
राजविराज: सिमाङ्कनको विरोधमा आन्दोलनरत मधेसी मोर्चाको एक समूहले विहीबार सप्तरीका दुई कार्यालयमा आगजनी गरेका छन् । सदरमुकाम राजविराज ८ स्थित जिल्ला शिक्षा कार्यालय र राजविराज ५ स्थित जिल्ला भू–संरक्षण कार्यालयमा बन्दकर्ताहरुले आगजनी गरेका हुन् ।
बन्दकर्ताहरुले जिल्ला शिक्षा कार्यालय परिसरमा पार्किङ्ग गरी राखिएको जिल्ला शिक्षा कार्यालयको बा. १ झ ४७६१ नम्बरको बोलेरो जीपमा आगो लगाएका छन् भने भू–संरक्षण कार्यालयको बोर्ड, सूचना पाटी र आगन्तुक बस्ने बेञ्चमा आगजनी गरेर नष्ट गरेका छन् ।
आगजनीले बोलेरो जीप पूर्ण रुपमा जलेर खरानी भएको छ । आधा घण्टापछि पुगेको राजविराज नगरपालिकाको बारुणयन्त्रले आगो नियन्त्रणमा लिएको छ । यसैगरी बन्दकर्ताहरुले गरेको आगजनीका कारण जिल्ला भू–संरक्षण कार्यालयको बोर्ड र फर्निचर क्षतिग्रस्त भएको कार्यालयले जनाएको छ ।
यस्तै बन्दको अवज्ञा गरेको भन्दै विहीबार विहान पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कल्याणपुरमा प्रदर्शनकारीहरुले दर्जनौ सवारी साधनमा तोडफोड गरेका छन् ।
पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कल्याणपुर, कञ्चनपुर, भारदह, कोशी ब्यारेज सडक खण्डमा प्रहरीको स्कर्टिङमा रहेका सय भन्दा बढी सवारी साधनमा तोडफोड भएको हो । सवारी साधनमा प्रहार गरेको ढुङ्गामुढाले दुई किलोमिटर सम्मको सडकभरी ढुङ्गा र सिसाका टुक्राहरुले ढाकिएको छ ।
ढुंगामुढाबाट महालक्ष्मी डिलक्स् रात्री बसमा ठूलो क्षति भएको छ । मध्यरातमा प्रहरीले स्कर्टिङमा लैजाँदै गरेका रात्रीबस तथा मालबाहक ट्रकमा लुकेर बसेका प्रदर्शनकारीहरुले ढुङ्गा तथा खाली बियरका बोतलहरुले प्रहार गरेका थिए ।
ढुंगा प्रहारबाट सयौँ सवारी साधनको सिसा फुट्नुका साथै कतिपय यात्री तथा चालकलाई गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । सवारी साधनको स्कटिङ् गर्न राती प्रहरीले खाली गराएको लोकमार्गमा बिहानैदेखि पुनः ढुंगामुढा राखेर अवरोध गरिएको छ । लगातार २० दिनदेखिको बन्दका कारण सप्तरीको जनजीवन अस्तव्यस्त बनेको छ ।