
सामान्य प्रशानमन्त्री लालबाबु पण्डितले देश निर्माणका लागि नयाँ ‘एजेन्डा भए आफूसमक्ष ल्याउन विद्यार्थीलाई आग्रह गरेका छन् । मोर्डन कन्या कलेज को वार्षिकोत्सवको अवसरमा आयोजित ‘असल पुस्ता निर्माण हाम्रो अभियान’ विषयको अन्तरक्रियामा उनले विद्यार्थीलाई आफ्नो ‘मोबाइल नम्बर’ टिपाउँदै भने ‘अब देशको सार्वभौमिकता युवा र विद्यार्थीले रक्षा गर्नुपर्छ ।
यसका लागि साम्प्रदायिकताभन्दा माथि उठ्नुपर्छ । समग्र क्षेत्रको सुधारसँगै विकास निर्माणको प्रस्ताव लिएर आउनुहोस् । म हरेक पाइलामा तपाइँहरुलाई साथ दिन तयार छु ।’ मन्त्री पण्डितले शिक्षा क्षेत्रको सुधारका लागि यस क्षेत्रका डिभी, पिआर लिएकालाई पनि कारबाहीको प्रक्रिया अघि बढेको बताउँदै भने, ‘त्रिविमा मात्र दिनको छ÷सातवटासम्म डिभी, पिआर लिनेको राजीनामा आउने गरेका छन् ।’
उनले सरकारी विद्यालयको प्रधानाध्यापक निजी विद्यालयको पनि प्रधानाध्यापक रहने परिपाटी अन्त्य नभएसम्म शिक्षामा गुणस्तरीयताको विकास नहुने बताए । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले नेपाल दक्षिण एसियामै वर्षभरिमा कम दिन पठनपाठन हुने देश भएकाले यसमा सुधार नभएसम्म शिक्षा क्षेत्रका अन्य सुधार गौण हुने बताए । कानुनविद् काशीराज दाहालले सूचना प्रविधिमा अघि बढे पनि विद्यार्थीमा नैतिक शिक्षाको कमी देखिएकाले सदाचार निर्माण गर्ने खालको शिक्षा अबको आवश्यकता भएको औँल्याए । ‘मिस नेपाल’ सुविन लिम्बूले विद्यालय देशभर निर्माण भए पनि गुणस्तरीयतामा सुधार देखानपरेको बताए ।