×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संविधान जारी गर्दा भोजमा ७२ लाख खर्च

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

संविधान जारी गर्दा भोजमा ७२ लाख खर्च

८ आश्विन २०७२, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

चार हजारले प्रतिप्लेट १८ सयको खाए
संविधान जारी भएपछि आयोजित रात्रिभोजमा लागेको सम्पूर्ण खर्च सचिवालयले बेहोर्ने सैद्धान्तिक निर्णय पनि व्यवस्थापन समितिले गरेको छ । खर्च कति भयो भन्ने अझै तथ्यांक आइसकेको छैन । रात्रिभोजको व्यवस्थापन गरेको अल्फा हाउसले चार हजारजनाले खाना खाएको र प्रतिप्लेट १८ सय रुपैयाँ पर्ने जानकारी गराएको छ । त्यो गर्दा खाना खर्च अनुमानित ७२ लाख रुपैयाँ हुन आउँछ ।

 विज्ञलाई एक लाख १५ हजार पारिश्रमिक
व्यवस्थापन समितिले संविधानसभा सचिवालयमा विज्ञका रूपमा आएकालाई एक लाख १५ हजार नघट्ने गरी पारिश्रमिक दिएको छ । सचिवालयले मस्यौदा निर्माणका लागि विज्ञका रूपमा कानुन मन्त्रालयका सचिव भेषराज शर्मा, पूर्वसचिव माधव पौडेल, पूर्वमुख्यसचिव तीर्थमान शाक्य र भाषाविद् शरदचन्द्र वस्तीलाई आमन्त्रण गरेको थियो ।

कर्मचारीको प्रोत्साहन र खाजा भत्ता कायमै
संविधानसभा विघटन भए पनि संविधानसभाका कर्मचारीले पाउँदै आएको ८० प्रतिशत प्रोत्साहन भत्ता र दैनिक ६ सय खाजा खर्च यथावत् राखिएको छ । भत्ता यथावत् राख्ने प्रस्ताव सभामुखलगायतले समर्थन गरेर पास गरे । सबै जोड्दा सचिवालयका कार्यालय सहयोगीले समेत मासिक ४१ हजार ३ सय ६४ रुपैयाँ पाउँछन् ।

व्यवस्थापन समितिले संविधान जारी भएको दिन ३ असोजको रात्रिभोजको सम्पूर्ण खर्च सचिवालयले बेहोर्ने सैद्धान्तिक सहमति गरेको छ । रात्रिभोजमा निम्त्याइएका चार हजारको हाराहारीमा पाहुनाले खाना खाएको भान्साको जिम्मा लिएको अल्फा हाउसले जनाएको छ ।

प्रतिप्लेट १८ सय रुपैयाँका दरले कुल ७२ लाख खाना खर्च लागेको अल्फा हाउसको दाबी छ । संसद् सचिवालयमा क्यान्टिनसमेत सञ्चालन गरिरहेको अल्फा हाउसले तीन सय रुपैयाँमा अन्य वेला खाना खुवाउँदै आएको छ ।

संविधानसभामा हुने थप कामका लागि कर्मचारीलाई दिइएको अतिरिक्त प्रोत्साहन भत्ता संविधानसभा विघटन भएपछि पनि कायमै राखिएको छ । व्यवस्थापिका–संसद्को उच्च निकाय ‘सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति’को बुधबारको बैठकले सचिवालयका कर्मचारीलाई दिइँदै आएको भत्ता कायम राख्ने निर्णय गरेको सचिवालय स्रोतले जानकारी दियो ।

‘सचिवालयका तर्फबाट व्यवस्थापन समिति बैठकमा प्रोत्साहन भत्तालाई निरन्तरता दिने प्रस्ताव गएको हो,’ स्रोतले भन्यो, ‘संविधानसभा त सकियो, तर हामी सबैको मिहिनेतले संविधान बन्यो ठीकै छ निरन्तरता दिऊँ, भनेर सभामुख सुवासचन्द्र नेम्वाङले स्वीकृति दिनुभयो । त्यसपछि अरू सबैले समर्थन जनाए ।’ सभामुखको अध्यक्षतामा रहेको व्यवस्थापन समितिमा उपसभामुख ओनसरी घर्ती, महासचिव मनोहरप्रसाद भट्टराई र सचिव मुकुन्द शर्मा सदस्य छन् ।

संसद् सचिवालयका कर्मचारीले अहिले तलबको ८० प्रतिशत अतिरिक्त भत्ता र दैनिक ६ सय रुपैयाँका दरले खाजा खर्च पाउँदै आएका छन् । शनिबार हाजिर गर्ने कर्मचारीले सात सय ५० रुपैयाँ खाजा खर्च पाउने गर्छन् । सचिवालयका कार्यालय सहयोगी कर्मचारीले मासिक ४१ हजार तीन सय ६४ रुपैयाँ पाउँदै आएका छन् । कार्यालय सहयोगीको नियमित तलब १२ हजार नौ सय ८० रुपैयाँ हो । त्यसको ८० प्रतिशत, खाजाबापतको दैनिक ६ सय र बिदा दिनको सात सय ५० रुपैयाँका दरले हिसाब गर्दा ४१ हजार तीन सय ६४ रुपैयाँ हुन आउँछ । कर्मचारीको तहअनुसार यो रकम बढ्दै जानेछ ।

सचिवालयका प्रवक्ता डा. भरत गौतमले व्यवस्थापन समितिले गरेको निर्णयबारे आफूलाई आधिकारिक जानकारी नआएको बताए । ‘यसबारे आधिकारिक जानकारी पाएको छैन,’ उनले भने, ‘व्यवस्थापन समितिले गरेको निर्णयबारे थाहा भएपछि जानकारी दिनेछु ।’

व्यवस्थापन समितिले संविधान मस्यौदा निर्माणमा सहयोग गर्न विज्ञका रूपमा कानुन मन्त्रालयका सचिव भेषराज शर्मा, पूर्वसचिव माधव पौडेल, पूर्वमुख्यसचिव तीर्थमान शाक्य र भाषाविद् शरदचन्द्र वस्तीलाई एक लाख १५ हजार रुपैयाँ नघट्ने गरी पारिश्रमिक दिने निर्णय पनि गरेको छ ।-नयाँ पत्रिका

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: