×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भदौमा संविधान, असोजको पहिलो साता एमाले नेतृत्वमा सरकार

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भदौमा संविधान, असोजको पहिलो साता एमाले नेतृत्वमा सरकार

२२ भाद्र २०७२, मंगलवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

अबका केही दिन नेपाली राजनीतिका लागि निर्णायक हुँदै छन् । हामीले खेल्ने भूमिकाले यो देशको भविष्य निर्धारण गर्छ । त्यसैले आवेग, उत्तेजना वा पूर्वाग्रहले होइन, विवेक, शालिनता, देश र जनताप्रतिको उच्च जिम्मेवारी बोधका साथ आफ्नो भूमिका निभाउनुस्,’ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गतसाता संसदीय दलको बैठकमा सभासद्लाई यसरी सम्बोधन गरे ।
संविधानको विधयेकमाथि संशोधन दर्ता गराउने अन्तिम दिन नजिक आएका बेला अध्यक्ष ओलीले सभासद्हरू यसरी आफ्नो जिम्मेवारी बोध गराएका थिए । सम्बोधनका क्रममा अध्यक्षले भने जस्तो वास्तवमै अबका केही दिन नेपाली राजनीतिका महत्वपूर्ण दिन बन्नेछन् । संविधानको विधेयकमाथिको संशोधन दर्ता गराउने काम आइतबार बेलुकीबाट सकिएको छ भने सोमबारबाट त्यसलाई एकीकृत गर्ने काम सुरु भएको छ ।
संविधानसभाभित्र अब केहीदिन संशोधन प्रस्तावमाथि छलफल चल्ने छ । प्रस्ताव फिर्ता लिने वा त्यसलाई मतदानको प्रक्रियामा लैजाने भन्ने निक्र्यौल हुनेछ । त्यसपछि अन्तिम मस्यौदा तयार हुनेछ । जसलाई संविधानसभामा निर्णायार्थ पेस गरिनेछ । प्रत्येक धारा उपधारालाई पारित गरेपछि सभासदबाट हस्ताक्षर गरिनेछ । त्यसको प्रमाणिकरण संविधानसभाका अध्यक्षले गर्नेछन् । र, संविधानसभाभित्रै एउटा भव्य समारोहबीच राष्ट्रपति डा. रामवरण यादवबाट संविधान जारी हुनेछ ।
संविधान निर्माणको अत्यन्त निर्णायक समयमा मुलुक रहेकाले आगामी दिन पनि निर्णायक हुने भएका हुन् । संविधानसभाभित्र नेकपा एमाले, नेपाली काँग्रेस र एमाओवादीको सहमतिमा संयुक्त रुपमा संशोधन प्रस्ताव पेस गरिएकाले संविधान निर्माणमा दुईतिहाइभन्दा बढीको समर्थन रहेको छ । तर संविधान निर्माणको प्रक्रियालाई रोक्न अझै पनि विभिन्न शक्ति केन्द्रहरू लागिरहेकाले ढुक्क हुने अवस्था भने छैन ।
प्राविधिक रुपमा हेर्दा अब संविधान निर्माण रोकिने कुनै आधार देखिँदैन । तर आन्दोलनको नाममा हिंसात्मक गतिविधिलाई तेज बनाएर यो प्रक्रिया रोकाउने प्रयास नहोला भन्न सकिने अवस्था छैन । मधेसका कतिपय जिल्लामा अहिले देखिरहेको असन्तुष्टि यसैको संकेत हुन सक्छ । पछिल्लो समय मधेसका जिल्ला अशान्त छ । तीन साताभन्दा लामो समयदेखि संविधानसभाको प्रक्रिया रोक्न माग गर्दै प्रदर्शन भइरहेका छन् । लगातार सडक, बजार, उद्योग–कलकारखाना, शिक्षणसंस्था बन्द गराएर आन्दोलन गरिएको छ ।
आन्दोलनलाई हिंसात्मक बनाउने हरसम्भव प्रयास भएको देखिन्छ । प्रहरी कार्यालयमाथि आक्रमण गर्ने, प्रहरीमाथि हमला गर्ने, प्रहरी कार्यालयअगाडि राखिएका गाडी चलाउने, सरकारी कार्यालयहरूमा आगजनी गर्ने जस्ता गतिविधि मधेसका जिल्लामा भइरहेका छन् । प्रहरीलाई उत्तेजित पार्ने, भिडन्तको अवस्था निम्त्याउने प्रयास भइरहेका देखिन्छन् । कतिपय जिल्लालाई दंगाग्रस्त जिल्ला घोषणा गरेर सरकारले सेना परिचालन गरिरहेको छ । ती जिल्लाहरूमा हिंसात्मक घटना न्युन देखिए पनि अन्यत्र हिंसात्मक घटनामा कमी आएको छैन ।
संविधान निर्माणको प्रक्रियाप्रति असन्तुष्टहरूका माग स्पष्ट छैनन् । पटक पटक एमाले अध्यक्ष ओलीले भन्ने गरे जस्तो सामाजिक सद्भाव बिथोल्ने अभिष्ट मात्र देखिएको छ । लोकतान्त्रिक आन्दोलनका अगुवाका रुपमा रहेका १९ दिने जनआन्दोलनका कमान्डर गिरिजाप्रसाद कोइरालाको पर्सामा रहेको शालिक फुटाएर चकनाचुर बनाइएको छ । कतिपय पहाडे बस्तीमा आक्रमणको धम्की दिन थालिएको छ । यस्ता गतिविधि अपराधिक हुन भन्ने जान्दा जान्दै पनि तिनलाई राजनीतिक आवरण दिने प्रयास भइरहेको छ ।
संविधानका नाममा जातजातिलाई राज्य दिने सपना बाँड्नेहरूका कारण मुलुकले यो अवस्था खेपेको हो । एमाले अध्यक्ष ओलीले त्यस्तो आश्वासनले मुलुकलाई विखण्डन गर्ने चेतावनी पटक पटक दिने गरेका थिए । भलै त्यस्तो आश्वासन दिने प्रमुख दल एमाओवादी अहिले संविधान बनाउन पूर्ण प्रतिबद्ध देखिएको छ । तर उसले रोपेको बिउले अहिले तराईमा आगो बालिरहेको छ ।
यी विरोध र हिंसात्मक गतिविधिका बाबजुद ठूलो संख्यामा जनतामा नयाँ संविधान बन्ने निश्चितताका कारण उत्साह देखिएको छ । मुलुकले संविधानसभाबाट संविधान बनाउने सपना पूरा गर्न वर्षौं बिताएको, ठूलो त्याग र बलिदान भएको तथा आर्थिक रुपमा समेत मुलुकले ठूलो धनराशि खर्च गरिसकेको कारण जनता चाँडो संविधान चाहन्छन् ।
यति मात्र होइन, जनता आफ्नो संविधान आफ्ना प्रतिनिधिले बनाएको हेर्न आतुर छन् । संविधानले जनताका धेरै आकांक्षा पूरा गर्ने निश्चित छ । नेपालको इतिहासमा अहिलेसम्म बनेका सबै संविधानभन्दा उत्कृष्ट संविधान जारी हुँदैछ । नेपालको विशिष्टताअनुसार हिमाल, पहाड र तराई जोडिने संघीय प्रदेशहरू बन्दैछन् । तिनको नामाकरण प्रदेशसभाबाट गरिने छ । सबै जातजाति, भाषाभाषि, वर्ग, पेशा, दलित, महिला, उत्पीडित, मुस्लिम, मधेसी सबै सबैले संविधानमा अपनत्व महसुस गर्न पाउने छन् ।
भदौभित्रै त्यस्तो संविधान ल्याउने प्रयास भइरहेको छ । भदौभित्रै संविधान जारी भए मुलुकले असोजको पहिलो हप्ताभित्र नयाँ सरकारसमेत पाउनेछ । दलहरूबीच संविधान जारी भएको एक हप्ताभित्र नयाँ सरकार गठन गर्ने र एक महिनाभित्र राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचन गर्ने सहमति छ । त्यसअनुसार असोजको पहिलो साताभित्र नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने छ ।
संघीय गणतान्त्रिक नेपालको संविधान जारी भएपछिको पहिलो सरकार एमालेको नेतृत्वमा हुने छ भने पहिलो प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली हुनेछन् । एमालेको नेतृत्वमा बन्ने त्यस्तो सरकारमा कांग्रे, एमाओवादीसहित संविधानसभाका प्रायः सबै दलको समर्थन र सहभागिता हुने सहमति यसअघि नै जुटिसकेको छ ।
पछिल्ला धेर वर्षदेखिको मुलुकको प्रमुख कार्यभारका रुपमा रहेको संविधान निर्माणले पूर्णता पाएपछि एमालेको नेतृत्वमा देशले नयाँ गति लिनेछ । भूकम्पले ध्वस्त पुनर्संरचनाहरू पुनर्निर्माण, नवनिर्माण हुँदै देशलाई तीव्रगतिमा आर्थिक समृद्धितर्फ डोर्याउने जिम्मेवारी एमाले अध्यक्षको काँधमा आउनेछ । डाइनामिक क्षमता, दूरदर्शिता, कार्यकुशलता, राष्ट्रियताप्रतिको अटुट प्रतिबद्धता जस्ता गुणका कारण ओलीको नेतृत्वमा मुलुकले छिट्टै काँचुली फेर्ने विश्वास आम जनतामा रहेको पाइन्छ ।–दृष्टि साप्ताहिकबाट ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: