×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ म्यानपावर कम्पनीको नक्कली प्रमाणपत्र बनाउने धन्दा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

यस्तो छ म्यानपावर कम्पनीको नक्कली प्रमाणपत्र बनाउने धन्दा

२० पुष २०७२, सोमबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

प्रतिदिन बिग्रदै गएको मुलुकको राजनीतिक, आर्थिक अवस्थाको फाइदा उठाउँदै बेरोजगार युवाहरुलाई रोजगार दिलाई सेवा गर्ने गुलियो नारा दिएर कानूनी र गैर कानूनी रुपमा देशका विभिन्न क्षेत्रमा संचालित म्यानपावर कम्पनीका शाखा तथा सम्पर्क कार्यालयहरुले पाइलापिच्छे ब्रम्हलुट गर्दै आएका छन् ।   
 देशभरमा सयौको संख्यामा संचालनमा आएका म्यानपावर कम्पनीका शाखा तथा सम्पर्क कार्यालयका स्थानीय संचालकहरु बेरोजगार युवालाई राम्रो सेवा सुविधा भएका कम्पनीहरुमा पठाउनुभन्दा पनि उनीहरुबाट कसरी हुन्छ बढीभन्दा बढी रकम असूल्ने ध्याउन्नमा लाग्ने गरेका पाइएको छ ।    
बिभिन्न खाडी राष्ट्रमा जानका लागि सरकारले तोकेको लागतभन्दा तेब्बर बढी रकम असुल्दा पनि नपुगेर फ्रि भिसा फ्रि टिकटलाई पनि ढाड सेक्ने गरी रकम लिने गरेका छन् । त्यति मात्र होइन, पछिल्लो समयमा गैरकानूनी रुपमा रोजगारमा जाने युवाहरुको काम गरेको अनुभव, शैक्षिक योग्यता, सीप लगायत आवश्यक कागजातहरु मोटो रकम लिएर नक्कली बनाउने धन्दामा देशभरका म्यानपावर कम्पनीका मुख्य कार्यालय, शाखा तथा सम्पर्क कार्यालयका संचालकहरु खुलमखुल्ला लागिरहेका पाइएको छ ।    कानून विपरीत काम गर्न कसैलाई छुट नभए पनि गरीब युवासँग १ हजार ५ सय देखि ५ हजारसम्म रकम लिएर नक्कली प्रमाणपत्र बनाउने धन्दामा म्यानपावर कम्पनीका शाखा तथा सम्पर्क कार्यालयका संचालकहरु लिप्त भएका पाइएको हो ।    
कामै नगरेका, सीप सिक्दै नसिकेका युवाहरुलाई नक्कली प्रमाणपत्र बनाएर बिभिन्न खाडी राष्ट्रमा पठाउने र ती मुलुकहरुमा पुगेपछि सम्बन्धित काम गर्न नसकेका कारण उनीहरुले दुःख पाउने गरेका छन् । कामको अनुभव भएको प्रमाण पेश गरे पनि वास्तविक रुपमा नजानेपछि कम्पनीहरुले भनेको काम र तलब तथा अन्य सुविधा नदिने गरेको पीडित युवाहरुको भनाई छ । कतिपय युवाहरु पुग्नासाथ फर्कने गरेका छन् । कतिले ज्यान पनि गुमाउने गरेका छन् । 
यसरी बन्छ नक्कली प्रमाणपत्र देशका विभिन्न शहरमा संचालित म्यानपावर कम्पनीको शाखा तथा सम्पर्क कार्यालयका संचालकहरुले स्थानीय स्तरमै बग्रेल्ती खुलेका डेक्स्टप कम्प्युटर संचालकहरुसंगको साठगाँठमा एसएलसी उत्तिर्ण गरेको नक्कली प्रमाणपत्र, जनपथ, सशस्त्र र नेपाली सेनामा काम गरेको प्रमाणपत्र, सेक्युरिटी गार्डमा काम गरेको प्रमाणपत्र, होटलमा कुक, वेटरको काम गरेको प्रमाणपत्र, होटल तालिम लिएको प्रमाणपत्र, मार्केटिङ गरेको प्रमाणपत्र, व्यूटीपार्लरको प्रमाणपत्र नक्कली बनाउने गरेका छन् । 
आफ्नो कार्यालयमा बुझाएको पासपोर्ट र आवश्यक प्रमाणपत्रको व्यहोरा स्क्यानिङ गरेर सिधै डिजाइनरकहाँ इमेल मार्फत पठाउने गरेका छन् । कतिपयले कार्यालयका कर्मचारीहरु खटाएर गोप्य रुपमा डिजाइनरकहाँ बसेर प्रमाणपत्र बनाएरै लाने गरेका छन् । एउटा प्रमाणपत्र बनाएको १ सय देखि ५ सयसम्म डिजाइनरले पाउने गरेका छन् । तर म्यानपावरका शाखा तथा सम्पर्क कार्यालयका संचालकहरुले डिजाइनरले बढी पैसा लिन्छन् भन्दै वैदेशिक रोजगारमा जानका लागि कार्यालयमा पासपोर्ट पेश गरेका युवाहरुसंग आफैले १ हजार ५ सयदेखि ५ हजारसम्म असूल्ने गरेका छन् ।   
स्रोतका अनुसार काठमाण्डौ, पोखरा, इटहरी, नारायणघाट र विर्तामोडमा संचालित म्यानपावर कम्पनीका शाखा तथा सम्पर्क कार्यालयका संचालकहरुले नेपालको मात्र होइन, विदेशका बिभिन्न कम्पनी र सरकारी निकायका नक्कली प्रमाणपत्रहरु पनि बनाउने गरेका छन् । त्यस्तो प्रमाणपत्र बनाउँदा एक व्यक्ति बराबर १० हजारसम्म लिने गरेका छन् । बिशेष गरी कुनै एक खाडी राष्ट्रमा २/३ बर्ष काम गरेर फर्किएका युवाहरु पुनः अर्को खाडी राष्ट्र जानु पर्यो भने डिजाइनरसंग बसेर पहिला कुन कम्पनीमा काम गरेको हो त्यो कम्पनीकै लोगो सहितको लेटरप्याड जस्ताको त्यस्तै बनाउन लगाई काम गरेको अनुभवन प्रमाणपत्र बनाउने गरेका पाइएको छ । 
यसरी प्रमाणपत्र बनाउँदा फर्किएका युवाको पासपोर्टमा पहिला खाडी जाँदा प्रवेशाज्ञा मिति र त्यहाँबाट नेपाल फर्किदा एयरपोटमा मितिसहित लगाइएको छाप हेर्ने गरेका छन् । जाँदा र आउँदाको मिति मिलाएर जतिदिन काम गरेको हो त्यती नै दिनको नक्कली प्रमाणपत्रहरु बनाउने गरेका छन् । कतिपय म्यानपावरका शाखा तथा सम्पर्क कार्यालयका संचालहरुले गोप्य रुपमा बनाएका विदेशका बिभिन्न कम्पनीका नक्कली लेटरप्याड र छाप झोलामा बोकेर डिजाइनरसम्म पुर्याएर आफ्नो म्यानपावरमार्फत विदेश जान लागेका युवाहरुका लागि आवश्यक परेको प्रमाणपत्र तथा कागजात ढुक्कले बनाउने गरेका छन् ।    
कसले अनुगमन गर्ने ?  देशभर च्याउ सरी खुलेका म्यानपावर कम्पनीका शाखा तथा सम्पर्क कार्यालयका संचालक र डिजाइनरहरुले गैंर कानूनी रुपमा नक्कली प्रमाणपत्रहरुको धन्दा खुलेआम चलाईरहेपनि त्यसको अनुगमन गरी कानूनी कारबाहीको दायरामा ल्याउनका लागि अहिलेसम्म सरकारको कुनै पनि निकायले चासो देखाएको छैन । यस्ता धन्दा रोक्नका लागि कुन निकायले म्यानपावर कम्पनीका शाखा तथा सम्पर्क कार्यालयको अनुगमन गर्ने ? डिजाइनरहरुलाई कसले अनुगमन गर्ने ? सरकारका कुनै पनि निकाय अहिलेसम्म बोल्न सकेको छैन ।    
आफूहरुलाई सहज पर्दा उजुरीबिना नै अनुसन्धानका लागि अगाडि बढ्ने प्रहरी प्रशासन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारी उजुरी नदिई कार्वाही अगाडी बढाउन सकिदैन भन्दै कानमा तेल हालेर बसिरहेका छन् । यी निकायमा रहेका कर्मचारीहरुले कानूनी राज्यको धज्जी उडाइरहँदा पनि म्यानपावर कम्पनीका शाखा तथा सम्पर्क कार्यालयका संचालकलाई लुट्न छुट दिईरहेका छन् । नक्कली प्रमाणपत्रको धन्दा रोक्नका लागि हालसम्म न प्रहरी न अख्तियार न अन्य कुनै निकाय, कसैले पनि कुनै पहल र चासो दिएको छैन ।    
बिभिन्न समयमा वैदेशिक रोजगार व्यवस्था विभागबाट कर्मचारीहरु अनुगमनका लागि खटिए पनि रोजगारमा जान लागेका युवाहरुले योग्यता, सीप र कामको प्रमाणपत्र सक्कली हो ? या नक्कली  हो ? भन्ने बिषय उनीहरुको प्राथमिकतामा पर्दैन । उनीहरु केबल नियम अनुसार शाखा र सम्पर्क कार्यालय संचालन गर्ने अनुमति छ या छैन् ? भन्ने कुरालाई मात्र प्राथमिकता दिएर अनुगमनमा निस्कने गरेका छन् । 
विभागका कर्मचारीहरुले पनि पैसाको प्रलोभनमा परेर फितलो तरिकाले म्यानपावरहरुको अनुगमन गर्ने गरेका छन् । जसकारण म्यानपावरका शाखा तथा सम्पर्क कार्यालयका संचालकहरु निर्धक्कसाथ गैंरकानूनी काममा लाग्दै आएका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: