
अघिल्लो बर्षको तुलनामा रुद्राक्षको मुल्यमा गिरावट आएको छ । केही बर्ष अघिसम्म भारतका व्यपारीहरुले ठुलामुख भएका रुद्राक्षको मात्र माग गर्ने गरेको थियो तर तीन बर्ष यता देखि चीनियाँ व्यपारीहरुले चार, पाँच र छ मुखे रुद्राक्ष समेत माग गर्न थाले पछि किसानहरुले आम्दानी लिन थालेका छन् ।
बारीमा खेर जाने रुद्राक्ष बिक्री गरेर एकै परिवारले एक बर्षमा एक करोड १० लाख सम्मको बिक्री गरेको छ । रुद्राक्ष कारोवारको समय भदौ देखि मंसिरसम्म होटलले राम्रो आम्दानी हुने गरेको रिदम रेष्टुरेष्टका सञ्चालक चिरन राईले बताए ।
किसानहरुले घर खर्च टार्नकै लागि भए पनि नयाँ रुद्राक्ष बजारमा ल्याउने गरेका छन् । भदौ अन्तिम देखि शुरु हुने कारोवार नयाँ रुद्राक्ष निस्किए पछि यो साताबाट कारोवार शुरु भएको व्यपारी काजी तामाङले बताए ।
यो हप्ता मात्र खाँदबारीमा करिव २० लाखको खरिद बिक्री भएको उनले बताए । कारोवारसँगै यहाँका बैंकहरुमा जम्मा गरेको नगद रकम निकाल्नेको संख्या ह्वात्तै बढेको बैंकहरुले जनाएको छ ।
भोजपुरको नेपाले डाँडामा एक किसानको बगैचा तीन बर्षका लागि एक करोड रुपैयाँमा ठेक्का लिएका छन्, अधिकांश व्यपारीहरुले किसानको बगैचानै ठेक्का लिएको छन् । ठेक्का लिएको दानाको सुरक्षा नहुने र चोरी हुने भन्दै हतारमा नयाँ रुद्राक्ष बजारमा आएको व्यपारीहरु बताउछन् ।
मुखदार भन्दा पनि कण्ठे(ठुलो दाना) को माग बढी रहेको व्यपारी उत्तम दाहालले बताए । उनी चीनियाँहरु किसानसम्म बोट हेर्न पुग्न थाले पछि रुद्राक्षको मुल्य गत बर्षको तुलनामा कम भएको बताए ।
होलसेलर र खुद्रामा रुद्राक्ष खरिद गर्ने व्यपारीहरु बजारमा भेटिन्छन् । व्यपारीहरुले २५ हजार देखि एक करोड सम्म लगानी गरी बोट र बगैचानै ठेक्का लिने गरेका छन् ।
खाँदबारीका होलसेलर व्यपारी जय राई रुद्राक्षको माग चीनियाँले गरेको तर स्तरीय रुद्राक्ष मात्र बढी माग गर्ने गरेकाले रुद्राक्षलाई स्थानीय क्षेत्रमै स्तरीकरण गरी बजार व्यवस्थापन गर्न आवस्यक रहेको बताए । गत बर्ष मात्र ४० करोड बढीको रुद्राक्ष बिक्री भएको रुद्राक्ष किसान तथा व्यवसायी संघका अध्यक्ष बिपिन राईले बताए ।
चीनियाँले २१ मिलिमिटर भन्दा ठुलो दानाको माग गर्ने गरेको छ भने भारतले बढी मुखदार दाना माग गर्ने गरेको व्यपारीहरु बताउछन् । मुखदार दानामा हालसम्म २०,२१,२२,२७ मुखे सम्म उत्पादन भएको पाइएको छ । यसको मुल्य १२ लाख देखि १९ लाख सम्ममा बिक्री गरेको छ ।
रुद्राक्षले किसानको जीवनस्तर माथि उठेको छ भने यहाँको जग्गा र आर्थिक कारोवार समेत ह्वात्तै बढेको छ । अर्थतन्त्रमा रुद्राक्षको महत्व रहेको भन्दै यो व्यवसायलाई राज्य वेवास्ता गरेको व्यवसायीहरुको आरोप छ ।
व्यपारीहरु रुद्राक्षको थप ग्रेडीङ गरी गुणस्तर सुधार गरी बजार व्यवस्थित बनाउन राज्यले पहल गर्न माग गर्छन ।
चिनियाँहरुले सजावट र गहनमा प्रयोग गर्ने र भारतमा हिन्दुधर्मलम्बीले धार्मिक आस्थाअनुसार प्रयोग गर्न खरिद गर्ने गरेको पाइन्छ । भोजपुरको दिङलामा बालगुरु षढानन्दले भारतबाट बृक्ष ल्याई रोपे पछि यस क्षेत्रमा रुद्राक्ष फैलिएको अग्रजहरु भनाई छ । पछिल्लो समयमा रुद्राक्ष यहाँको मुख्य आम्दानीको श्रोत बनेको छ । – अन्नपूर्ण पोष्ट