
काठमाडौं : तरकारीमा हाल्न प्याज काट्दै हुनुहुन्छ भने आँखाबाट पक्कै पनि आँसु झर्दै होला । तर, पछिल्लो समय प्याजले पोलेर होइन बरु अकासिएको मूल्यका कारण गृहिणीको आँखाबाट आँसु झर्न थालेको छ । प्याजको बढ्दो मूल्यले अझै केही दिन उपभोक्ताको ढाड सेक्ने सरोकारवाला निकायले बताएका छन् ।
प्याजको मूल्यले अहिले सबै सीमा नाघेको छ । आमउपभोक्ताले अहिले कालीमाटी बजारबाट एक सय १० देखि एक सय २० रुपैयाँसम्ममा प्याज खरिद गर्दै आएका छन् । यस्तै खुद्रा व्यापारीले त्यही प्याज एक सय ५० रुपैयाँ प्रतिकिलो बिक्री गर्दै आएका छन् ।
सरकारका कारण प्याजमा परनिर्भर भएका नेपाली उपभोक्ता भारतबाट आयातित महँगो प्याज उपभोग गर्न बाध्य छन् । अढाइ साताअघिसम्म प्याजको बजार मूल्य ४० देखि ४५ रुपैयाँ प्रतिकिलो थियो । त्यसपछि ७० देखि ७५ रुपैयाँ हुँदै एक सय २० रुपैयाँ पुगेको हो ।
प्याजको मूल्य अझ केही दिन अस्थिर रहने ठूला व्यापारी बताउँछन् । व्यापारीका अनुसार पहिरो गएर तथा भुइँचालोका कारण बाटो अवरुद्ध हुँदा चीनबाट प्याज आउन नसकेर मूल्य अझै बढ्ने सम्भावना छ ।
कालीमाटी बजारका प्याजका थोक आयातकर्ता गिरिजापति गुप्ताका अनुसार भारतमै कम परिमाणमा प्याज उत्पादन भएको र उत्पादन भएको प्याजको मूल्य पनि अत्यधिक वृद्धि भएकाले त्यसको प्रत्यक्ष असर नेपाली बजारमा देखिएको हो ।
‘उत्पादन भएको नयाँ प्याज बजारमा नआउँदासम्म यसको मूल्य अझै बढ्ने सम्भावना छ’, गुप्ताले भने, ‘नयाँ उत्पादन भित्रिएपछि असोजको दोस्रो सातापछि मात्रै प्याजको मूल्यमा केही कमी आउँछ ।’ नेपाली बजारमा भारतका नासिक, कानपुर, इन्दौर, पुणे, गुजरात, कलकत्ता, लासौंला गाउँ, गुलियाजस्ता सहरबाट प्याज आयात हुन्छ ।
गुप्ताका अनुसार भारतमा अहिले प्रतिकिलो प्याजको मूल्य ५५ देखि ६० भारतीय रुपैयाँ छ । अढाइ साताअघिसम्म भारतीय बजारमा प्याजको मूल्य १८ देखि २० भारतीय रुपैयाँ थियो ।
नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार नेपालमा ९७ प्रतिशत भारतबाट र एक प्रतिशत चीनबाट प्याज आयात हुन्छ । मुलुकभर वार्षिक दुई अर्बभन्दा बढी मूल्यको प्याज आयात भए पनि सरकारले हालसम्म प्याजसम्बन्धी प्रभावकारी कार्यक्रम सञ्चालनमा ल्याउन सकेको छैन, जसको प्रत्यक्ष मार नेपाली उपभोक्तामा पर्ने गरेको छ ।
नेपाली उपभोक्ताले बर्सेनि असारको अन्तिम सातादेखि असोजको पहिलो सातासम्म प्याजको चर्को मूल्यवृद्धिको सामना गर्नुपर्ने बाध्यता छ । ‘स्वदेशमा उत्पादन नहुँदा भारतीय प्याजकै भरमा नेपाली बजार चलेको छ’, अध्यक्ष घिमिरेले भने, ‘जसका कारण भारतीय बजारमा तलमाथि हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि पर्छ ।’
घिमिरेका अनुसार तातोपानी नाका पूर्णरूपमा सञ्चालन नहुँदा चीनबाट प्याज आपूर्ति नहुँदा पनि उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने बाध्यता छ । ‘चीनबाट आयात गर्न सकेको भए प्याजको मूल्य ६० रुपैयाँ प्रतिकिलोसम्म हुन्थ्यो’, उनले भने ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डका उपनिर्देशक विनय श्रेष्ठका अनुसार उपत्यकामा दैनिक डेढ सय मेट्रिक टन प्याज आयात हुन्छ । त्यसमध्ये कालीमाटी बजारमा ७० मेट्रिक टनसम्म आयात हुन्छ ।
कालीमाटी बजारमा दैनिक ३० देखि ४५ लाख मूल्यबराबरको प्याजको कारोबार हुन्छ । ‘भारतमा मूल्यवृद्धि हुँंदा त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो’, उनले भने ।
कुपण्डोलकी शान्ति अधिकारीले एक्कासि बढेको प्याजको मूल्यले उपभोक्तालाई प्रत्यक्ष असर पारेको बताइन् । प्याजको मूल्य बढेर भान्साको बजेट नै थेग्न नसकिएको उनको गुनासो छ ।
छैन आयात विस्थापन कार्यक्रम
बाह्य मुलुकबाट बर्सेनि करोडौंको आयात हुने गरी पनि प्याजको आयात प्रतिस्थापन गर्न सरकारसँग कुनै कार्यक्रम छैन । कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाका अनुसार प्याजकै लागि भनेर अहिले कुनै पनि कार्यक्रम सञ्चालनमा ल्याइएको छैन । प्याजलाई धेरै दिनसम्म मौज्दात राख्न कोल्ड स्टोरेज स्थापना गर्नेबाहेक अन्य कार्यक्रम नभएको उनले जानकारी दिए ।
सरकारले आयात प्रतिस्थापन गर्न आर्थिक वर्ष २०६४/६५ मा सुरु गरेको अभियानमुखी प्याज (मिसन ओनियन) कार्यक्रम पनि २०७० साउनमा खारेज गरेको थियो । उक्त कार्यक्रममा लगानी बालुवामा पानीजस्तै बनेपछि खारेज गरिएको थियो ।
सरकारले प्याजको आयात प्रतिस्थापन गर्न तराईका विभिन्न १० जिल्लामा उक्त कार्यक्रम लागू गरेको थियो । कार्यक्रमको नाममा १७ करोडभन्दा बढी रकम खेर गएको थियो । यसैगरी सोही वर्षमा प्याज उत्पादन बढाउने नाममा भेन्टिलेटर र कोल्ड स्टोरेज निर्माणका लागि विनियोजित बजेट पनि फ्रिज भएको थियो ।
कोहलपुर, बुटवल र पथलैयामा बिजुलीरहित खुला स्थानमा भेन्टिलेटर स्थापना गर्न ५९ लाख रुपैयाँ छुट्याइएको थियो । यसैगरी कोल्डस्टोरेज निर्माण गर्न छुट्याइएको करिब १२ करोड रुपैयाँ पनि फ्रिज भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्