‘गुण नभए रुप व्यर्थ छ ।’
सामन्य प्रशासनमन्त्री हुँदा विदेशी मुलुकको डीभी–पीआर पाएका कर्मचारीलाई जागिरमुक्त गर्ने ऐन ल्याएर राष्ट्रिय राजनीतिमा चर्चित बनेका लालबाबु पण्डितको तीनकुनेस्थित डेराको प्रवेशद्वारमा मोटा अक्षरमा झुण्ड्याइएका आठ पंक्तिमध्येको एउटा हो, यो ।
‘बेइमान, भ्रष्ट्र र अनैतिक व्यक्ति जुनसुकै ओहोदाको किन नहोस्’, उनको विचारमा, ‘त्यसले राष्ट्रलाई बर्बाद बनाउँछ ।’ माक्र्सवादी स्कुलमा हुर्किएका ५७ वर्षीय लालबाबु भन्छन्, ‘प्रवेशद्वारको भित्तामा टाँसिएका आठवटा उद्गार केही त गीतासँग पनि मेल खालान्, दुनियाँले मलाई कसरी हेर्छ, मुख्य कुरा हो । तर, मैले १६ वर्षदेखि ती उद्गार व्यबहारमा उतार्ने प्रयास गरिरहेको छु ।’
बिहान ६ बजे उठिसक्ने लालबाबु पौने ७ बजेतिर ‘मर्निङ वाक’ मा निस्किन्छन् । बाहिरिनुअघि आधा लिटर तातोपानी पिउने बानी छ । ‘चश्मा र टोपी नलगाए २/३ घण्टा मर्निङ वाकमै बित्छ, नेता हुन पनि अप्ठ्यारो छ’, फिस्स हाँस्दै उनले भने, ‘टोपीले त जाडो र गर्मी दुवैमा टाउकोको सुरक्षा गर्छ ।’
‘पैसा होइन, सम्मान कमाउनुस्’
सुशील कोइराला नेतृत्वको सरकारका यी चर्चित मन्त्री ‘वाकिङ’ मा मिनेट–मिनेट चुनावी मौसममा भोट माग्ने जस्तो शैलीमा प्रस्तुत हुन्छन् ।
एकदिन विहान हिंड्दै गर्दा रेग्मी थरका एक वृद्धले आगालो मारेर भने, ‘मेरा सन्तान अमेरिकामा छन् । मेरो कलेजो प्रत्यारोपण भएकै धेरै भएको छैन । घरमा पैसा उठाउने र हेरविचार गर्ने मान्छे छैनन् । धनसम्पत्तिले केही हुँदो रहेनछ । तपाईंले राष्ट्रलाई धेरै गर्नुभयो, यस्तै सम्मान पाइरहनूस् ।’
एकदिन विहान हिंड्दै गर्दा रेग्मी थरका एक वृद्धले आगालो मारेर भने, ‘मेरा सन्तान अमेरिकामा छन् । मेरो कलेजो प्रत्यारोपण भएकै धेरै भएको छैन । घरमा पैसा उठाउने र हेरविचार गर्ने मान्छे छैनन् । धनसम्पत्तिले केही हुँदो रहेनछ । तपाईंले राष्ट्रलाई धेरै गर्नुभयो, यस्तै सम्मान पाइरहनूस् ।’
लालबाबुले काम विशेषले सार्वजनिक ठाउँमा प्रस्तुत हुँदाको एउटा अनौठो अनुभूति सुनाए, ‘एकदिन म जनता बैंकमा लाइनमा थिएँ । एकजना मानिस घोरिएर मलाई हेर्दै थिए । चिनेछन् । दौडिएर खुट्टा समाउन खोजे, ‘भगवान’ भन्न थाले । मैले कुनै हालतमा खुट्टा छुन दिइना । कांग्रेसका पुराना कार्यकर्ता रहेछन् । मानिसहरु झुम्मिए । उनलाई राजनीतिप्रति वितृष्णा जागिसकेको रहेछ । तर, मेरो कामबारे सबैका सामु प्रशंसा गर्न थाले । मलाई अप्ठ्यारो महसुस भयो । यो देशमा राष्ट्रियता कमजोर छ, सबै मिलेर देश बनाउनुपर्छ भन्दै नम्बर दिएँ, पछि उनी सम्हालिएर आफ्ना काममा लागे, म आफ्नो बाटो लागेँ ।’
५० लिटर डिजल बेच्न नपाउँदा ड्राइभर रोए
पदबाट हट्दाको लालबाबुसँग गजबको सम्झना छ । उनी ०६४ सालपछि पहिलो संविधानसभामा अल्पसंख्यक तथा सीमान्तकृत समुदायसम्बन्धी समितिका सभापति थिए । त्यही हैसियतमा उनलाई गाडी सुविधा प्राप्त थियो । संविधानसभाको आयु सकिएपछि उनले एक दिन पनि बढी गाडी नराख्ने योजना पहिला नै सुनाइसकेका थिए ।
लालबाबुको सरकारी ड्राइभर छेउमा आएर द्विविधाग्रस्त ‘मुड’मा प्रस्तुत भयो । उसले भनेछ, ‘अरु ठीक छ हजुर, गाडीमा ५० लिटर डिजल छ, हजुरले हुन्छ भन्नुभयो भने म निकाल्छु ।’
उनले भने, ‘यस्तो काम मबाट हुँदैन ।’
ऊ ‘फिर्ता जाने त हो नि !’ भन्दै थियो, लालबाबु झोक्किए । ऊ बोल्न सकेन, आँसु खसाल्यो ।
‘राष्ट्रपतिज्यू सिस्टम नभत्काउनुस्’
कुराकानीका क्रममा पण्डितले राष्ट्रपतिसँग भएको कुराकानी स्मरण गरे । उनले भने, ‘एकदिन राष्ट्रपतिज्यूले एकजनालाई जागिर भन्दिनुपर्यो भन्दै फोन गर्नुभयो । मैले भनेँ, ‘एकजना व्यक्तिका लागि तपाईं यसो भन्नुहुन्छ भने कसरी सबैको राष्ट्रपति बन्नुहुन्छ ?’ उहाँले अचम्म मानेर ‘ठीकै भन्नुभो’ भन्दै फोन राख्नुभो । मेरो मान्यता ठूला र जिम्मेवार मान्छेले कहिल्यै पद्दति मिच्नु हुँदैन भन्ने हो ।’
कक्षा लिइदिन आग्रह
आधारभूत मेकानिकल इन्जिनियरिङ गरेका उनले सार्बजनिक प्रशासनमा डिप्लोमा गरेका छन् । अचेल स्वास्थ्यले साथ नदिँदा पुस्तक पढ्न सकेका छैनन् । ‘तर पनि नेपालको संविधान, केही ऐन, नियम र कानुनका किताब यसबीचमा हेरेको छु, प्राध्यपन पेशा नभए पनि कहिलेकाँही पढाउन जान्छु’, लालबाबुले भन्छन् ।
यसबीचमै उनले नेपाल प्रशासनिक प्रतिष्ठान जाउलाखेलमा दुई पटक सहसचिव, न्यायिक प्रतिष्ठान र सरकारी वकिलहरुलाई क्लास दिएका छन् । ‘अचेल धेरैतिर बोलाउन थालिएको छ, भ्याएसम्म जान्छु, कलेजका कार्यक्रमहरु पनि जान्छु’, लालबाबु भन्छन् ।
१० लाखले पढ्दाको खुसी र मन्त्रिपरिषद्को तनाव
लालबाबुको जीवनको सबैभन्दा खुसीको क्षण कुन हो ? ‘संसद्बाट निजामती सेवा ऐन पारित हुँदाको क्षण हो’, उनी भन्छन्, ‘म त्यस दिन सबैभन्दा बढी खुसी थिएँ, ऐन पारित हुने बितिक्कै अनलाइन खबरमा ‘लालबाबुले युद्ध जिते’ शीर्षकमा समाचार आयो ।’ दुई दिनमा त्यो समाचार १० लाखले पढेछन् । उनी भन्छन्, ‘पछि संविधानमा पनि व्यवस्था हुँदा दोस्रो पटक धेरै खुसी लाग्यो ।’
लालबाबुले सबैभन्दा बढी तनावको क्षणका रुपमा मन्त्रिपरिषद्बाट ऐन पारित गराउने बेलामा भएको बहसलाई लिएका रहेछन् । ‘त्यसबेला पाँच घण्टा चलेको मन्त्रिपरिषद्मा साढे तीन घण्टा एक्लै अडान लिएर भिडेँ’, उनी भन्छन्, ‘जुन मेरा लागि सबैभन्दा बढी तनावको क्षण थियो ।’
‘महाधिवेशन तयारीका क्रममा बल्खुमा ४० जना केन्द्रीय सदस्यसहितको बैठकमा जेएन कमरेडले ‘तपाईंको जीवन खतरामा छ, सुरक्षाका दृष्टिबाट पनि हेर्नुपर्छ होला’ भन्नुभयो । मैले ‘खतरा मोलेको छु, हिम्मत हुनेहरुले झण्डा ओढाउनुहोला, कायरहरुले पर्दैन भनेँ ।’
झलनाथको ‘खतरा नमोल्न सुझाव’ र दुईघण्टे ‘थ्रेट’
निजामती सेवा ऐन संशोधनका पक्षमा उनले अडान राखिरहेकै थिए, एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनालले उनलाई ‘सुरक्षा खतरा’ रहेको भन्दै ‘विचार गर्न’ सुझाए । ‘महाधिवेशन तयारीका क्रममा बल्खुमा ४० जना केन्द्रीय सदस्यसहितको बैठकमा जेएन कमरेडले ‘तपाईंको जीवन खतरामा छ, सुरक्षाका दृष्टिबाट पनि हेर्नुपर्छ होला’ भन्नुभयो । मैले ‘खतरा मोलेको छु, हिम्मत हुनेहरुले झण्डा ओढाउनुहोला, कायरहरुले पर्दैन भनेँ । राज्य व्यवस्था समितिमा पनि यही कुरा दोहोरिदाँ आत्महत्या गर्दिनँ भनेँ । पछि प्रधानमन्त्रीले गृहमन्त्री सरहकै सुरक्षा व्यवस्था मिलाउनु भयो ।’
मन्त्रालयमै परिचित व्यक्तिले भेटेर हात मिलाउँदै पण्डितलाई ‘अडानबाट पछि नहटे तपाईं दुई घण्टा बढी बाँच्नु हुन्न’ भनेछन् । लालबाबु सम्झिन्छन्, ‘मैले आफ्नो काममा अघि बढ्छु भनेँ ।’
समयप्रति सचेत
लालबाबु पण्डितसँग निजी सवारी साधन छैन । त्यसैले दुरी हेरेर सार्बजनिक वा कसैको निजी सवारी प्रयोग गर्नुपरेकाले छिट्टै कार्यक्रमका लागि तयार हुन्छन् ।
समयको महत्व दर्शाउँदै उनले एउटा घटना सुनाए । ‘तत्कालीन राष्ट्रपति डा. रामवरण यादव चीनबाट फर्किंदै हुनुहुन्थ्यो । विमानस्थलमा उहाँकी छोरी अनिता यादव समयमै आइपुग्नु भएन र प्लेन छुट्यो’, उनले भने, ‘खासमा बसेको होटलमा क्रिम, पाउडर लगाउन समय लाग्दा ढिला भएछ र राष्ट्रपति–पुत्रीका लागि चीनले छुट्टै प्लेनको व्यवस्था गर्नुपर्यो ।’
२४ वर्षदेखि सिनेमा नहेर्ने वाचा
लालबाबु हलमै गएर कहिल्यै सिनेमा हेर्दैनन् । ०४८ सालतिर हलमा हिन्दी फिल्म ‘दिल’ हेर्ने क्रममा एउटा घटना भएपछि हलमा पुगेर कहिल्यै फिल्म नहेर्ने वाचा गरेका हुन् उनले ।
‘पहिलो पटक सांसद निर्वाचित भएको एक सातापछि साथी र म दुईजना ‘नाइट सो’ मा फिल्म हेर्न हलमा गयौं । दुवै अविवाहित थियौं । डेरा नजिकै हल थियो । फिल्म हेर्दै थियौं । एक जना किसान नजिक आए र भने– ‘तपाईं लालबाबु !’ यो शब्द तिनले १० पटकसम्म दोहर्याए । उनी मलाई देखेर किन ‘सक’ भए होलान्, थाहा भएन । तर, ती व्यक्ति सधैँका लागि ‘हाफ् माइण्ड’ जस्ता भए । त्यो घटनापछि मैले कहिल्यै हलमा गएर फिल्म नर्हेने वाचा गरेँ ।’
त्यसयता लालबाबुले मुश्किलले २/४ वटा फिल्म घरमै सिडीबाट हेरेका छन् । बरु, उनी फुर्सदमा डिस्कभरी च्यानल, सामाजिक विषयबस्तु र धर्मसँग जोडिने च्यानल हेर्ने गर्छन् ।
ज्योती मगरले समाउँदा अप्ठ्यारो
सार्वजनिक जीवन भोगेपछि अनेक खालका घटना हुन्छन् । तीमध्येका एउटा छाडा नाचका लागि आलोचित ज्योती मगरसँग सम्बन्धित छ ।
केही महिनाअघि उनी गोठाटारको एउटा सहकारीको कार्यक्रममा सहभागी थिए । अतिथि को–को छन्, पहिल्यै थाहा थिएन । कार्यक्रम चल्दै थियो । त्यहाँ तिनै ज्योती मगर पनि पुगिन् । कार्यक्रम बढ्दै जाँदा उनले एउटा गीतमा प्रस्तुति दिन थालिन् । ‘त्यो मलाई अश्लील जस्तो लाग्यो’, लावबाबु भन्छन्, ‘तिनको भेषभुषा र हाउभाउले अप्ठ्यारो लागिरहेको थियो । उनले मेरो नजिक आएर पाखुरा समातेर सँगसँगै नचाउन खोजिन्, मैले उनीसँग नाचे जस्तो त गरेँ । तर एकदम असहज महशुस भयो । मन अमिलो बनाउँदै हल्लिएँ मात्रै ।’
त्यस घटनापछि पहिला आयोजक र अतिथिहरुबारे पूरै जानकारी राखेर मात्रै कार्यक्रममा सहभागी हुने गरेको लालबाबुले अनुभव सुनाए ।
‘त्यो मलाई अश्लील जस्तो लाग्यो’, लावबाबु भन्छन्, ‘तिनको भेषभुषा र हाउभाउले अप्ठ्यारो लागिरहेको थियो । उनले मेरो नजिक आएर पाखुरा समातेर सँगसँगै नचाउन खोजिन्, मैले उनीसँग नाचे जस्तो त गरेँ । तर एकदम असहज महशुस भयो । मन अमिलो बनाउँदै हल्लिएँ मात्रै ।’
प्रविधिमा सचेत
फुर्सदमा लालबाबु फेसबुकमार्फत आफ्ना औपचारिक कार्यक्रम र तस्वीर अपडेट गर्छन्, सूचना लिन्छन् । ‘फेसबुक र जिमेलमा सन्देश रिसिभ गर्छु तर उत्तर कम दिन्छु, सामान्य औपचारिक गतिविधिहरु पोस्ट गर्छु’, उनी भन्छन् ।
फेसबुकमा उनका ४ हजार ७ सय साथी छन् भने फ्यान पेजमा ५ हजार ३ सय ४७ । मन्त्री निवासमा पत्रकार ऋषि धमलाको टोलीले खेलेको देउसीदेखि अन्य औपचारिक कार्यक्रमको फोटो पोस्ट गरेका छन् । प्रविधिको पछिल्लो विकास र महत्वबारे जानकार उनी प्रयोगमा पूर्ण अभ्यस्त छैनन् ।
साँझ समाचार र सम्पर्क
दिनभरको नियमित कामपछि धेरैजसो साँझपछि फुर्सदिला उनी ‘न्यूज अपडेट’का लागि अनलाइन, टेलिभिजन र रेडियोको सहारा लिन्छन् । ‘म साँझपछि जरुरी भेटघाटबाहेक न्युजमा अपडेट हुन्छु, दिउँसो सम्पर्क गर्न नपाएका टेलिफोन कलब्याक गर्छु, महत्वपूर्ण सम्वाद गर्छु, भोलिपल्टका कार्यक्रमहरुबारे जानकारी लिएर आवश्यकताअनुसार तयारी गर्छु’, लालबाबु भन्छन् ।
‘म अहिले १० वर्षभित्र अरबमा रहेका युवालाई स्वदेशमै फर्काएर देश निर्माण गर्नुपर्छ भन्ने अभियानमा छु । सरकार बाहिर रहेरै यसमा आफ्नो तर्फबाट सहयोग गरिरहेको छु ।’
देश आफ्नै पौरखले बन्छ
राष्ट्रवादी भावनाका लालबाबु देश आफ्नै पौरखमा मात्र बन्ने बताउँछन् । ‘देश आफ्नै पौरखले बन्छ, सकारात्मक सोचको विकास गरौं, देशको समृद्धि र विकास अरुको उक्साहटमा दश गजामा लम्पसार परेर हुँदैन ।’
लालबाबुले आफ्नो भावी योजना सुनाए– ‘म अहिले १० वर्षभित्र अरबमा रहेका युवालाई स्वदेशमै फर्काएर देश निर्माण गर्नुपर्छ भन्ने अभियानमा छु । सरकार बाहिर रहेरै यसमा आफ्नो तर्फबाट सहयोग गरिरहेको छु ।’