
काठमाडौं १० भदौ। सर्लाही पत्थरकोटकी १८ वर्षीया किशोरी सोनिया श्रेष्ठ काठमाडौको गौशालास्थित होटलमा मृत फेला परिन् । होटल गौशालाको रुम नम्बर ११८ मा मृत अवस्थामा भेटिएकी सोनियाको साथ कोही थिएन । दुई दिनअघिदेखि सोनियासँग होटलमा रहँदै आएका युवक भने होटलबाट फरार भइरहेका थिए । होटल सञ्चालकलाई शंका लाग्यो, किशोरीको हत्या त्यही युवकबाट भयो ।
होटलमा बस्ने युवकको नाम, ठेगाना र फोन नम्बर दर्ता थियो । होटल मालिकले तत्काल गौशाला प्रहरीलाई खबर गरे । खबर लगत्तै प्रहरी होटलमा पुग्यो । होटलमा दर्ता भएको मोबाइलमा डायल गर्यो । तर सम्बन्धित युवक फेला परेन । तर, साँझ अभियुक्तलाई पक्राउ गर्न प्रहरी सफल भयो । ‘न त होटलमा दर्ता भएको युवकको मोबाइल नम्बर सहि थियो न त नाम’ गौशाला प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक सुरेन्द्र मैनालीले भने-‘तर अरुलाई प्रयोग गरेर फोन गर्न लगाई केएमसी हस्पिटल नजिकबाट पक्राउ गर्न सफल भयौं ।’
होटलमा दर्ता गरेको नाम र सम्पर्क नम्बर नै गलत लेखाएपछि प्रहरीले अभियुक्तलाई केरकार गर्न गाह्रो परेन । प्रहरीले घटना लगत्तै पक्राउ गरेका सर्लाही पत्थरकोटकै युवक अभिनाश थिङले किशोरीको हत्या गरेको स्वीकार गरे । थिङका अनुसार उनी र सोनियाबीच तीन वर्षअघिदेखि नै प्रेम सम्वन्ध थियो । तर, अभिनाश विवाहित युवक हुन् । उनी दुई महिनाकी छोरी र ४ वर्षका छोरा श्रीमतीको साथमा पत्थरकोटमै बस्दै आएका थिए ।
थिङले सोनियालाई १५ वर्षकै कलिलो उमेरमा मायाजालमा पारेको प्रहरीको प्रारम्भीक बयानबाट खुलेको छ । थिङले सोनियालाई विवाह गर्ने भन्दै फकाएर काठमाडौं ल्याएका रहेछन् । सर्लाही पत्थरकोटकी नौ कक्षामा पढ्दै गरेकी किशोरी प्रेमीसँगै काठमाडौ आएकी थिइन् । तर, अभियुक्त थिङले सोनियाको हत्या गर्ने योजना काठमाडौं आउनुअघि नै बनाएको हुन सक्ने प्रहरीको अनुमान छ । थिङ वैदेशिक रोजगारीमा जाने तयारीमा रहेको डिएसपी मैनालीले बताए ।
बिहीबार बिहान सर्लाही नै फर्किन नमानेपछि किशोरीको हत्या गरेको अभियुक्तको बयानमा खुलेको छ । बिहीबार विहान साढे ५ बजेतिर घर फर्किने भन्दा किशोरीले विवाह गरी पहिलाको श्रीमतीलाई छाडेर काठमाडौमा बस्न भनेपछि दुई जनाबीच झगडा भयो । त्यही बेला आवेगमा आएर किशोरीको हत्या गरेको थिङले प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीले थप अनुसन्धान भएरहेका बताएको छ ।