
उपत्यकालाई अपराधमुक्त बनाएर शान्तिसुरक्षा कायम राख्न महानगरीय प्रहरी अपराध महाशाखा लागिपरेको छ । गुण्डागर्दी शुन्यमा झार्ने अभियानमा महाशाखा जुटेको छ । अभियान अन्तर्गत गतवर्ष राजधानीका डन दिनेश अधिकारी ‘चरी’ र दुई साताअघि कुमार श्रेष्ठ ‘घैँटे’ प्रहरी मुठभेडमा मारिए । अन्य डन सुरक्षित स्थलको खोजीमा छन् भने कोही विदेश पलायन भइसकेका छन् ।
तर, व्यापारीको भेषमा ललितपुरमा भित्रभित्रै संगठितरुपमा गुण्डागर्दी गर्दै आएका वीरेन्द्र महर्जन अहिले प्रहरीकै नाम भजाएर क्यासिनोमा समेत गुण्डागर्दी गर्न थालेका छन् । पूर्वराजाका ज्वाइँ राजबहादुर सिंहको आडमा महर्जनले मिटरब्याज र गुण्डागर्दीको संगठन चलाउन थालेको पोल विस्तारै खुल्दैछ ।
स्रोतका अनुसार राजबहादुरलाई केटी दलाली गरेको अभियोगमा पटकपटक पूर्वयुवराज पारस शाहले महर्जनलाई गाली गर्दै रामधुलाईसमेत गरेका थिए । तर, पारश विदेशमा रमाउन थालेपछि महर्जन पुनः राजबहादुरसँग नजिकिएका थिए । दुईवर्षअघि ललितपुर प्रहरीले महर्जनलाई दुई पेस्तोलसहित पक्राउ गरेको थियो ।
तर ३० लाख खर्च गरेर महर्जन ६ महिनामा जेलमुक्त भएका थिए । महर्जनले पछिल्लो समय राजबहादुरले सञ्चालन गरेको रोयल क्यासिनोमा गुण्डागर्दी गर्न थालेपछि प्रहरीले उनलाई निगरानीमा राखेको छ । क्यासिनो बिक्री गर्ने भन्दै राजबहादुरले आधादर्जन व्यपारीसँग करोडौँ रुपैयाँ ठगी गरिसकेका छन् । पछिल्लोपटक ठगिएका भारतीय व्यापारी आशीष पटेललाई राजबहादुरको नाममा महर्जनले धम्क्याउन थालेपछि क्यासिनोको झगडामा प्रहरीले भित्रभित्रै अनुसन्धान थालेको बताइएको छ । पटेललाई तत्काल नेपाल छाड्न भन्दै महर्जनको समूहले दबाब दिँदै आएको छ ।
क्यासिनो बेच्न पटेलसँग ८ करोड असुलेका राजबहादुरले सोही क्यासिनो सुरेन्द्र सिंहलाई पनि बेच्न खोजेका छन् । तर, होटल मालिक राधेश्याम सर्राफले ३२ करोड भाडा नतिरेको भन्दै रोयल क्यासिनोसँग सम्झौता भंग गरिसकेका छन् । ठूलो आर्थिक चलखेल गरी राजबहादुरको समूहले होटल मालिक सर्राफलाई पुनः रोयल सञ्चालन गर्न महर्जनमार्फत दबाब दिन थालेका छन् । महर्जनले प्रहरीका उच्च अधिकारीसँग आफ्नो राम्रो सम्बन्ध रहेको धाक देखाउदै बन्द भएको क्यासिनोमा गुण्डागर्दी गरेपछि प्रहरीले उनका क्रियाकलापमाथि निगरानी बढाएको छ । – युनाइटेड पोस्ट साप्ताहिकबाट ।