
ओडिसाको कटनस्थित ‘सरदार बल्लभभाइ पटेल पोस्ट ग्रयाजुएट इन्स्टिच्युट अफ पेडियाट्रिक्स’मा सात दिनमा ३५ नवजात शिशुको मृत्यु भएपछि पूरै राज्यमा खलबली मच्चिएको छ । ‘शिशु भवन’ नामबाट चर्चित पूर्वी भारतको मुख्य बाल अस्पतालमा बुधबार रातिदेखि बिहीबार साँझसम्ममा पाँचजना शिशुको मृत्यु भइसकेको छ । बच्चा मर्ने सिलसिला अघिल्लो बिहीबारबाट सुरु भएको थियो ।
एकैपटक यति धेरै शिशुको मृत्युको कारण खोज्न राज्य सरकारले निर्देशक, मेडिकल एजुकेसन एन्ड ट्रेनिङ (डिएमइटी) विकासचन्द्र महापात्राको नेतृत्वमा जाँच समिति गठन गरेको छ । समिति अहिले अस्पतालमा छ, तैपनि नवजात मर्ने सिलसिला रोकिएको छैन । पीडित परिवारले उपचारमा रहेका चिकित्सक र अस्पतालका अन्य कर्मचारीहरूको लापरबाहीका कारण बच्चाहरू मरिरहेको आरोप लगाएका छन् । केही अभिभावकले मंगलबाग थानामा एफआइआर दर्तासमेत गरिसकेका छन् ।
एक सय रुपैयाँ घुस
बच्चा गुमाएकी एकजना आमाले एक सय रुपैयाँ घुस नदिएका कारण नर्सले आफ्नो बच्चाको नाकमा राखिएको अक्सिजनको नली निकालेको दाबी गरेकी छिन् । अस्पतालका अधिकारीहरूले उनको आरोपलाई गम्भीरताका साथ लिएको र त्यसबारे जाँच भइरहेको बताएका छन् । तथापि, शिशु भवनका अधिकारी र चिकित्सकहरूले लापरबाहीको आरोपको खण्डन गरेका छन् । ‘वास्तविकता के हो भने यहाँ गम्भीर अवस्थाका शिशुलाई मात्र ल्याइन्छ ।
हामी आफ्नोतर्फबाट उनीहरूलाई बचाउने पूर्ण कोसिस गर्छौर्ँ । यसका बाबजुद केही शिशुको मृत्यु हुन्छ,’ अस्पतालका अध्यक्ष डा. निरञ्जन महान्तीले भने । तर, बच्चा गुमाउने अभिभावकहरू डा. महान्तीको कुरा मान्न तयार छैनन् । ‘हो, बच्चाहरूको अवस्था गम्भीर भएपछि यहाँ ल्याइन्छ । तर, यदि चिकित्सकहरू केही गर्न सक्दैन भने पूर्वी भारतमै सबैभन्दा राम्रो अस्पताल भनेर किन दाबी गर्ने ?’ मंगलबार बच्चा गुमाउने जाजपुरका एक व्यक्ति आक्रोश पोख्छन् । – स्वास्थ्य खबर