
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् गगन थापा मिडिया सेलिब्रेटी नै हुन् । नेपाल विद्यार्थी संघको महामन्त्री भएपछि चर्चामा आएका थापा अध्यक्ष बन्न नदिइएपछि काँग्रेसी राजनीतिमा आए । उनी केन्द्रीय सदस्यमा लोकप्रिय मत ल्याएर विजयी मात्र भएनन्, संविधानसभाको निर्वाचनमा पनि लोकप्रिय मत ल्याएर विजित रहे ।
यतिखेर प्रहरीले इन्काउन्टरमा मारेका कुमार श्रेष्ठ ‘घैँटे’का पक्षमा देखिएको भन्दै थापाको आलोचना भएको छ । सामाजिक सञ्जालमा उनकै उस्तै आलोचना भएको छ । तर उनी कति पनि विचलित छैनन् । आफ्ना नाम डनसँग जोडिएर आएकामा उनी आत्तिएका छैनन् । मानवअधिकार आयोगसम्म पुगेका उनी भन्छन्, ‘अरु सभासद् पनि आउँछु भने, म गएँ, उनीहरु आएनन् ।’
हिमालय टेलिभिजनको प्राइम स्टोरीमा डन कुमार घैँटेसँग जोडिएका काँग्रेस नेता गगन थापाले भनेका छन्, ‘कुमार घैँटेजस्ता त नेपाली काँग्रेस महासमितिमा दर्जनौँ छन् ।’
महामन्त्रीको उम्मेदवार
गगन थापा नेपाली काँग्रेसमा चानचुने नेता होइनन् अब । काँग्रेसको आसन्न १३ औँ महाधिवेशनमा उनी महामन्त्रीको लबिङमा छन् । धेरै सिनियर नेतालाई उछिन्दै उनी यसपटक शेरबहादुर देउवाको क्याम्पबाट महामन्त्रीको उम्मेदवार बन्ने बलियो सम्भावना बनेको छ ।
शेरबहादुर देउवालाई पार्टी सभापति बन्न गगन थापाको सहयोग अपरिहार्य भइसकेको खबर काँग्रेसमा लुकेको छैन । सभापति जितेरै छाड्ने मनस्थितिमा रहेका देउवाले यसबारे केही नबोले पनि उनलाई महामन्त्री बनाउन उनकै वरिष्ठ नेताहरुले दबाब दिइसकेका छन् ।
तीनसय महाधिवेशन प्रतिनिधि गगनको मात्रै
नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा २ हजार ४ सय प्रतिनिधि सहभागी हुँदैछन् । ती मध्ये ८ सय सभापति सुशील कोइरालाका र ८ सय वरिष्ठ नेता शेरबहादुर देउवाका ‘फिक्स्ड’ छन् । उसो त चारसय प्रतिनिधि तराई मधेसका छन् ।
भारतले यिनै चारसयलाई ‘दायाँबायाँ’ नचाएर कोइराला या देउवालाई सभापति बनाउन लबिङ गर्ने छन् । रमाइलो त के छ भने नेविसंघको अध्यक्ष नपाएपछि काँग्रेसी राजनीतिमा होमिएका गगन थापा आज काँग्रेसका लोकप्रिय नेता, सभासद्मात्रै छैनन्, २ हजार ४ सय महाधिवेशन प्रतिनिधिमा तीनसय त गगन थापालाई जुन पदमा उठेपनि भोट हाल्ने भनेर तयार रहेको सूचना सभापति कोइराला र वरिष्ठ नेता देउवासँग छ । त्यसै गगन थापा महामन्त्रीको उम्मेदवार बनेका कहाँ हुन् र ?
गगन थापाकै भाषामा काँग्रेस महासमितिमा दर्जनौँ कुमार घैँटे स्वभावका छन् । महाधिवेशनमा तीनसय उनका निजी मतदाता छन् । काँग्रेसमा गगन कस्तो राजनीतिक संस्कार बसाउँछन्, भविष्यले बताउला, तर उनी काँग्रेसमा सामान्य केन्द्रीय सदस्य, सभासद्, मिडिया सेलिब्रेटीमात्र चैँ पक्कै होइनन् । उनको ब्रान्डिङमा ठूलै समूह लागेको लुकेको छैन ।