मांसाहारी हिन्दूहरु वर्षभरी पालेको कलकलाउदो खसीलाई हरियो घाँस देखाएर एक बुजो नखादै च्वाट्टै छिनाउछन् । अनि, उत्सवका साथ बडा दशैँ मनाउछन् । सबै धर्मको सार मानव सेवा हो । प्राणी सेवाको जतिसुकै कुरा गरेपनि सोझा प्राणी सबै सिकार भएकै छन् । हिन्दू धर्ममा जति स्वतन्त्रता अन्य धर्ममा सायदै नहोला तर, जतिसुकै स्वतन्त्रता भए पनि त्यहाँ पढाइने मानवताको पाठ पढेर कहिल्यै सकिदैन । संसारकै सबैभन्दा बढी हिन्दू बस्ने देश भारतमा थुप्रै हिन्दू सन्त, महन्त छन् । अनि, हिन्दूवादी नेताको घुम्टो ओढेका नरेन्द्र मोदी भन्ने प्राणी पनि त्यहीका प्रधानमन्त्री छन् । जो मानवताको कुरा गरेर थाक्दैनन् । तर, विश्वव्यापी नियम, कानुन विरुद्ध तीन करोड नेपाली जनतालाई संकटमा पारेर उनी रमिता हेरिरहेका छन् ।
भारतमा नेपालको कुल जनसंख्या भन्दा धेरै मगन्ते छन् । नेपाली जनताले मागेर खाएका छैनन् । पेट्रोलियम पदार्थका लागि दैनिक अरबौँ पैसा भारतले लान्छ । एक वर्ष अघि नेपाल भ्रमणका क्रममा नेपाली जनताको ताली खान मोदी नामक प्रणीले बोलेका थिए, ‘सबै नेपालीका मुख मुखमा पानी होइन दूध पिलाउछु ।’ बैरीले दूध होइन आज विष पिलायो । त्यही विषको असर नेपालभर परेको छ । र, एक हप्ता अघिदेखि नेपालीको चूह्लो बल्छ छोडेको छ ।
बबरमहलमा रामेछापका रुद्र श्रेष्ठ असिन पसिन भएर मोटरसाइकल डोर्याइरहेका छन् । ‘भारतीय दादागिरीले दिनुसम्म पीडा दियो भाइ, त्रिपुरेश्वर पुग्नुपर्ने भक्तपुरबाट बानेश्वरमा आइ नपुग्दै पेट्रोल सकियो । बाइक डोर्याउदै यहाँ आइपुगेको छु ।’
विकल्प चाहियो दाइ अब गर्ने ? जिज्ञासा राखेँ, ‘नेताको पनि गल्ती छ । बोल्छन्, बोली अनुसारको काम गर्दैैनन् । भारतको यही रवैया रहिरहे चीनतर्फको नाका खोलेर भए पनि पेट्रोलीयम पदार्थ ल्याउनु पर्छ । यसरी त कहाँ देश चल्छ र ?’
रुद्र अगाडी बाइक डोर्याउदै थिए भने सुनिल रानाभाट पछाडिबाट बाइक ठेल्दै थिए । सुनिल काठमाडौँ इन्जिनियरिङ कलेका विद्यार्थी रहेछन् । सुनिलले बाइक ठेल्नुको पीडा पोख्दै भने, ‘पीडा सहन तयार छु तर नेताहरुले भारतसँग झुक्नु हुँदैन । पीडाभयो ठिकै छ । तेस्रो मुलुकबाट अत्यावश्यक सामाग्री ल्याउने प्रवन्ध राज्यले गर्नुपर्छ ।’ उनले संविधान आएकोमा खुशी व्याक्त समेत गरे । भने, ‘भारत खुशी होस् कि नहोसा् संविधान आएकोमा म खुशी छु, नेताहरुले सबै जनतालाई खुशी पार्ने संविधान ल्याएको भए अहिले यो पीडा भोग्नु पर्ने थिएन भन्ने लाग्छ ।’
मोटरसाइकल बाइबाई साइकल हाइहाई
भारतले नाकाबन्दी गरेपछि गाडी र मोटरसाइकल पीडामा छन् भने साइकल यात्री उत्साही बन्दै छन् । सडकमा हेपाइको दृष्टिमा हेरिने साइकल सम्मानित भएकोप्रति साइकल यात्री खुशी पनि देखिन्छन् । १५ वर्ष अघिदेखि साइकलमा कवाडी सामान बोकेर हिड्ने सर्लाहीका रामाशंकर चौधरी भन्छन्, ‘हिजो ओइ कवाडी, ओइ धोती भन्नेहरु आज दाइ एकछिन साइकल दिन मिल्दैन भन्छन् ।’ रामाशंकरसँग पेट्रोलको अभाव भएपछि धेरैले साइकल माग्ने गरेका छन् तर उनले साइकल कसैलाई नदिएको बताए, ‘साइकल बिना मेरो कामै हुँदैन । माग्ने धेरै छन् तर कसैलाई दिएको छैन ।’
Cycleसाइकलमा पीडा पनि छन् । रामाशंकर भन्छन्, ‘पीडा त धेरै छ । साइकल लडेर सबै सामान छरिन्छ । ठूलाठूला गाडीले धेरै पेल्छन् । धूलो उडाउछन् । सबै पीडा त साइकमा नै भोग्नुपर्छ ।’ रामाशंकर साइकलको लागि छुट्टै बाटो भए हिड्न सहज हुने बताउछन्, ‘व्यवस्थित बाटो हुने भए काठमाडौँमा सबैले साइकल कुदाए पनि हुन्छ ।’
तेल अभाव चर्कदै गएपछि शान्तिनगर निवासी सूर्यप्रसाद न्यौपाने बाइक छोडेर साइकलमा हिड्न थालेका छन् । न्यौपाने साइकल सुरक्षित नभएको बताउछन्, ‘साइकलमा हिड्न सकिन्छ तर काठमाडौँको साइकल यात्रा सुरक्षित छैन । कत्तिबेला कताबाट बाइकले ठोक्ने हो कि गाडीले ठोक्ने हो, त्रास मात्र हुन्छ ।’ साइकल स्वास्थ्यका लागि समेत ठिक हुने विचार समेत न्यौपानेको छ । न्यौपाने साइकल समेत नेपालमा नबन्दा भारतबाटै ल्याउनुपर्ने बाध्यता यसरी सुनाउछन्, ‘म जीवनभर साइकलमै हिड्न तयार छु । तर, के गर्नु यो साइकल पनि हाम्रोमा बन्दैन । वैरीकै बाट ल्याउनु पर्छ ।’
राजधानीका सडकमा पहिला पहिला थोरै मात्र पहाडीया मुलका र धेरै मधेसी मुलका मानिस साइकल डुडाउथे । अहिले भने हिमाल, पहाड र तराई मुलका सबै मानिस साइकलमा देखिन्छन् । वृद्धा, वयश्क र युवा समेत साइकलमै हुइकिन थालेका छन् । ब्रिटिस आर्मी बन्ने सोच बनाएका रामेछापका सोमकुमार परियार समेत राजधानीमा साइकलमा हुइकिरहेका भेटिए । उनी शारीरिक अभ्यासका लागि ६ महिनादेखि साइकलमा गुडिरहेका छन् । एक हप्ताको अवधिमा साइकल यात्री बढेको उनको अनुभव छ ।
परियार भन्छन्, ‘पहिला सडकमा साइकलमा हिड्ने म मात्र छु जस्तो लाग्थ्यो । दुई चार दिनभयो सडकमा साइकलयात्रीको भिड देखिन थालेको छ ।’ तेल नचाहिने, सानो रकममा खरिद गर्न सकिने, सामान्य खर्चमा चल्ने साइकल सहज भए पनि परियार यसका अवगुण सुनाउछन्, ‘साइकलमा लुकिङ ग्लास हुँदैन । कत्तिबेला पछाडिबाट गाडीले हान्ने हो, कतार पछारिनुपर्ने हो भन्ने त्रास जुनसुकै बेला भइरहेको हुन्छ । धुलो धुवाको त कुरै नगर्नुहोस् । सबै गाडीले उडाएको धुलो एक्लै खानुपर्छ ।’
परियार राजधानीमा साइकल यात्राका लागि छुट्टै लेन बनाउनुपर्ने विचार राख्छन्, ‘काठमाडौँमा सुरक्षित यात्राका लागि छुट्टै लेन भए बाइक भन्दा बढी साइकल गुड्थे जस्तो लाग्छ । तर, के गर्नु बाटो नै खराब छ ।’
भारतीय नाकाबन्दीपछि इन्धन संकट हुँदा नेपाली जनता संकटमा बाच्न सिक्दैछन् । मोटरसाइकल छोडेर साइकलमा हिड्नेको लाइनमा म स्वयम् पनि पाँच दिनदेखि थपिएको छु । साइकल मेरा निम्ति नयाँ होइन । २०६३ साल पछि लगातार पाँच वर्ष काठमाडौँका सडकमा साइकलयात्रा गरेको छु । दुई वर्ष बाइक कुदाउदा पनि साइकलप्रति मैले सधैँ सधैँ सम्मान गरेँ । आज बाइक छोडेर साइकलमा हिड्दा मलाई कुनै हिनताबोध छैन । आईए देखि एमएसम्मका कक्षाकोठामा पुर्याउने र डेरासम्म सुरक्षित ढंगले ल्याउने साइकललाई म सधैँ सलाम गर्छु ।
उच्चशिक्षा आर्जनका क्रममा कक्षाकोठामा गुरुहरुले मलाई जति किताबी ज्ञान दिनुभयो साइकलले सडक यात्राको त्यत्तिकै ज्ञान दिएको छ । एक कक्षादेखि आठ कक्षासम्म एक घण्टा पैदल हिडेर स्कुल गएको हुँ । ९ र १० कक्षा पढ्दा दुई घण्टा पैदल हिडेको हुँ । मेरो गाउँ पुग्न अझै पैदल नै हिड्नुपर्छ । मेरो गाउँमा तिम्रो पेट्रोलको आवश्यकता छैन । अब राजधानीमा पनि पेट्रोलबिना जिउन सिक्दैछु । तिम्रो स्वार्थका लागि कहिलेसम्म नाकाबन्दी गर्छौँ मोदी गरिराखे । नेपाली जनता तिमीसँग झुक्ने छैनन् ।
अन्त्यमा,
मलाई थाहा छ, मेरा शब्दहरु छिमेकीलाई दुध पिलाउछु भनेर विष पिलाउने नरेन्द्र मोदीले पढ्दैनन् । तर, भारतको सरकार र नरेन्द्र मोदीे बुझेहुन्छ, नेपाली जनता बाटो बिराउदैनन् र कोहीसँग डराउदैनन् । नरेन्द्र मोदी प्रवृत्तिले बुझेहुन्छ, नेपाली जनता वर्षभरी मिठोमिठो खान दिएर पालेका खसी जस्तो बडा दशैँमा शिकार बन्न तयार छैनन् । तिम्रो मुलुकको बाटो हुँदै ल्याउने पेट्रोलबाट चल्ने बाइकलाई बाइबाई भन्छन् तर साइकलमै खुसी र सुखी जीवन सिक्छन् । एक दशक साइकलमा संघर्ष गर्छन् दुई दशकभित्रमा आफ्नै देशमा उत्पादन हुने बिजुलीबाट गुड्ने मोटर चढ्छन् र आफ्नो खुट्टामा आफैँ उभिन्छन् ।
जय नेपाल ।