ने गरिए पनि त्यहाँका फट्याइँका विषयमा नियमनकारी निकाय (केन्द्रीय बैंक ) नेपाल राष्ट्र बैंकले केही लचकता अपनाउने हुँदा समेत बैंक तथा फाइनान्स खोलेर आफ्नो गोजी भर्न चाहनेका लागि मर्जर सम्भावित कारबाहीबाट फुत्किने बहाना बन्ने गरेको छ ।
बैंकका सञ्चालकको मिलेमतोमा मर्जरको एक दिनअघि नै बदनियतपूर्ण ढंगले विभिन्न नक्कली ऋणी र कम्पनी खडा गरी रोयल मर्चेन्टले ३६ करोड रुपैयाँको ऋण फाइल सदर गरेको विषयले अहिले एपेक्स डेभेलपमेन्ट बैंक नै बर्बादीको मोडमा पुगेको हो । रोयल मर्चेन्टका तत्कालीन सञ्चालकले एपेक्समा कु गरेर राम्रो छविका अध्यक्ष हटाई सीईओलाई समेत लात मार्ने षड्यन्त्र रचेपछि उनीहरूको चंगुलमा बैंक फसी सर्वसाधारणको सात अर्ब निक्षेप संकटमा पर्न लागेको हो ।
सर्वसाधारणको यति धेरै रकम संकटमा पर्दा समेत सामान्य अवस्थाको संकटग्रस्त वित्तीय संस्थालाई संकटग्रस्त घोषणा गरी पीसीए (शीघ्र सुधारात्मक कारबाही) को व्यवस्था लागू गर्ने राष्ट्र बैंक भने यो काण्डमा मौन बसेको छ । बरु उल्टै बैंक डुबाउने खेलमा लागेकाले आफूहरूले गभर्नरलाई समेत चलाउन सक्ने ध्वाँस दिँदै अन्य सञ्चालकलाई धम्क्याउने र डेढ वर्षको अवधिमा निक्षेप संकलन तथा कर्जा लगानीमा दोब्बरले फड्को मारेको बैंकलाई सखाप पर्ने खेल सुरु गरेका छन् ।
यसरी सुरु भयो खेल
रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, रारा विकास बैंक र पोखराको अपी फाइनान्सबीच मर्जर हुनु ठीक एक दिनअघि रोयलका सञ्चालकले बदनियतपूर्ण ढंगले बैंकको ३६ करोड रुपैयाँ पचाउने योजनाअनुसार नक्कली ऋणीका फाइल खडा गरी ३६ करोड रुपैयाँ ऋण स्वीकृतको खेल खेलेका थिए । उनीहरूले राष्ट्र बैंकले मर्जरको क्रममा रहेका वित्तीय संस्थाहरूको खराब ऋण तथा अन्य खराब अवस्थाको विषयमा केही लचक नीति अपनाउने बुझेर त्यस्तो प्रावधानको दुरूपयोग गर्दै मर्जरको एक दिनअघि अन्य बैंकका प्रतिनिधिलाई समेत हात लिएर ३६ करोडको ऋण स्वीकृत गराउने काम गरेका थिए । त्यही ३६ करोड र त्यस्ता आधा दर्जन काण्ड छानबिन समितिमार्फत बाहिर आउने भएपछि केही व्यक्तिको चलखेलमा साधारणसभाबाट अध्यक्ष निर्वाचित चन्द्रलाल जोशीलाई कु गरेर अपदस्थ गरी सीईओ गोविन्दप्रसाद उपाध्यायलाई समेत लखेट्ने योजना बनाएको रहस्य खुलेको छ ।
सोझा अध्यक्ष जोशीलाई विभिन्न प्रभाव र दबाबमा राखेर कुमार्फत अध्यक्ष पदबाट हटाई अहिले एपेक्स डेभलपमेन्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा विष्णु धिताल पुगेका छन् । धिताल रोयलको ३६ करोड रुपैयाँ पचाउने खेलका एक प्रमुख पात्र हुन् । अन्य खेलाडीले समेत विष्णु धिताललाई सहयोग गरी अध्यक्ष बनाएका र धिताल नेतृत्वको समूहले ३६ करोडको खेललाई बाहिर नल्याउन राष्ट्र बैंकका कतिपय अधिकारीलाई समेत प्रभावमा पार्ने खेल सुरु गरेको सूत्रले बताएको छ ।
विष्णु धिताल नेपाली काँग्रेसको लमजुङ निर्वाचन क्षेत्र– १ का क्षेत्रीय सभापति पनि हुन् । उनले आफू प्रधानमन्त्री सुशील कोइरालाको विश्वासपात्र भएको हौवा पिट्दै काँग्रेसकै कोटाबाट गभर्नर नियुक्त डा. चिरञ्जीवी नेपाललाई समेत घुमाउन सक्ने भन्दै आफ्ना विरोधीलाई थर्काउने गरेका छन् । यस्तै, ध्वाँस दिएर केन्द्रीय बैंकका कतिपय सम्बन्धित विभागका अधिकारीलाई समेत हातमा लिई ३६ करोड पचाउने खेलमा लागेको समेत बताइएको छ । धितालले आफूलाई प्रम कोइरालाको विश्वासपात्र भनेर फुइँ लडाउने गरे पनि खासमा उनी कोइरालाका पूर्व पीए लक्ष्मण ढकालका विश्वासपात्र हुन् । ढकाल नै अब पीए नरहेपछि उनको राजनीतिक पहँुच उनले भन्ने गरेजस्तो सहज र सशक्त छैन ।
विभिन्न बैंक आपसमा मर्ज भएर राष्ट्रिय स्तरको विकास बैंक बनेपछि पनि एपेक्स डेभेलपमेन्ट बैंकको सञ्चालक समितिमा विभिन्न विवाद उठेका थिए । सबैभन्दा बढी लफडा रोयल मर्चेन्ट बैंक एन्ड फाइनान्स लिमिटेडका प्रोमोटरबाट हुने गरेको थियो । बैंकहरू मर्ज भएलगत्तै रोयलका प्रमोटर एवं सीईओ मधुवनलाल श्रेष्ठ पुनः सीईओ बनेका थिए भने, अपी फाइनान्सका सीईओ ध्रुवराज तिवारी डेपुटी सीईओ भएका थिए । यी वित्तीय संस्था मर्जर हुनै पनि डेढ वर्षभन्दा बढी समय लागेको थियो । मर्जरपछि पनि प्रमोटरहरूबीच विभिन्न काण्डहरूको विषयलाई लिएर लामो समयसम्म झगडा भएको थियो । कुनै समूहलाई ३२ करोडको, कुनैलाई ३६ करोड तथा कुनैलाई ४० करोड घोटाला गरेको जस्ता चार्ज लाग्ने गरेको थियो । झगडाकै बीच एपेक्स डेभलपमेन्ट बैंकको साधारणसभाले चन्द्रलाल जोशीलाई अध्यक्षमा निर्वाचित ग¥यो ।
मर्जरको १० महिनापछि ज्योति विकास बैंकबाट गोविन्दप्रसाद उपाध्यायलाई सीईओ बनाएर लगियो । जब अध्यक्षमा जोशी र सीईओमा उपाध्याय आए, त्यसपछि उनीहरूले ३६ करोड र यस्तै अन्य प्रकृतिका घोटालाको विषयको गुत्थी पत्ता लगाउने र संस्थालाई मजबुत बनाउने प्रयास स्वरूप सञ्चालक समितिका सदस्य समेत राखेर एक छानबिन समिति निर्माणका लागि पहल गरे । त्रिपुरेश्वर त्रिपाठीको संयोजकत्वमा छानबिन समिति समेत बन्यो । समितिलाई बैंक सञ्चालक समितिले अनियमित तवरले प्रवाह भएको कर्जाका विषयमा छानबिन गर्ने अख्तियारी दिएको थियो ।
समितिले छानबिन गर्ने क्रममा तत्कालीन रोयल मर्चेन्टका अध्यक्ष वसन्त मल्ल र सीईओ मधुवनलाल श्रेष्ठ लगायतको समूहले नक्कली कागजातका आधारमा ३६ करोड रुपैयाँ झ्वाम पारेको मजबुत प्रमाण नै फेला पारी बैंकलाई बुझाएको छ । समितिको अध्ययनका क्रममा मल्ल लगायतको गिरोहले संस्थागत सुशासनको नाममा ३६ करोडको काण्डलाई जबर्जस्त लुकाउन मर्जरको बाटो रोजेको निष्कर्ष समेत निकालेको थियो । मर्जरको संयोजकमा वसन्त मल्ल थिए भने त्यसको योजनाकार धिताल थिए । उनले समेत रोयल मर्चेन्टको यो समूहबाट पाँच करोड कमिसन लिएर रारालाई मर्जरमा सहमत गराएको सेयर धनीहरुबीच चर्चा हुने गरेको छ । छानबिन समितिले मर्ज हुनु एक दिनअघि गोजी भर्ने नियतले नै ३६ करोडको ऋण प्रवाह भएको देखिएको प्रतिवेदन पेस गर्दै दोषीमाथि कारबाही गर्न तथा सोसम्बन्धी फाइल राष्ट्र बैंकमा बुझाउने सुझाव समेत दिएको छ ।
छानबिन समितिको प्रतिवेदन केन्द्रीय बैंकसम्म पुगे आफूहरूको कर्तूत बाहिर निस्किने र जुलुम हुने देखेपछि धिताल नेतृत्व समूहले अनेक दाउपेच गरी एपेक्स डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त बनाइदिएको हो । अध्यक्ष जोशी र सीईओ उपाध्यायले छानबिन समितिलाई सक्रिय बनाई बैंकमा वित्तीय अनुशासन र संस्थागत सुशासन कायम गर्ने विषयमा अडिग रहेपछि त्यही प्रवृत्ति बैंक माफियाका लागि काउछो बन्यो ।
बदनियतपूर्ण ढंगले राम्रो काम गर्ने सीईओ उपाध्यायलाई समेत गलहत्याउने नियतले २० कात्तिकसम्मका लागि घरबिदामा बस्ने निर्णय गराइयो, त्यो पनि अल्पमतको सञ्चालक समितिबाट । सञ्चालक समितिको घरबिदामा बसाउने निर्णयपछि उपाध्याय विदेश भ्रमणमा गए र उनी आपतकालीन रूपमा विदेशबाट फिर्ता हुने तयारी रहेको बुझिएको छ । धिताल अध्यक्ष भएलगत्तै सीईओ उपाध्यायलाई २४ घन्टाभित्र राजीनामा गर्न दबाब दिइएको थियो । तर, उपाध्यायले उनीहरूको जबर्जस्तीलाई अटेर गरिदिएपछि २० कात्तिकसम्म बिदामा बसाउने निर्णय भएको बुझिएको छ । अध्यक्षलाई हटाए पनि सीईओ समेत आफूहरूको खेलमा बाधक बन्ने देखेपछि उनीहरूले यस्तो निर्णय गरेको बुझिएको छ । त्यसो त डेढ वर्षको अवधिमा धिताल समूहले पटक–पटक जोशी र सीईओ उपाध्यायलाई बदनियतपूर्ण ऋण प्रवाहको फाइल मिलाउन चेतावनी दिने गरेको थियो । छानबिन समितिलाई समेत प्रभाव पार्न खोजिएको थियो ।
धितालको यो योजनामा मधुवन, वसन्त, लोकेन्द्र कर्माचार्य र सुवर्ण राजभण्डारीले समेत साथ दिइरहेको सूत्रको भनाइ छ । बैंकमा कु गरी अध्यक्ष गलहत्याएपछि ३६ करोडलगायत थुप्रै काण्डका फाइल गायब पार्ने उद्देश्यले २७ भदौमा तनहुँको सिद्ध गुफामा गएर धितालले बैंक सञ्चालक समितिको अल्पमतको बैठक समेत गराएका छन् र कम्पनी सचिव प्रदीप कर्माचार्यलाई हटाउने लगायतका बैंकलाई दीर्घकालीन असर पार्ने थुप्रै निर्णय गरेको बताइएको छ । पछिल्लो समय धिताल समूहले छानबिन समितिका संयोजक त्रिपाठीलाई पनि आफ्नो हातमा लिइसकेका छन् । २७ भदौको गुफा बैठकमा उनी समेत सहभागी भएको निमित्त सीईओ ऋषिराज भट्टको फेसबुकमा राखिएको तस्बिरबाट समेत प्रस्ट हुन्छ । त्यस अलावा सो बैठकमा सुवर्ण राजभण्डारी, लोकेन्द्रमान कर्माचार्य, विष्णु धिताल, ऋषिराज भट्ट र रामचन्द्र बस्यौला पनि सहभागी थिए ।
वागमती नदीको नाममा ऋण
छानबिन समितिले खोजी गर्दै जाँदा भीरपाखा, खोलानालाको नाममा समेत नक्कली ऋणी तथा फाइल खडा गरी ऋण प्रवाह भएको देखिएको छ । समूहले एनबीएस सुपरमार्केटको नाममा दुई करोड रुपैयाँ ऋण प्रवाह गरेको पाइएको छ । जब कि ऋणका लागि धितो राखिएको जग्गा पूर्वी नेपालको एक खोलो रहेको पत्ता लागेको छ । पछिल्लोपटक धितोमा उल्लिखित जग्गा खोज्दै जाँदा त्यसको मूल्यांकन शून्य देखिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी, एक सञ्चालक समितिका सदस्यले सञ्चालन गरेको काठमाडौँको सम्पूर्ण काष्ठ उद्योगको नाममा समेत तीन करोड ऋण प्रवाह भएको देखिएको छ । त्यसको धितोमा समेत जग्गा राखिएको छ । पछिल्लो समय छानबिन समितिले खोज्दै जाँदा तीन करोड ऋणका लागि राखिएको धितोमा उल्लिखित जग्गामा वागमती नदी फेला परेको एक सदस्यले बताए । नयाँ बानेश्वरको बादसाह फुडल्यान्डलाई समेत समूहले साढे दुुुई करोड रुपैयाँ ऋण प्रवाह गरेको देखिएको छ । सम्बन्धित ऋणीलाई सोध्दा उनले आफूले ऋण नै नलिएको छानबिन समिति समक्ष बयान दिएका छन् । यसको अर्थ धिताल समूहले नक्कली ऋणी खडा गरेर अरूको नाममा समेत ऋण लिएर पचाउन खोजेको देखिएको छ ।
एपेक्स डेभलपमेन्ट बैंकलाई डुबाउने खेलमा लागेका धितालले आफ्नो लक्ष्य प्राप्तिका लागि गुन्डाहरूको समेत परिचालन गर्ने गरेका स्रोतको दाबी छ । उनलाई साथ दिने वसन्त मल्ल मर्जरअघि नै राष्ट्र बैंकको कारबाहीमा परिसकेका व्यक्ति हुन् । उनी रोयलमा हुँदा केन्द्रीय बैंकले दुई लाख रुपैयाँ जरिवाना तिराएको थियो ।
त्यसो त धितालले बैंकको करोडौँ रुपैयाँ मात्र हिनामिना गरेका छैनन्, आफू लमजुङ काँग्रेसको सभापति हुन्छु भन्दै जिल्ला आउँदा–जाँदाको खर्चको बिलसमेत बैंकबाटै भराउने गरेका छन् । आफ्नै गाडी छ उनको, तर लमजुङ जाँदा र आउँदा गाडी भाडा भनेर एक दुई हजारमा समेत गति छाड्ने गरेका छन् । पार्टीको काममा लमजुङमा गएर सानदार होटेलमा बसेको बिलसमेत बैंककै नाममा आउने गरेको कर्मचारी बताउँछन् ।
त्यसो त करोडौँका काण्डमा मुछिएका धिताल अध्यक्ष भएकोमा असहमति जनाउँदै सञ्चालक समितिका नौ जनामध्ये डा. वेदनाथ शर्मा, सीबी थापा, चन्द्रलाल जोशी र ध्रुवराज तिवारीले राजीनामा दिइसकेका छन् । बाँकी रहेका चार सदस्यलाई प्रयोग गरेर सीईओलाई कारबाही गर्न खोज्नु समेत गैरकानुनी रहेको स्रोतको भनाइ छ । साधारणसभामै धितालले करोडौँ रुपैयाँ घोटाला गरेको प्रसंग हाकाहाकी उठ्दासमेत उनीमाथि कारबाही हुन नसक्दा आजको अवस्था आएको कतिपय सञ्चालकको बुझाइ छ ।
उता, सीईओलाई जबर्जस्ती घरबिदामा पठाएर धिताल आफू कार्यकारी अध्यक्ष भएको दाबी गर्दै सीईओ उपाध्यायको कार्यकक्ष र कुर्सी कब्जा गरी त्यहीँ बसेर काम गर्ने गरेको कर्मचारी बताउँछन् । आफ्ना कर्तूत लुकाउने प्रयासले होला बिहान ७ बजेदेखि रातिसम्म उनी बैंकमै बस्छन् । एक कर्मचारीले भने, ‘एउटा ठूलै गिरोहको सक्रियताका कारण एपेक्स संकटग्रस्त बनिसक्यो, राष्ट्र बैंकले तत्काल हस्तक्षेप गर्न आवश्यक छ ।’
त्यसो त मर्जरपछि विष्णुले कमिसन खाएर आफू अनुकूलका ४२ कर्मचारीलाई बैंकमा भर्ना गरेका छन् । अहिले तिनै कर्मचारीलाई आफूअनुकूल प्रयोग गरिरहेको बुझिएको छ । उनले अहिले शाखा प्रबन्धक तथा ऋण अधिकृतहरूमा आफ्ना लाइनका मान्छेलाई सरुवा–बढुवा गरी सिंगो बैंकमा लुट मच्चाउन खोजिरहेको आरोप समेत केही सञ्चालकको छ । अनावश्यक हस्तक्षेप, सरुवा–बढुवाका कारण निष्पक्ष ढंगले काम गर्ने कर्मचारी पनि आतंकित बनेको स्रोतको भनाइ छ ।
यता, जबर्जस्ती बिदामा बस्न लगाइए पनि विदेशमा रहेका सीईओ उपाध्याय सकेसम्म चाँडो स्वदेश फर्किएर कार्यालयमा हाजिर हुन जाने तयारीमा रहेको बुझिएको छ । यसरी सञ्चालकहरूकै द्रव्यमोहका कारण मर्जरपछि पनि फेरि एकपटक डुब्ने अवस्थामा पुगेको एपेक्स डेभलपमेन्ट बैंकमाथि राष्ट्र बैंकले तत्काल हस्तक्षेप गर्न आवश्यक देखिन्छ । केन्द्रीय बैंकले यो कुराप्रति नजरअन्दाज गरे सर्वसाधारणको सात अर्ब निक्षेप डुब्ने सञ्चालकहरूको दाबी छ ।
केन्द्रीय बैंकले यो बैंक तथा यसको फितलो व्यवस्थापनमा विशेष निरीक्षण समेत तत्काल गर्न आवश्यक छ । केही समयअघि एनसीसी बैंकमा गरेजस्तै हस्तक्षेप गर्ने निर्णय राष्ट्र बैंकबाट हुने आशा एपेक्स बैंकका सञ्चालक तथा सर्वसाधारण निक्षेपकर्ताहरूले गरेका छन् । केन्द्रीय बैंकले हस्तक्षेप गरी बदनियतपूर्ण ढंगले बैंक तथा निक्षेपकर्ताको हितविपरीत भएका सबै निर्णय बदर गराउन आवश्यक छ । एक जानकार भन्छन्, ‘छानबिन समितिको प्रतिवेदन समेत कार्यान्वयनमा ल्याइन जरुरी छ ।’ छानबिन समितिले लिएको बयानका क्रममा अधिकांश नक्कली ऋणीले आफूहरूको नाम लिएर मधुवन, वसन्त, धिताल र बैंकका सिनियर म्यानेजर विकास श्रेष्ठले पैसा निकालेको बयान दिएको स्रोतको भनाइ छ ।
यसैबीच, विष्णु धितालले कु गरेर जोशीलाई हटाएर एपेक्स डेभलपमेन्ट बैंकमा बेथिति निम्त्याएपछि अपी फाइनान्सबाट मर्जरमा गएका संस्थापक सेयरमध्ये ४५ जनाको भेलाले २७ भदौमा बसेको बोर्ड बैठकको निर्णयलाई बदर गर्ने र एक साताभित्र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । भेलाले बिदामा बसेका कर्मचारीलाई तुरुन्त हाजिर गराउनुपर्ने र संस्थागत सुशासन कायम गराउनुपर्ने लगायत एक दर्जन माग समेत उठाएको छ । सञ्चालक त्रिपुरेश्वर त्रिपाठीमार्फत सञ्चालक समिति अध्यक्षलाई अल्टिमेटम दिएको यो समूहले एक साताभित्र आफ्ना माग पूरा नभए राष्ट्र बैंक गुहार्ने चेतावनीसमेत दिएको छ । उनीहरूले सुरक्षित अवतरणका लागि राष्ट्र बैंकले हस्तक्षेप गर्नैपर्ने निर्णय समेत पारित गरेको पुष्टि छानबिन समितिका सदस्य एवं संस्थापक सेयर धनी जंगबहादुर गुरुङले बताए ।
यसरी सर्सर्ती हेर्दा काँग्रेसको क्षेत्रीयस्तरको नेता भएकै कारण करोडौँ रुपैयाँ पचाउने उद्देश्यले धितालबाट प्रधानमन्त्रीदेखि गभर्नरसम्मलाई विवादमा मुछेर बदनाम गराउन खोजिएको देखिएको छ । राष्ट्र बैंक मेरै कब्जामा छ भनेर धितालले दुनियाँलाई बेवकुफ मात्र बनाएका छैनन्, राष्ट्र बैंक अन्तर्गतको विकास बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक हरि काफ्लेलाई डेपुटी गभर्नर बनाइदिने आश्वासन दिएर आफ्ना कर्तुत छोप्न प्रयोग गरिरहेको पनि सूत्र दाबी गर्छ । एक सञ्चालकको सुझावमा यदि राष्ट्र बैंकले धिताल नेतृत्वको बोर्डको माइन्युट तुरुन्त कब्जामा लिएर छानबिन नथाल्ने हो भने सर्वसाधारणको सात अर्ब निक्षेप जुनसुकै बेला डुब्न सक्छ । अर्का एक सञ्चालकका अनुसार केपीएमजी भन्ने संस्थाले समेत हालै गरेको एक सुपरीवेक्षणका क्रममा रोयल मर्चेन्टका थुप्रै कैफियत फेला परेको छ ।
संस्थाबाट समेत ती कर्तुत सार्वजनिक हुने डरले धिताल नेतृत्व समूह शक्तिकेन्द्र धाइरहेको छ । रोयलबाट लगानी भएका धेरै ऋण डुब्ने अवस्थामा छन् । स्रोत भन्छ, ‘राष्ट्र बैंक चनाखो भएन भने एपेक्स डेभलपमेन्ट निकै ठूलो समस्यामा पर्न सक्छ ।’ हाल यो बैंकको ऋण प्रवाह साढे चार अर्ब, निक्षेप साढे ६ अर्ब (करिब सात अर्ब) रहेको छ । उपाध्याय सीईओ भएर आउनुअघि साढे तीन अर्ब निक्षेप थियो । डेढ वर्षको अवधिमा उपाध्यायले निक्षेपमा दोब्बर प्रगति हासिल गरेर देखाइदिए, राष्ट्र बैंकले लगाएको शीघ्र सुधारात्मक कारबाही पनि आफू सीईओ नियुत्ति भएको तीन महिनामै हटाउन सफल भए ।
तर, सीईओले राम्रो काम गर्दागर्दै पनि आफ्नो अभीष्ट पूरा नभएकै कारण बदनियतपूर्ण ढंगले हटाउन खोज्नु अन्याय भएको सेयर सदस्य बताउँछन् । ‘बैंकलाई गुन्डा र अपराधीले कब्जा गर्न खोजे,’ एक संस्थापक सेयर सदस्यले भने, ‘धिताल नेतृत्व समूह टाइसुट लगाउने वित्तीय अपराधीको रूपमा झुल्किएको छ । उनीहरूको गलत नियतको भण्डाफोर हुन आवश्यक छ ।’ एपेक्स डेभलपमेन्ट बैंकमा मर्ज भएका रोयललगायत केही संकटग्रस्त वित्तीय संस्थाका प्रमोटरकै अगुवाइमा अनियमित ढंगले कर्जा लगानी भएका थुप्रै छन् । – सदावहार साप्ताहिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्