
जिल्ला वन कार्यालय कञ्चनपुरका कर्मचारीले शनिबार घाइते अवस्थामा ल्याइएको चित्तल मारेर खाएका छन् । शुक्रबार राति गाउँलेले लखेटेपछि घाइते भएको चित्तललाई राति नै इलाका वन रेन्ज पोस्टका प्रमुख जिवत्स यादवले घाइते चित्तल जिल्ला वन कार्यालय पु¥याएका थिए ।
चित्तलको उपचारको साटो वन कर्मचारीले मरिसक्यो भन्दै जिल्ला प्रहरी कार्यालय अगाडि रहेको वन सुुरक्षा शाखामा काटेर खाएका हुन् । ऐन अनुसार घाइते अवस्थामा वन्यजन्तु फेला परे उपचार गर्नुपर्ने र मरेको अवस्थामा फेला परे वन कार्यालय, प्रहरी र पशुसेवा कार्यालयको रोहवरमा खाडलमा गाड्नुपर्ने हुन्छ । तर यहाँ सुरक्षा शाखाका प्रमुख जीतसिंह बोहरा र मानबहादुर खडायतसहित जिल्ला वन कार्यालयका कर्मचारीले भाग लगाएको मासु लिनाका साथै बिक्रीसमेत गरेका छन् ।
बिहान रासस प्रतिनिधि त्यहाँ पुग्दा सुरक्षा शाखाका सबै कर्मचारी र बाहिरबाट समेत मासु खरिदका लागि स्थानीयवासी पुगेका थिए । साथै स्थानीयवासीले खरिद गरेर चित्तलको मासु लगेका छन् । ‘चित्तल मरेको भए पनि रोहबरमा गाड्नुपर्ने ऐनमा व्यवस्था छ ।’ वन स्रोतले भन्यो, ‘तर यहाँ जिल्ला वन अधिकृतहरुकै मिलेमतोमा मासु खाइएको छ ।’ घटनाबारे जिल्ला वन कार्यालयका निमित्त प्रमुख वीरबहादुर ठगुन्नाले घाइते अवस्थामा ल्याइएको चित्तल आज बिहान मरेको खबर आफूकहाँ आएको बताउँदै चित्तल कर्मचारीले खाएको बारे आफूले जानकारी नभएको भन्दै पन्छिए ।
‘मरे पनि रोहवरमा चित्तल गाड्नुपर्ने कानुनी प्रावधान छ ।’ उनले भने,‘चित्तलको छाला निकालेर गाडेपछि मुचुल्का उठाउनुपर्ने हुन्छ ।’ जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु विभाग अधिकृत मदनसिंह धामीले वनबाट ल्याइएको चित्तल शुक्रबार राति नै मरेको बताए । उनले चित्तल मरेको बारे प्रतिवेदन बनाए पनि कानुनी प्रावधानअनुसार गाड्नुपर्ने विषयमा वन कार्यालयले प्रक्रिया पु¥याउनुपर्ने बताए ।
घटनालगत्तै सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोको टोलीले जिल्ला वन कार्यालय शाखाबाट अन्दाजी एक किलो मासु लिएर घरतर्फ गइरहेका भीमदत्तनगरपालिका–१८ का ४२ वर्षीय वीरबहादुर ठगुन्नालाई नियन्त्रणमा लिएको छ । ‘वनमा मासु बिक्री हुँदैछ भन्ने खबर पाएपछि किनेर ल्याएको प्रारम्भिक बयान उनले दिएका छन् । ब्युरोका महाकाली अञ्चल प्रमुख प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारीले भने,‘अहिले मासुसहित जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धान हुँदैछ ।’ –रासस