रम तथा रोजगार मन्त्रालयले कृषिमा पनि नेपाली कामदार इजरायल पठाउने विषयमा छलफल भइरहेको जनाएको छ । श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले कृषिमा पनि नेपाली कामदार विदेश पठाउने विषयमा छलफल भइरहेको सेतोपाटीलाई जानकारी दिए ।
‘इजरायल सरकारसँग हामीले कृषिमा पनि कामदार लैजान भनेका छौं’ मन्त्री गुरुङले भने ‘उताबाट पनि सकरात्मक जवाफ पाएका छौं ।’ मन्त्री गुरुङका अनुसार छिट्टै कृषिमा पनि इजरायल पठाउने संझौता हुदैँछ । कस्ता कामदार लैजाने भन्ने विषयमा मापदण्ड पनि पछि नै बन्ने उनले बताए ।
म्यानपावर कम्पनीहरुले इजरायल जाने कामदारसँग १० लाख भन्दा बढी रकम पठाउन थालेपछि इजरायली सरकारले नेपाली कामदार लैजान रोक लगाएको थियो । म्यानपावरबाट नभई सरकारले नै कामदार पठाउने भनेपछि इजरायल सरकारले गत शुक्रबार केयर गिभरमा नेपाली कामदार लैजाने विषयमा सम्झौता गरेको छ ।
कृषिमा पनि म्यानपावरले नभई सरकार आफैँले कामदार पठाउने मन्त्री गुरुङले बताए । कृषिमा काम गर्न जानेले बढीमा ८० हजार तिर्नुपर्ने उनले बताए । अहिले साना किसान बैंकसँग मिलेर इजरायल सरकारले कृषिमा तालिम दिनका लागि भन्दै नेपाली युवा लगिरहेको छ ।
१ वर्षका लागि सिप सिक्नका लागि नेपाली युवाहरु त्यता गइरहेका छन् । त्यहाँ गएर फिल्डमै काम गर्ने र एक दिन अध्ययनका लागि कलेज पनि जानुपर्ने हुन्छ । सिप सिक्न इजरायल पुगेका नेपाली युवा भाग्छन् कि भनेर साना किसान बैंकले घरजग्गा धरौटीमा राख्ने गरेको छ ।