
जामा लाउँदा छोटो भयो, सारी लाउँदा सुहाएन
उखरमाउलो बैँस छोप्ने चिजै भएन
जवानीले पा¥यो नि पिरलो
चोरी खान पल्केको यो ढाडे बिरालो ।’
श्रीदेवी देवकोटा र प्रकाश कटुवालले गाएको अनि गायिका ज्योति मगरको अभिनय रहेको यो गीतले चर्चाभन्दा बढी आलोचना खेपेको छ । आरोप छ, ‘नकारात्मक सन्देश र अश्लीलता फैलाएको छ ।’
गीतको भिडियो परिवारसँगै बसेर हेर्न नमिल्ने धेरैको टिप्पणी छ । तीजको मौका छोपी आएको यो गीत युट्यूबमा एघार लाख ६५ हजारले हेरिसके । नेपाली मौलिक संस्कृतिको पर्व तीजमा गाइने गीतको बेग्लै विशेषता छ । तर आधुनिक समयमा यो गीतसङ्गीतको संस्कृति विस्तारै विकृत भन्दै गएको भन्दै यसका पारखीले विकृति रोक्नुपर्ने सुझाव दिएका छन् ।
दर खाने र गीत गाउने संस्कृति गाउँभन्दा बढी सहरमा ह्वात्तै बढेको छ । ‘भिनाजु पल्केर’, ‘घुमर जुलफी’, ‘कन्याइदेउ न बाई’ ‘ढाडे बिरालो’, ‘कोइका ब्वाइफ्रेन्ड कोइका पोइ’, जस्ता बजारमा आएका गीतले आलोचना पछ्याउने गरेका छन् । स्थापित हुने धोको बोकेका नयाँ गायक समयको माग भन्दै यस्ता गीत बजारमा ल्याउन ताउरमाउर गर्छन् । खासमा नारीले हर्ष र विस्मात गीतको माध्यमबाट अभिव्यक्त गर्ने तीज नेपालीको मौलिक संस्कृति हो ।
व्यावसायिकता र अत्याधुनिक सूचना प्रविधिको सहज प्रयोग गरेर गीतसङ्गीतको मनोरञ्जन लिने दिने क्रमसँगै मौलिक परम्परालाई बङ्ग्याउने प्रवृत्ति मौलाएको छ र तीजका नाउँमा आउने अचेलका गीतलाई प्रीतिकर मान्ने भन्दा प्रश्न उठाउने बढी देखिएका छन् । कन्यादान चलचित्रको ‘तीजको रहर आयो बरिलै’ गीत तीजको मौसममा ‘ब्रान्ड’ बनेको छ । यसको बजार र प्रचार सर्वाधिक छ । तीजका गीत सासू–बुहारी, नन्द–आमाजू, श्रीमान्–श्रीमतीको सम्बन्ध, रोचक घटना, वीरताजस्ता अनेकौँ विषयलाई केन्द्रमा राखेर गीत सिर्जना गरिन्थ्यो । सुखका श्वास र दुःखका उच्छवास गीतमा गुन्जन्थे ।
नारीको पर्वमा पुरुष गायकको प्रवेशसँगै रत्यौली भित्रिएको र अश्लीलताको खेती बढेको आरोपलाई अस्वीकार गर्न नसकिने भनाइ यस क्षेत्रमा क्रियाशील व्यक्तिहरुको छ । तीजका ३३ गीतिसङ्ग्रह प्रकाशन गरेकी लोक गायिका हरिदेवी कोइराला तीजमा आएका पछिल्ला गीत नाम मात्रका भएको बताउँछिन् । उनका भनाइमा ती न त गीत हुन् न त तीजि गीतका मर्म र संस्कृति नै छन् ।
पुरुषले तीज गीत गाएकामा असहमति जनाउँदै गायिका कोइराला गीतको भिडियो परिवारमा बसेर हेर्नै नसकिने खालका भएको बताउँछिन् । गायिका कोइराला भन्छिन्, ‘गीतमा घटनाप्रधान र महिला सशक्तीकरणका आवाज छैनन्, यसले परम्परा जोगाउने हो कि मार्ने सोच्नुपर्छ, विकृतिजन्य गीत रोक्न सञ्चारमाध्यम र युट्युबमा रोक लगाउनुपर्छ ।’
अचेल प्रेम–पिरतीका विषयमा मात्र हैन मोबाइल संस्कृति, वैदेशिक रोजगारी, राजनीतिक अस्थिरता, सामाजिक विकृति र शिवजीको नाममा छाडा गीत आएका छन् । पुरुषले गाएका सन्देशमूलक तीज गीतलाई भने उनी जायज मान्छिन् । उनले ‘सानु हो’, ‘भैँचालो’, ‘गैह्री धरर’ र ‘देउरानी जेठानी’ गीतिसङ्ग्रह प्रकाशन गरेकी छन् ।
लोक गायक पुरुषोत्तम न्यौपाने तीजका गीतमा नयाँ प्रयोग भइरहेको स्वीकार गर्दै नयाँ प्रयोग गर्दा संस्कृति बिग्रन्छ कि बिग्रँदैन भन्ने ख्याल गर्न आग्रह गर्छन् । महादेव पति पाउँ भनी तीज सुरु भएकाले त्यही संस्कृतिको मौलिकपनालाई नखलबल्याई अघि बढ्ने तर संस्कृति विकृत भए सरकारी निकायले नै रोक लगाउनुपर्ने उनको विचार छ । गायक न्यौपाने भन्छन्, ‘हामीले विकृति रोक्न पहल गरेका छौँ । निषेध नै गर्न सकिँदैन । भिडियोमा परम्परागत लुगा नलगाई हास्य कलाकारलाई खेलाउनु गलत भयो ।’
गायक पशुपति शर्माले गाएका धेरैजसो गीत राम्रा छन् तर सोह्रै आना भने ठीक नभएको गायक न्यौपानेको टिप्पणी छ । शर्माले पछिल्ला पाँच वर्षदेखि नियमित तीजि गीत बजारमा ल्याएका छन् । यही वर्ष शर्माका ‘भुइँचालो’ पछि ‘सातो फुक झाँक्री बा’, ‘पानी पूरी’, ‘माया भुल्ने के होला दबाई’ जस्ता पाँच गीत आइसके । ‘सातो फुक झाँक्री बा’ करिब तीन लाख र ‘पानी पुरी’ छ लाख ५५ हजारले हेरिसकेका छन् ।
गायक शर्मा गीतमा आएको परिवर्तन स्वाभाविक मान्दै वर्षभरि भएका घटनालाई विषयवस्तु बनाएको दाबी गर्छन् । गायक शर्मा भन्छन्, ‘मैले गाएका सबै गीत ठीक छन् भन्ने दाबी गर्दिनँ । सानो हुँदा आमाले गाएका गीतको प्रभावमै गायनलाई निरन्तरता दिएको हुँ । विकृति भित्रियो र सस्तो लोकप्रियता कमाउन खोजियो भन्ने मैले पनि सुनेको छु ।’
कतिपय गायकगायिका नकारात्मक गीत तथा सङ्गीत प्रवाहप्रतिको प्रतिक्रियामा ‘भिरबाट लड्न लागेको गोरुलाई राम राम भन्न सकिन्छ, काँध नै हाल्न सकिँदैन’ भन्छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका महासचिव रमेश बिजी माइती, चेली र मौलिक परम्परासँग प्रत्यक्ष सरोकार राख्ने तीजका गीतको विषय भएको बताउँदै प्यारोडी र मायाप्रीतिलाई घुसाएर संस्कृति बिर्सिएको टिप्पणी गर्छन् ।
तीज गीतमा लोग्ने मान्छेको प्रवेशपछि रत्यौली छिरेको र माया प्रेमको घुसपैठ भएको टिप्प्णी उनको छ । छिट्टै चर्चामा आउन भीडमा बदनाम नै भए पनि आफ्नो नाम चम्काउन गलत नियतका मान्छेले तीजको गीतको सहारा लिएको महासचिव बिजी बताउन्छन् । ‘गलत प्रवृत्ति भित्र्याउनेलाई कारबाही गरिनुपर्छ, तर त्यस्ता निकाय नभएकाले चलचित्र विकास बोर्ड जस्तै सङ्गीत विकास कोष गठन गरिनुपर्छ,’ महासचिव बिजी भन्छन् ।
म्युजिक नेपालका प्रबन्ध निर्देशक उत्तम थापाका अनुसार यो वर्ष तीन सय गीत युट्यूबमा अपलोड गरिएको छ र यो अझै बढ्छ । उनी अहिले तडकभडक, रोमान्टिक, हास्यखालका गीत बढी भएको ठान्छन् । ‘ढाडे बिरालो’ जस्ता गीत सच्याउन जरुरी भएको उल्लेख गर्दै उनी चलचित्र विकास बोर्डको निगरानीमा मात्रै युट्युबमा राख्नुपर्ने सुझाव दिन्छन् ।
बजारले नै त्यस्ता गीत मागेको र पाँच–सात वर्षयता गीतमा परिवर्तन आएको उनी स्वीकार्छन् । आफ्नैँ भिडियो बनाउन र अपलोड गरिदिन आग्रह गर्ने क्रम पछिल्ला दिन बढेको छ । लोकगायिका कोमल ओली अहिलेका गीत तीजि संस्कृतिभन्दा बाहिर गएर शब्द, लय, प्रस्तुतिकरण र छायाङ्कन भइरहेको बताउँछिन् । उनको भनाइ छ, ‘पुरुषले एक दशकदेखि नै गाउन थाले पनि उनीहरुको सहभागितालाई पूरै नकारात्मक भन्न मिल्दैन किनकि तीज श्रीमानसँग पनि सम्बन्धित छ । श्रीमानको चाकडी गर्ने खालको गीत ठीक होइन ।’ पहिले ‘पोइल जान पाम’, ‘शिवजी स्वामी जुराइदेउ’ जस्ता गीत गाएकी ओलीको यस वर्ष ‘दुःखको दिन आउने भए टारेर टर्दैन’ भन्ने गीति सङ्ग्रह बाहिर आएको छ ।
शताब्दी पुरुष सत्यमोहन जोशी तीज नेपाली महिलाको शक्ति र सङ्कल्पको चाड भएको बताउँछन् । जोशी भन्छन्, ‘पतिव्रता पत्नीले निराहार व्रत बसेर नाचगान गर्नु मेरो पतिव्रता धर्ममा एक इन्च पनि तलमाथि हुन दिन्न भन्ने सङ्कल्प हो । यति शालीन पतिव्रता हाम्रोबाहेक अरु समाजमा पाइँदैन । महिलाको स्वतन्त्रता र सङ्कल्पको पर्व हो । यसलाई विकृत बनाइनु हुन्न ।’ तीजको इतिहास ठोस नभए पनि धार्मिक र सांस्कृतिक पर्वका रुपमा पौराणिक धर्मग्रन्थमा सामान्य रुपमा उल्लेख भएको पर्वका रुपमा उनी अथ्र्याउँछन् ।
मन्त्रिपरिषद् कार्यालयको हेलो सरकारमा ‘ढाडे बिरालो’बारे धेरै गुनासो आएको छ । त्यसमा सेन्सर गराउन म्युजिक नेपालको निवेदन परेको छ । श्रव्य दृश्य चक्का बिक्न छाडेपछि नाम र दाम कमाउने लालसाले नयाँ पुराना गायकगायिकामा समाजले नपचाउने शब्द राखेर गीत निकाल्ने प्रवृत्ति मौलाएको बताउँछन् रङ्गपत्रकार एवम् शब्द सङ्कलक सूर्यकुमार क्षेत्री ।
चलचित्र, विज्ञापन र वृत्तचित्र सेन्सर हुन्छ । तर गीत–सङ्गीतको सेन्सर हुँदैन । केन्द्रीय चलचित्र जाँच समितिले अन्य विषयको सुक्ष्म अध्ययन गर्ने भए पनि ‘गीत’ विषयमा कुनै पनि प्रष्ट व्यवस्था गरेको छैन । समितिले म्युजिक भिडियो निर्देशक तथा निर्मातालाई बोलाएर सेन्सर गराउने प्रक्रिया अगाडि बढाउन सक्छ भन्ने कुरा बेलाबखत उठाइए पनि कार्यान्वयनमा आउन सकेको छैन ।
रमेश लम्साल/दीपेन्द्र सापकोटा/रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्