×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्स्पेक्टर पतिले इन्काउन्टरमा पारुँला भने पनि न्याय पाउने इन्दिराको आसा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

इन्स्पेक्टर पतिले इन्काउन्टरमा पारुँला भने पनि न्याय पाउने इन्दिराको आसा

Artha Sarokar

२७ भाद्र २०७२, आईतवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

गाउँघरमा घरेलु हिँसा हुँदा तत्काल मिलाप गराउने या पीडकलाई कानुनी कारबाहीका लागि सिफारिस गर्ने प्रहरी अधिकृत नै पत्नीलाई कुटपिट गरेर घरनिकाला गर्दै अर्को विवाह गर्छन् भने तिनका पत्नीले न्याय माग्न कहाँ धाउने ? अझ पद र शक्तिको दुरुपयोग गर्दै अदालतलाई ढाँटेर हिँड्ने प्रहरी अधिकृतलाई उनका हेड्क्वार्टरदेखि नै संरक्षण हुन्छ भने प्रधानमन्त्रीको च्याम्बरसम्म पुग्दा पनि सजिलै न्याय पाइन्न भन्ने उदाहरण हुन् ओखलढुंगाकी इन्दिरा निरौला । जो काठमाडौँमा पढ्ने र जीवनलाई व्यवस्थित बनाउने रहर बोकेर आउँदा सफल त हुन सकिनन् नै, आफूले प्रेम गरेर विवाह गरेका पति प्रहरी निरीक्षक हुँदा पनि न्याय नपाएपछि १० वर्षदेखि अदालत धाइरहेकी छन् ।
हो, सिन्धुली, दुधौली–४ का चन्द्रबहादुर थापा नेपाल प्रहरीमा बलशाली इन्स्पेक्टरका रुपमा क्रियाशील छन् । उनलाई प्रहरी प्रधान कार्यालय र उनका मुख्य आयुक्त आइजिपी उपेन्द्रकान्त अर्यालको पनि संरक्षण छ । त्यसैले अदालतले इन्दिराका पक्षमा फैसला गर्ने भयले अहिले पनि इन्दिरालाई धम्काउछन् यसो भन्दै, ‘आइजिपीकै छोराले त मान्छे मारेको आरोप लाग्दा केही कारबाही भएको छैन, तँ पनि गुन्डा भनेर इन्काउन्टरमा पर्लिस् ।’
सिन्धुपाल्चोकको मालदार कमाउचौकी मेलम्ची प्रहरी चौकीमा इन्स्पेक्टर छन् थापा । मखमली सपना बोकेर ओखलढुंगाबाट काठमाडौँ आएकी इन्दिरा र चन्द्रबहादुरको भेट एउटा प्रेसमा काम गर्दा भएको हो । बालाजी अधिकारीको प्रेसमा चन्द्रबहादुर म्यानेजर थिए भने इन्दिरा बजार अधिकृत भइन् । दुवैबीचको परिचय एकाएक बलात्कारमा परिणत भयो । इन्दिरा भन्छिन्, ‘एकदिन भाइको कोठामा लगेर जबर्जस्ती गरे र पछि विवाह गर्छु भनेर मनाए ।’
थापाले इन्दिरासँग ०६७ असारमा दक्षिणकालीमा विवाह गरेका थिए । उसो त ०६४ मा थापा नेपाल प्रहरीका इन्स्पेक्टर बने । विवाहको केही महिनापछि नै विवाहदर्ता गरौँ भनेपछि इन्दिराले कुटपिट बेहोर्नु परेको थियो । भनिन्, ‘कार दाइजो मागेका थिए, त्यही नपाएपछि मलाई पाखा लगाउन कुटपिट सुरु भयो ।’ उनी अहिले आफू असुरक्षित रहेको भन्दै काठमाडौँमा अधिकारकर्मी गुहार्न थालेको १० वर्ष भयो । थापा भने अर्कै विवाह गरेर मेलम्चीमा बसिरहेका छन् । अदालतमा दायर भएका मुद्दामा शक्तिको दुरुपयोग गरेर पेसी सार्ने, अदालतको एउटा बेन्चबाट भएको निर्देशन भन्दा अर्को बेन्च प्रयोग गरेर पीडितलाई थप पीडा दिनेमात्र होइन, अहिले त अदालत परिसरमै ‘इन्काउन्टर’सम्मको चेतावनी आएको इन्दिराले सुनाइन् ।
प्रधानमन्त्रीको कार्यालयदेखि महिला तथा बालबालिका मन्त्रालय, मिडिया हुँदै नेपाल प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकसम्म इन्दिराले पति चन्द्रबहादुर थापाबाट अंश पाउँ, विवाह कायम गराइपाउँ भन्दै मुद्दा दिएकी छन् । प्रधानमन्त्री सुशील कोइरालालेसमेत आइजिपी उपेन्द्रकान्त अर्याललाई भन्दा अदालतमा गएको मुद्दामा म केही गर्न सक्दिनँ भन्दै पन्छिएपछि पतिले नै इन्काउन्टरमा पारुँला नभन्ने कुरै भएन ।
सोमबार हुँदैछ फैसला
इन्स्पेक्टर चन्द्रबहादुर थापाले दाइजो नपाएपछि कुटपिट गर्दै घरनिकाला गरेर अर्को विवाह गरेपछि अदालत पुगेकी इन्दिराको मुद्दामा सोमबार फैसला हुँदैछ । उनी यसपटक न्याय पाउनेमा निकै आसावादी छिन् । पहिला सिन्धुपाल्चोक प्रहरीमा मुद्दा दर्ता जाँदा डिएसपी दीपक खरेलले हेडक्वार्टरको आदेश लिएर आइजो भन्दै अपमान गरे पनि यसपटक उनीले सबैतिरबाट सान्त्वना पाएकी छन् । ‘सोमबार न्याय पाउने आसा जागेको छ,’ इन्दिराले भनिन् ।
गाविस सचिवलाई पनि मुद्दा
इन्दिराले मेलम्ची गाविसका सचिव कृष्णबहादुर ज्ञवालीलाई पनि विपक्षी बनाएर मुद्दा दायर गरेकी छन् । इन्स्पेक्टर थापाको दबाबमा परेर ज्ञवालीले फरक मिति पारेर चन्द्रबहादुरको विवाह दर्ता गराएर इन्दिराको मुद्दा कमजोर पार्न प्रयास गरेको भन्दै उनीविरुद्ध पनि मुद्दा दायर गरेकी हुन् ।
इन्दिराले सिन्धुली जिल्ला अदालतमा दायर गरेको घरेलु हिंसाको मुद्दामा आदेश भएर पत्राचार भए पनि थापाले अटेर गर्दै आएका छन् । सर्वोच्च अदालतमा बहुविवाहको मुद्दामा सोमबार फैसला हुँदैछ । ९ भदौमा सर्वोच्चले सबै कागजात झिकाएर अध्ययन गरेपछि यसपटक थापाले अदालतलाई ढाँट्न नसक्ने विश्वास इन्दिराको छ ।
अदालतमै बदमासी
१० वर्षसम्म विभिन्न अदालत धाएकी इन्दिरा भन्छिन्, ‘अदालतका केही कर्मचारी बदमास भइदिँदा रहेछन् ।’ उनले चन्द्रबहादुर थापालाई सहयोग गरेर कागजात कमजोर पार्ने प्रमाण खोज्न केही फाँटवालाले पनि सहयोग गरेर आफूमाथि अन्याय गरेको बताइन् । यसपटक भने उनी निकै आसावादी छिन् ।
फरक मिति राखेर विवाह दर्ताको कागजात पेस गरी अदालतलाई ढाँटेको भन्दै थापालाई अनुसन्धानमा ल्याउन अख्तियार पनि पुगेकी इन्दिरा भन्छिन्, ‘अख्तियारले पत्राचार गरेको ग¥यै छ, तर प्रहरी प्रधानकार्यालयले थापालाई झिकाउनै चाहेन ।’ उसो त पत्रिकामा सूचना नै जारी भएपछि थापा, पत्नी, शाखासन्तान अदालत आएको पनि पहिलो पटक हो । त्यही क्रममा उनले अदालत परिसरमै आइजीकै छोराले ज्यान मार्दा केही भएको छैन, इन्काउन्टरमा पर्लिस्, गुण्डा पठाएर गोली चलाउन पनि सक्छु भन्दै धम्काएका हुन् ।
०७१ माघमा भएको उत्प्रेषण आदेश कार्यान्वयन नहुँदै थापाले चाल चलेर अर्को आदेश गराउन सफल भएपछि इन्दिरा अन्यायमा परेकी हन् । १० वर्ष अदालत धाएकी इन्दिरा न्यायाधीसको फैसला सुनेर अदालत परिसरमै बेहोस भएका समाचार पनि आएका थिए । यसपटक इन्दिरा अदालतमा बेहोस हुन नपर्ला कि भन्ने आसामा छिन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी