×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेताहरुको सोच टाट पल्टेकै हो त ?

PRIME CA

नेताहरुको सोच टाट पल्टेकै हो त ?

१५ श्रावण २०७३, शनिबार

पढ्न लाग्ने समय: < ४ मिनेट

  • भूपेन्द्र आचार्य

कहाँ छ लोकतन्त्र ? कस्तो छ लोकतन्त्र ? लोकतन्त्रले के दियो ? यी प्रश्नको उत्तर कुनै पनि सामान्य नागरिकलाई सोध्ने हो भने उसको उत्तर नकारात्मक नै हुन्छ । तर, नेताका अनुहार, तिनका लगाइखवाई, रहनसहनको स्तर यतिमाथि उठेको छ कि सम्भ्रान्तबाट सामन्त बनिसकेको झल्को देखिन्छ । निरंकूश राजा किन राख्ने भनेर फाल्नेहरु बादशाही चलाइरहेका छन् । लोकतन्त्रको नाममात्र छ, लोकको हालत दास, कमैयाभन्दा गएगुज्रेको देखिन्छ ।
किन यस्तो भइरहेको छ ? किनभने नेताहरुको सोच टाट पल्टेको छ । टाट सोचले स्वार्थमात्र देख्छ । सिद्धान्त कुल्चेर हिड्छ । राजनीतिलाई व्यापार बनाउँछ । नेपालको राजनीति व्यापार बनेको छ । व्यापार भनेको मुनाफाखोरले गर्ने हो । राजनीतिक नेताहरु मुनाफाखोर बनेका छन् ।
हामीले सानैमा पढेको हो– टीएटी टाट, टाटमाने भाँङ्ग्रो भनेर । नेपाली राजनीतिक नेतृत्व भाँङ्ग्रो नै भएको हो त ? राजनीतिमा सोच, दृष्टि भएको भए राष्ट्रको यस्तो बेहाल स्थिति कसरी हुन्थ्यो । सबैनीतिमा उत्तम नीति राजनीति, राजनीतिलाई सम्भाबनाको खेल भनेर भन्ने नेताहरु राष्ट्रका ठूला नेता भएका छन् । ठूला नेता भएरमात्र केही नहुने रहेछ, ठूलो सोच र व्यापक दृष्टिकोण नभएपछि भाङ्ग्रे बन्दा रहेछन् । हाम्रा नेताहरुले भ्रष्टाचार गरेर पैसा कमाए होलान्, सत्ता र शक्ति पनि होला तर सोचको साँचामो तौलने हो भने टाट नै हुन् ।
    
भाङ्ग्रो नभएको भए देश बनाउने खाका के हो ? लोकतन्त्र संस्थागत गर्ने तरिका कस्तो हो ? विधिको शासन चलाउने र सुशासन कायम गर्ने मार्ग कुन हो ? ०६३ सालमा परिवर्तन भएपछि केही देखियो । कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा हाले पनि सोझिदैन भन्ने उखान छ समाजमा । १२ वर्ष हुनै लाग्यो जनआन्दोलन भएको र जनआन्दोलनले परिवर्तन ल्याएको । परिवर्तनको प सम्म पनि जनताले देख्न पाएका छैनन् । लोकतन्त्र लोकका लागि कौवालाई बेल पाक्यो, हर्ष न विष्मात भनेझैं भइरहेको छ ।
हो, नेता धनीमानी भए । नेता खाइलाग्दा पनि देखिए । नेताले खाली खुट्टा हिड्नु परे, छाप्रोमा बस्नु परेन । पजेरो चढेर र महलमा बसेर राजनीति गर्ने अवसर छोपे । जनताले भूकम्प जाँदा त्रिपाल पाएनन्, बास बनाउने अनुदानको हल्लामात्र सुने । नक्कली पीडितले पाउनुसम्म राहत पाए, सक्कली रोएर जीवन धानिरहेका छन् । राजनीति कति निर्दयी, विवेकहीन र पापी भइसक्यो ।
अव हुने प्रधानमन्त्री प्रचण्ड नै हुन् । उनले ओली विरुद्धको अविश्वासको प्रस्ताव राख्दै भनेका थिए– राजनीति सम्भाबनाको खेल हो । राजनीति खेल भएपछि झेल हुन्छ, नेपालमा जनतामाथि झेल भइरहेछ, देशमाथि खेलबाड भइरहेछ । सुरुको १० वर्ष जनयुद्ध र त्यसपछिको १२ वर्षदेखि निरन्तर जालझेल र खेल चलिरहेको छ । नेताहरुमा अव नैतिकता, निष्ठा र सिद्धान्त बाँकी रहेन ।
यिनको दिमाग शून्य छ भनिरहनु परेन । नेताहरु सत्तालाई सम्भाबनाको खेल बनाएर खेलिरहेको यसैवैला नेपालमा आर्थिक विकास कसरी गर्न सकिन्छ भनेर एउटा विदेशी कम्पनी मोटो रकम ज्याला लिएर आउने भएको छ । परिवर्तनकारी शक्तिहरु देशको प्रगतिको खाका कोर्न नसकेर कन्सल्टेन्सी निम्ताउन थालेका छन् भने सत्ता सञ्चालन गर्नसमेत कुनै दिन विदेशी नगुहार्लान् भन्न सकिन्न ।
‘फ्रस्ट एण्ड सुल्लिभान’ आर्थिक विकासको मोडल तयार पार्ने नामी कम्पनी मानिन्छ । यसका ग्लोवल अध्यक्ष अरुप जुत्सी र एसिया निर्देशक मनोज मेनन नेपाल आउन लागेका छन् । यिनले अर्थशास्त्री, पूर्वअर्थमन्त्री, नेपाली बिगहाउसका प्रमुख, बहुराष्ट्रिय कम्पनीका कार्यकारी अधिकृतहरुस“ग छलफल गर्ने कार्यक्रमको रहेको छ । त्यसपछि सुल्लिभान समूहले नेपालको आर्थिक र औद्योगिक विकासको क्षमता, प्राथमिकताका क्षेत्र र वैदेशिक लगानी, आर्थिक विविधिकरणका विषयमा मार्गचित्रबारे प्रवचन दिनेछन् । प्रवचन सुन्न भौतिक पूर्वाधार मन्त्रालयले विशेष होमवर्क थालिसकेको छ । पाइला सार्न नसकेको राज्यले दगुर्ने प्रयत्न गर्नुको औचित्य सार्थक होला कि निरर्थक ? आश्चर्य छ ।
सबैलाई थाहा छ, नेपालमा राजनीतिक अस्थिरताका कारणले आर्थिक, सामाजिक, औद्योगिक लहरमा बाधा गरिरहेको छ, राजनीतिक अनिश्चितता नै नेपालको आर्थिक विकासमा लागेको ऐंजेरु हो । यति थाहा पाइसकेपछि पहिले राजनीतिक रोगको निदान हुनजरुरी छ । जबसम्म नीतिहरुको अगुवा राजनीतिक गति ठिक हुन्न, तवसम्म आर्थिक अथवा सामाजिक अवस्था गतिमान हुनैसक्दैन ।
यसकारण आर्थिक विकासको मोडल तयार पार्न ख्याति कमाएको समूह सुल्लिभान नेपाल आएर अध्ययन, विश्लेषण र योजना दिएरमात्र के हुन्छ, जब राजनीति सञ्चालकहरु कन्डक्टरबाट सक्षम चालक बन्न तैयार छैनन् भने । ठूला र सफल उद्यमी, व्यापारी, बहुराष्ट्रिय कम्पनीहरुका सफलताका गाथा सुनेर मात्र के गर्नु, तिनले व्यक्त गर्ने राजनीतिक अवरोध, कानुनी अड्चन, टे«ड युनियनहरुले समय असमय तेस्र्याउने तगारा र गर्ने बन्द हड्तालका कथा सुनेपछि सुल्लिभान पनि तर्सेर फर्कन बेर छैन । 
सुल्लिभान समूहले अच्छा सुझाव देला, मार्गचित्र पनि बनाइदेला तर आर्थिक विकासको जग बसाल्न र निर्माण गर्न राजनीतिक इच्छाशक्ति नकारात्मक रहिरहेको स्थितिमा कागजी मार्गचित्रले मात्र केही हुनेवाला छैन । सबैभन्दा खा“चो विषय भनेको अर्थात जडी कुरोको चुरो आर्थिक विकासको जरा राजनीतिक परिपाटी सही हुनु जरुरी छ । राजनीतिमा वातावरण धमिल्याउने र धमिलो पानीमा माछामार्ने प्रवृत्ति रहेसम्म नेपालको आर्थिक विकासको मार्गचित्र विदेशी विज्ञले बनाइदिदैमा लछारपाटो लाग्दैन । किनभने मार्गचित्रमा हिड्ने प्रतिवद्धता हाम्रो राजनीतिमा पटक्कै देखिदैन ।
राजनीति परिवर्तन गर्न सफल छ, परिवर्तनलाई राष्ट्रिय जीवनमा रुपान्तरण गर्न सक्षम छैन । किनकि नेतृत्व विकास नै हुनसकेछ । काँचो नेतृत्व भएकाले उनीहरुको दिमागमा बुद्धि बंगारो पलाएकै हुन्न । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको शव्दमा संसद भेडी गोठ हो । गोठमा बस्नेको गिदी घोडाको लिदीभन्दा बढी हुन्न । यही कारण लोकतन्त्रका जनता विपदमा छन्, पीडा भोगिरहेका छन् । लोकको उद्धार, देशको विकास, आर्थिक समृद्धि नेताहरुको सोचभन्दा बाहिरको कुरा भएको छ ।
नेता छन्, नेतृत्व छैन । नेताहरु जागीर खाइरहेका छन् । विधिनिर्माता बनेका नेताहरु आफैले बनाएको बिधि आफैले तोडिरहेका छन्, मोडिरहेका छन् र मनखुशी सत्ता चलाइरहेका छन् । सत्तामा बस्ने र दृष्टि भ्रष्टाचारमा लगाउनेहरुको सोचका कारण देशको यो बेहाल भएको हो । कतै पनि कानुनले काम गरिरहेको छैन । सुशासन भाषणमा छ, विकास कागजमा छ, नियम कानुन पैसामा छ । जता हेरे पनि हरिहल्लै चालामाला । बिग्रेको घरको भत्केकोका चाला कतै हेर्नु छ भने लोकतान्त्रिक नेपालको तस्वीर हेरे हुन्छ ।
१२ वर्ष भइसक्यो राजनीतिक परिवर्तन भएको । के भयो खोई ? परिवर्तन नेतालाई प्रशासकलाई र तिनका वरिपरि फन्को मार्नेहरुका लागि आयो । देश दुर्भाग्य भोगिरहेको छ, जनता सराप भोगिरहेका छन् । भाग्य बन्नुपर्ने परिवर्तन दुर्भाग्य बनेपछि कसको के लाग्छ ? जनताले अझै सहिरहेछन्, सावधान भनेका छैनन् । यसकारण पनि नेताहरु आफूखुशी चलिरहेका हुन् । विधिले चल्नुपर्नेहरु मिलेर चल्ने र चलाउने भएपछि विधि कागजको खोस्टो हुनु स्वभाविक हो । संविधान जारी भएको वर्षदिनमा पनि कार्यान्वयन हुनसक्दैन ।
संविधानले एउटा सरकार परिवर्तन गर्ने मार्गसमेत दिन सक्दैन । यो भनेको विधि निर्माताहरुको मनमष्तिष्कमा सोच नै छैन भन्ने हो । खाली दिमाग लिएर देशको शासन प्रशासन चलिरहेको छ । मानौं, नेपाल जंगल हो र यहाँ जंगली शासन चलिरहेको छ । मानौं नेपाल समुद्र हो र यहाँ मत्स्इ न्याय नै सबथोक बनेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: