×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पछि तिरौँला, पैसा ल्यउनुस् न’ भनेर माग्नुहुन्छ, तर फिर्ता दिनुहुन्न’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ श्रावण २०७३, शनिबार

PRIME CA
laxmi sunrise bank

‘पछि तिरौँला, पैसा ल्यउनुस् न’ भनेर माग्नुहुन्छ, तर फिर्ता दिनुहुन्न’

एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई ‘मिडिया फ्रेन्ड्ली’ छन् । आफ्ना कुरा स्पष्ट र खरो ढंगले राख्ने नेताका रूपमा पनि चिनिन्छन् । पार्टीभित्र नेता माधव नेपालको समूहमा रहेका उनी वेलाबखत संस्थापनको आलोचना गरेर पनि चर्चामा आउँछन् । नेता भट्टराईबारे पत्नी बिन्दा घिमिरेलाई नयाँ पत्रिकाका खगेन्द्र पन्तले १०१ प्रश्न सोधेका छन् :
पहिला डान्स थेरापी जानुहुन्थ्यो
१. बिहान कति बजे उठ्नुहुन्छ ?
राति ढिलो सुत्नुभयो वा बिहान चाँडै काम छ भने छुट्टै हो । सामान्यतया उहाँ ६ बजे उठ्नुहुन्छ ।
२. चिया–कफी के रुचाउनुहुन्छ ?
प्रायः बिहानमा चिया, कफी खानुहुन्न । ग्रिन टी लिनुहुन्छ । त्यसपछि दूध खानुहुन्छ ।
३. एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ?
गर्नुहुन्छ । पहिला बिहान डान्स थेरापी जानुहुन्थ्यो, अचेल बेलुका क्लब जानुहुन्छ ।
४. त्यसो भए डान्स राम्रो गर्नुहुन्छ होला हैन ?
यो उमेरमा आएर एकदमै राम्रो नाच्न त कसरी सिक्नुहुन्थ्यो, तैपनि आवश्यकताअनुसार शरीर हल्लाउनुहुन्छ (हाँसो) ।
५. ‘डान्स कति सिक्नुभयो, गरेर देखाउनु’ भनेर कहिले जिस्काउनुभएको छैन ?
‘पैसा खर्च गरेर के सिक्नुभयो त डान्स’ भनेर जिस्क्याउँछु । ‘वेट घटाएर शारीरिक रूपमा फिट भएँ नि’ भन्नुहुन्छ ।
६. राति कतिखेर सुत्नुहुन्छ ?
एघार बजेअगाडि कहिल्यै सुत्नुहुन्न ।
मासु चाख्दै पकाउनुहुन्छ
७. बिहानको खाजामा के लिनुहुन्छ ?
बिहान चाँडै निस्किनुपर्ने भयो भने हामी प्रायः खाना खाएरै निस्कन्छौँ । ढिला खाना खाइने भयो भने सुक्खा रोटी, तरकारी, फलफूल, दूध लिनुहुन्छ ।
८. खानामा के मन पराउनुहुन्छ ?
दालभात, तरकारी । सामान्य खाना नै हो हामीले खाने ।
९. माछामासु कत्तिको रुचाउनुहुन्छ ?
पहिला त एकदमै मन पराउनुहुन्थ्यो । अचेल त्यति धेरै रुचि देखाउनुहुन्न । नभइनहुने भन्ने हुँदैन ।
१०. दिउँसो खाजा के खानुहुन्छ ?
दिउँसोको खाजाको बारेमा मलाई थाहा
हुँदैन । दुवैजना बाहिर नै हुन्छौँ । घरमा भएका दिन भने मौसमअनुसारको खाजा खान्छौँ, जस्तो कि अचेल उसिनेको वा भुटेको मकै खान्छौँ ।
११. रातिको खानामा के खानुहुन्छ ?
राति हामी सधैँ रोटी, तरकारी, दूध खान्छौँ ।
१२. खानामा कमेन्ट गर्ने स्वभाव कत्तिको छ ?
कमेन्ट गर्ने बानी नै छैन, जस्तो दियो त्यस्तै खानुहुन्छ । नुन हामी एकदमै कम खान्छौं । कहिले काँही नुन चर्को भएको रहेछ भने चाँही ‘आज अलि नुन बढी भएछ’ भन्नुहुन्छ, त्यत्ति हो ।
१३. कहिलेकाहीँ आफैँ किचनमा पस्नुहुन्छ ?
पस्नुहुन्छ वेला–वेलामा । के पाक्दै छ भनेर हेर्नुहुन्छ । म अरू काममा लागेँ भने तरकारीहरू चलाइदिने गर्नुहुन्छ ।
१४. आफैँ खाना पकाउन कति रुचि देखाउनुहुन्छ ?
पहिला–पहिला त गर्नुहुन्थ्यो । अचेल त्यति भ्याउनुहुन्न । फेरि पनि मासु ल्याएका दिन आफैँ भान्से लाग्नुहुन्छ । चाख्दै पकाउँदै गर्नुहुन्छ।
१५. के–के पकाउन आउँछ उहाँलाई ?
सामान्य खाना सबै पकाउन आउँछ । दालभात, तरकारी, मासु पकाउनुहुन्छ ।
१६. सबैभन्दा मीठो के पकाउनुहुन्छ ?
मासु साह्रै मीठो पकाउनुहुन्छ । पहिला–पहिला साथीहरू आएका वेला पकाउन कस्सिनुहुन्थ्यो । साथीहरूले पनि ‘योगेशजीले मीठो पकाएर खुवाउनुहुन्छ’ भन्नुहुन्थ्यो ।
१७. घरमा कसले पकाउँछ ?
घरमा भएका वेला वा फुर्सद हुँदा प्रायः म नै पकाउँछु, सहयोगी पनि छ ।
१८. कसले पकाएको धेरै मन पराउनुहुन्छ ?
मैले पकाएको मीठो मान्नुहुन्छ होला भन्ने लाग्छ, तर उहाँले आफैँले चाहिँ भन्नुभएको छैन है (हाँसो) ।
१९. उहाँले पकाएको तपाईंंले खान नपाएको कति भयो ?
धेरै भएको छैन । वेला–वेलामा मासु त पकाउनुहुन्छ । म अरू काममा छु भने भात बसाइदिनुहुन्छ ।
२०. तपाईंले पकाएको कुन परिकार उहाँले धेरै मीठो मान्नुहुन्छ ?
करेलाको तरकारी मीठो मान्नुहुन्छजस्तो लाग्छ ।

प्रेमपछि बाजा बजाएर बिहे
२१. तपाईंहरूको बिहे कति सालमा भएको ?
०५१ साल जेठ २१ गते ।
२२. प्रेम विवाह कि मागी विवाह ?
दुवै भन्नुप-यो । एक–अर्कालाई मन पराउने भएपछि घरबाटै नौमती बाजा बजाएर बिहे भएको हो ।
२३. पहिलोपल्ट दुईजनाको भेट कहाँ भएको थियो, याद छ ?
हाम्रो गाउँ एउटै हो । गाउँमै हुँदा देखेकी हुँला, तर भेटचाहिँ काठमाडौंमै भएको हो । मेरा दाइ तारा घिमिरे पनि एमालेको राजनीतिमा हुनुहुन्थ्यो । कोटेश्वरमा उहाँको कोठा थियो । एसएलसीपछि म नर्सिङ पढ्न काठमाडौं आएँ र सुरुका केही महिना दाइसँगै बसेँ, पछि महाराजगन्ज होस्टेलमै बसेँ । उहाँ दाइसँगै कोठामा आउनुभएको थियो ।
२४.  पछि भेटघाट कसरी बाक्लियो त ?
उहाँ विद्यार्थी राजनीतिमा हुनुहुन्थ्यो, म पनि क्याम्पसको प्रारम्भिक कमिटीमा थिएँ । कहिलेकाहीँ जिल्लावासीहरूको पिकनिक,  देउसीभैलो कार्यक्रममा पनि भेट हुन्थ्यो । मैले नर्सिङ सकेर कान्ति बाल अस्पतालमा जागिर सुरु गरिसकेकी थिएँ । कहिलेकाहीँ अस्पतालमै भेट्न पनि आउनुहुन्थ्यो र ‘टिचिङ अस्पतालमा आएको थिएँ, त्यही वेला यता पनि पसेको’ भन्नुहुन्थ्यो ।
२५. प्रेमप्रस्ताव कसले पहिला राख्नुभयो नि ?
(हाँसो) म कान्ति अस्पतालमै थिएँ । उहाँले एकजना साथीमार्फत प्रस्ताव पठाउनुभयो ।
२६. को साथीमार्फत ?
रामनाथ ढकालमार्फत ।
२७. अनि, तपाईंले के भन्नुभयो त ?
मेरो दिमागमा त्यस्तो केही पनि थिएन । उहाँले मलाई मन पराउनुहुन्छ भन्ने संकेत पनि पाएकी थिइनँ । अचानक उहाँको प्रस्ताव आयो । ‘मलाई यस विषयमा केही थाहा छैन, घरमा कुरा गर्नुहोस्’ भनिदिएँ ।
२८. घरमा सजिलै मान्नुभयो त ?
घरसम्म कुरा त पु-याउनुभएछ, तर मेरो घरबाट त्यति चासो नदिएजस्तो लाग्यो । त्यसपछि पाँच–६ महिना यो कुरा त्यत्तिकै पेन्डिङमा रह्यो ।
२९. पछि कसरी अगाडि बढ्यो त कुरा ?
उहाँको साथीहरूले मेरो दाइसँग पनि कुरा राख्नुभएछ । दाइले ‘बहिनीले के भन्छे, उसैले हो निर्णय लिने’ भन्नुभएछ । त्यतिखेर म जागिरकै सिलसिलामा पोखरा थिएँ । त्यसपछि उहाँले पोखरामा पनि साथीहरूमार्फत कुरा पठाउनुभयो ।
३०. तपाईंले के भन्नुभयो त ?
मैले ‘अन्तिम निर्णय त मेरो परिवारले नै लिने हो’ भनेँ ।
३१. दुई–दुईपटक प्रस्ताव पठाउँदा पनि उहाँप्रति तपाईंमा प्रेम पलाएन ?
(हाँसो), उहाँका साथीहरू आएर ‘यस्तो राम्रो मान्छेलाई पनि किन नाइँ भनेको होला’ भनेर उहाँको बखान गर्नुहुन्थ्यो । मलाई राम्रो लागे पनि विवाह घरकै अनुमतिमा गर्नुपर्छ भन्ने सोच थियो ।
३२. पछि कसरी कुरा मिल्यो त ?
मेरो दाइ (फुपूको छोरा)ले मलाई ‘यस्तो कुरा आएको छ, के छ विचार ?’ भनेर सोध्नुभयो । मैले ‘ठिकै छ’ भनेँ । सायद घरका मान्छेले मेरो धारणा बुझ्न उहाँलाई भन्नुभएको होला । अनि, एकैपटक बिहे गर्न दाइ मलाई लिन पोखरा आउनुभयो । घरबाटै बिहे भयो ।
३३. घरबाट पनि स्वीकृति मिलेपछि त दुईजनाको भेटघाट बढ्यो होला नि ?
हाम्रो त्यस्तो थिएन । म पोखरा थिएँ, उहाँ काठमाडौंमा । उहाँ पोखरा आउँदा वा म काठमाडौं आउँदा भेटघाट हुन्थ्यो । फोनमा कुराकानीचाहिँ बढेको थियो ।
३४. डेटिङका लागि कस्ता ठाउँहरू रोज्नुहुन्थ्यो ?
हाम्रो अहिलेका केटाकेटीजस्तो डेटिङ नै हुँदैनथ्यो । हामी दुवैजना धेरै नबोल्ने । भेट्न आउँदा पनि उहाँ साथी लिएर आउनुहुन्थ्यो, म पनि साथी लिएर जान्थेँ । लामो समयपछि भेट हुन्थ्यो ।
३५. बिहे भएपछि घर कति बस्नुभयो ?
मेरो अफिसबाट धेरै दिन बिदा नै थिएन, १५ दिनको बिदा लिएर गएकी थिएँ । बरु, काममा फर्किएपछि चाहिँ बिदा दिए । पछि त काठमाडौंमा तालिमहरू पर्दा मलाई प्राथमिकतामा राखेर पठाउँथे । केही समयपछि काठमाडौं नै सिफ्ट भएँ ।
खुसुखुसु सिनेमा हल जानुहुन्छ
३६. सिनेमा हेर्न कति मन पराउनुहुन्छ ?
मन पराउनुहुन्छ । वेला–वेलामा खुसुखुसु जानुहुन्छ ।
३७. तपाईंलाई लैजानुहुन्न ?
मेरो रुची पनि घट्दै गएको छ, अर्को मलाई फुर्सद पनि हुँदैन ।
३८. कस्ता सिनेमा रुचाउनुहुन्छ ?
राजनीतिक कथावस्तु भएका, चर्चा कमाएका सिनेमाहरू मन पराउनुहुन्छ ।
३९. बूढाबूढी हलमै गएर सिनेमा नहेरेको कति भयो ?
तीन–चार वर्ष भयो होला ।
४०. पछिल्लोपटक कुन सिनेमा हेर्नुभएको थियो ?
त्यो त बिर्सेँ ।
४१. घरमै डिभिडी ल्याएर कत्तिको हेर्नुहुन्छ ?
डिभिडि ल्याएर त होइन, राम्रा सिनेमाहरू उहाँले डाउनलोड गरेर ल्याउनुहुन्छ, ल्यापटपमा हेरिन्छ ।
४२. टेलिभिजनमा सिरियल हेर्नुहुन्छ कि हेर्नुहुन्न ?
हास्य सिरियल हेर्नुहुन्छ । अरू त हेर्नुहुन्न ।
४३. गीत कत्तिको सुन्नुहुन्छ ?
सुन्नुहुन्छ । वेला–वेला गुनगुनाउनुहुन्छ ।
४४. कुन गीत धेरै गुनगुनाउनुहुन्छ ?
जीवन शर्माको एउटा गीत छ नि, त्यो गुनगुनाइरहनुहुन्छ वेला–वेलामा ।
४५. कस्ता गीत रुचाउनुहुन्छ ?
बढीजसो क्रान्तिका गीतहरू सुन्न मन पराउनुहुन्छ ।
रक्सी खानुहुन्थ्यो छाड्नुभयो
४६. चुरोट–खैनी खानुहुन्छ कि खानुुहुन्न ?
त्यो त खानुहुन्न । मैले अहिलेसम्म देखेको छैन ।
४७. रक्सी खानुहुन्छ कि खानुहुन्न ?
पहिला त खानुहुन्थ्यो, अचेल छाडिसक्नुभयो ।
४८. कति खानुहुन्थ्यो ?
साथीभाइसँग बसेका वेला, पार्टीहरूमा खानुहुन्थ्यो ।
४९. तपाईंले खानुहुन्छ कि हुन्न ?
कहिलेकाहीँ वाइन खान्छु । तर, वर्षमा एक–दुईपटक हुन्छ होला ।
५०. बूढाबूढी सँगै बसेर खानुभएको छ ?
दुईजना मात्रै भएर त खाएका छैनौँ ।
५१. उहाँ रक्सीले मातेर तपाईंसँग कहिल्यै झगडा परेको छ कि छैन ?
छैन । रक्सी खाएपछि उहाँ धेरै बोल्ने भएको भए पो झगडा हुनु, खाएर आएका दिन लुसुक्क सुतिहाल्नुहुन्थ्यो ।
५२. नखान भन्नुहुन्थेन ?
भन्थे नि भन्न त ।
५३. छाडेको कति  भयो ?
ठ्याक्कै त याद छैन, तर कम्तीमा सात–आठ वर्ष भयो होला ।
लुगामा आइरन लगाइदिनुहुन्छ
५४. सहयोगी कत्तिको हुनुहुन्छ ?
सहयोगी नै हुनुहुन्छ ।
५५. तपाईंका लुगामा आइरन गरिदिनुहुन्छ ?
मलाई अफिस जान हतार भएका वेला लगाइदिनुहुन्छ,  त्यसमा अप्ठ्यारो मान्नुहुन्न ।
५६. कहिल्यै तपाईंका लुगा धोइदिनुभएको छ ?
मेरा लुगा नधोइदिए पनि आफ्ना लुगा धोएर सघाउनुहुन्छ । कहिलेकाहीँ ब्ल्यांकेटहरू धुँदा, लुगा सुकाउन सघाउनुहुन्छ ।
५७. उहाँ उम्मेदवार बन्दा तपाईं प्रचारमा कत्तिको खट्नुभयो ?
खटिएँ नि ।
५८. त्यस्तो वेला उहाँसँग जनताका कस्ता–कस्ता गुनासा पाउनुभयो ?
धेरै ठूला गुनासा थिएनन् । केही ‘फोन उठाउँदैन’ भन्ने गरेको सुनियो । बूढापाकाहरूसँग उनीहरूकै भाकामा त्यति धेरै कुरा गर्न जान्नुहुन्नजस्तो लाग्यो ।
५९. सुधारको सल्लाह दिनुहुन्छ कि हुन्न ?
किन नदिनु नि ? उहाँको क्रिटिकल कमेन्ट गर्छु । वरिपरि हुने सबैले आलोचना त्यति गर्दैनन् । राम्रो मात्रै भन्ने हुन्छन् धेरै ।
मौका मिल्दा घुम्न जान्छौँ
६०. खाजा–खाना खुवाउन कहिलेकाहीँ रेस्टुरेन्ट कत्तिको लैजानुहुन्छ ?
कहिलेकाहीँ मात्रै, धेरै जाँदैनौँ । बाहिरै खानेभन्दा बाहिरबाट घरमै ल्याएर खाने गर्छौँ ।
६१. बाहिर नलैजाँदा गुनासो गर्नुहुन्न ?
गर्दिनँ, किन गुनासो गर्नु ? साँच्चिकै भन्नुहुन्छ भने मलाई पनि त्यति फुर्सद हुँदैन ।
६२. त्यसो भए समय नपाएको भन्दै उहाँले गुनासो गर्नुहुन्छ होला ?
(हाँसो) त्यस्तो पनि हुँदैन । हामी दुईजनाकै समय मिल्नुपर्ने हुन्छ । कहिले कसको, कहिले कसको नमिल्ने हुन्छ । समय मिल्दा जाने गर्छौँ ।
६३. घुम्न कत्तिको लैजानुहुन्छ ?
दुवैको समय मिल्यो भने वेला–वेलामा जान्छौँ । हालै मात्र चन्द्रागिरि,  बल्थली, हलेसी पुगेर आयौँ ।
राति आठ बजेअघि घर आएको रेकर्ड छैन
६४. परिवारलाई समय कत्तिको दिनुहुन्छ ?
फुर्सद हुँदा दिनुहुन्छ । तर, उहाँलाई फुर्सद कम हुन्छ । बिहान सात–आठ बजेपछि हामी दुवैलाई प्रायः फुर्सद हुँदैन, साँझमा उहाँ आठ बजेभन्दा चाँडो घर आएको रेकर्ड कम छ ।
६५. चाँडो घर आउनु भन्नुहुन्न ?
वेला–वेला भन्छु, साँझमा त सकभर चाँडै घर आए हुन्थ्यो भनेर ।
६६. परिवारसँग बसेका वेला कस्ता कुराकानी गर्नुहुन्छ ?
सबै खालका हुन्छन्, तर राजनीतिका कुरा एकदम कम हुन्छन् ।
६७. आफूले थाहा पाएका राजनीतिक घटनाक्रम तपाईंलाई कत्तिको खुलेर बताउनुहुन्छ ?
आफैँ भएर बताउनुहुन्न । समाचारहरू हेरेर म पनि ‘अपडेट’ भइरहेकी हुन्छु । उहाँलाई सोध्यो भने मात्रै बताउनुहुन्छ । आफँै राजनीतिक कुराहरू त्यति सेयर गर्नुहुन्न ।
कहिलेकाहीँ झिल्के लुगा लगाउनुहुन्छ
६८. आफूले लगाउने लुगामा कत्तिको सचेत हुनुहुन्छ ?
सचेत नै हुनुहुन्छ । रोजेको लुगा लगाउनुहुन्छ ।
६९. कस्तो लुगा लगाउन रुचाउनुहुन्छ ?
जिन्स–टिसर्टलगाउन मन पराउनुहुन्छ । कोट–पाइन्ट, सर्ट पनि लगाउनुहुन्छ ।
७०. तपाईंले चाहिँ कस्तो लुगामा राम्रो देख्नुहुन्छ ?
जस्तो लुगा लगाउँदा पनि उहाँलाई सुहाउँछ । सर्ट–पाइन्ट, कोटमा अझ राम्रो देखिनुहुन्छ । पछिल्लो समय ‘जिन्सहरू नलगाउँदा नै राम्रो’ भन्ने गरेकी छु ।
७१. किन नि ?
कहिलेकाहीँ झिल्के लुगा पनि लगाउनुहुन्छ । अब उमेर  पनि भयो नि । फर्मल कार्यक्रममा धेरै गइरहनुपर्छ उहाँलाई, त्यस्तोमा जाँदा फर्मल भएरै जानु राम्रो नि ।
७२. मान्नुहुन्छ त तपाईंको सुझाब ?
(हाँसो) पछिल्लो समय सर्ट–पाइन्ट, कोट नै बढी लगाउन थाल्नुभएको छ । कहिलेकाहीँ ‘यस्तो लुगा लगाउनुस् न’ भन्यो भने ‘अरूको लुगामा पनि किन कमेन्ट गर्नु ? आफ्नो रुचिअनुसार लगाउने हो नि’ भन्नुहुन्छ ।
७३. लुगामा आइरन गर्न जान्नुहुन्छ कि जान्नुहुन्न ?
जान्नुहुन्छ ।
७४. आफैँ गर्नुहुन्छ ?
म अरू काममा व्यस्त भएका वेला आफैँ लगाउनुहुन्छ ।
७५. आफ्ना लुगा आफैँ किन्नुहुन्छ कि अरूले किनिदिनुपर्छ ?
कहिलेकाहीँ किन्नुहुन्छ । नत्र प्रायः साथीभाइले गिफ्ट पठाइदिन्छन् । भित्री लुगाहरू मैले पनि किनिदिन्छु ।
उहाँको आम्दानी अहिलेसम्म देखेकी छैन
७६. आफ्नो आम्दानी तपाईंलाई दिनुहुन्छ कि आफैँ राख्नुहुन्छ ?
(हाँसो) उहाँको आम्दानी मैले अहिलेसम्म देखेकी छैन । तर, कहिलेकाहीँ पुख्र्यौली सम्पत्तिबाट आएको रकम रहेछ भने पनि आफँैचाहिँ राख्नुहुन्न, मलाई दिनुहुन्छ ।
७७. तपाईंले आफ्नो आम्दानी उहाँलाई दिनुहुन्छ कि आफैँ राख्नुहुन्छ ?
एउटाले राख्ने भन्ने हुँदैन, हाम्रो राख्ने ठाउँ एउटै हुन्छ । उहाँलाई चाहिँदा माग्नु पनि हुन्छ ।
७८. एकपटकमा कति रकम दिनुहुन्छ ?
काम हेरेर हुन्छ । सामान्य पकेट खर्च हो भने ५–१० हजार लग्नुहुन्छ ।
७९. उहाँको खर्च केमा हुन्छ ?
गाडीमा हुन्छ । कहिलेकाहीँ चिया–खाजा खाँदा हुन्छ होला । कहिलेकाहीँ ‘मेरो पैसा नै खर्च भएको रहनेछ,  पकेटमै छ’ भन्नुहुन्छ ।
८०. तपाईंसँग सापट भनेर पैसा कत्तिको माग्नुहुन्छ ?
माग्नुहुन्छ नि । ‘पछि तिरौँला, पैसा ल्यउनुस् न’ भनेर  माग्नुहुन्छ । तर, फिर्ता आउँदैन ।
८१. कहिलेकाहीँ जिस्किएर ‘सापट मागेको पैसा फिर्ता गर्नुस्’ भन्नुहुन्न ?
भन्दिनँ । राजनीतिमा लाग्नुभएको छ, आम्दानी हुने पदमा हुनुहुन्न भन्ने मलाई थाहा छ । यस्तो वेला मैले जिस्किएरै भए पनि त्यस्तो भन्दा उहाँलाई चित्त दुख्न सक्छ भनेर भन्दिनँ ।
८२. उहाँको नाममा बैंक ब्यालेन्स छ कि छैन ?
बैंक खाता छ होला, तर पैसा छैन ।
८३. पैसाको बारेमा कहिलेकाहीँ बूढाबूढीबीच ठाकठुक परेको छ कि छैन ?
त्यस्तो ठूलो त परेको छैन । एकपटक उहाँले कोही आफन्तलाई सापट दिनुपर्ने भएछ, मलाई त्यो थाहा थिएन । उहाँसँग पैसा छ भन्ने मलाई थाहा थियो । त्यो पैसा सापट दिएर मसँग माग्नुभयो । मैले ‘तपाईंसँग पैसा छँदै छ त, दिन्नँ’ भनेँ । उहाँले सापट दिएको कुरा बताउनुभएन । त्यसपछि माग्नु पनि भएन । पछि मेरो भाइ घरमा आएको थियो, ऊसँग कुरा गर्दा ‘दिदीले पैसा दिइनन्, मैले ऋण खोजेर मोटरसाइकलमा तेल हालेर जानुप-यो’ भन्दै हुनुहुन्थ्यो ।
रिसाउँदा फकाउनुहुन्छ
८४. रिसाउने बानी कत्तिको छ ?
धेरै त होइन । कहिलेकाहीँ रिसाउनुहुन्छ । बरु, उहाँभन्दा त मै रिसाउँछु ।
८५. कस्ता कुरामा रिसाउनुहुन्छ ?
उहाँलाई चित्त नबुझेको काम भयो भने रिसाउनुहुन्छ ।
८६. रिसाएपछि के गर्नुहुन्छ ?
नबोलेर बस्नुहुन्छ ।
८७. रिसाएपछि कसले पहिला फकाउँछ ?
मैले नै बोल्नुपर्छ । उहाँ आफू रिसाए पनि बोल्नुहुन्न, म रिसाउँदा पनि फकाउनुहुन्न । त्यसैले रिसाएर पनि केही पार लाग्दैन भनेर अचेल त रिसाउन पनि छाडिसकेँ ।
८८. रिसाएर कति लामो अवधिसम्म बोल्नुभएको छैन ?
घरमै हुँदा त धेरै लामो समय हुन्न । तर, त्यहीबीचमा विदेश वा काठमाडौंबाहिर जानुभयो भने अवधि  लम्बिन्छ (हाँसो) ।
८९. त्यस्ता घटना छन् ? सुनाउनुस् न ?
(हाँसो) एकपटक साथीहरूसँग नगरकोट जानुभएछ । मलाई केही भन्नुभएको थिएन । राति मात्रै थाहा पाएँ । रिस उठ्यो, दोस्रो दिन घर फर्किनुभएपछि म बोलिनँ । त्यसको भोलिपल्ट उहाँको विदेश जाने कार्यक्रम थियो । जाँदाखेरि उहाँ पनि बोल्नुभएन, मैले पनि केही भनिनँ । फर्केपछि मात्रै बोलचाल भयो ।
९०. राजनीतिमा हुनुहुन्छ, कार्यकर्ता–सर्वसाधारण भेटघाटका लागि आइराख्छन् होला, तपाईंहरूलाई रिसाउन पनि गाह्रो हुन्छ होला नि ? सबैले थाहा पाउने गरी रिसाउनु पनि भएन ?
(हाँसो) हो नि ।
९१. बाहिरको रिस घरमा कत्तिको रिफ्ल्याक्ट हुन्छ ?
त्यो त हुँदैन । उहाँले पनि बाहिरका कुरा केही भन्नुहुन्न । मैले पनि उहाँलाई तनाव हुने केही कुरा गर्दिनँ ।
९२. तपाईंलाई कहिल्यै पिट्नुभएको छ कि छैन ?
गाली गर्ने, पिट्ने त कहिल्यै गर्नुभएको छैन ।
९३. माया गरेर तपाईंलाई के भनेर बोलाउनुहुन्छ ?
‘हेलो’ भन्नुहुन्छ । कहिले ‘बिन्दाजी’ भन्नुहुन्छ । उहाँ सधैँ तपाईं भनेर बोलाउनुहुन्छ ।
९४. तपाईंले नि ?
(हाँसो) मैले पनि बोलाउनुप-यो भने ‘हेलो’ नै भन्छु ।
विदेशबाट खाली हात आउनुहुन्छ
९५. तपाईंलाई उपहार कत्तिको दिनुहुन्छ ?
दिनुहुन्छ वेला–वेलामा ।
९६. उपहारमा कस्ता चिजहरू दिनुहुन्छ ?
लुगा, ब्याग, जुत्ताहरू दिनुहुन्छ ।
९७. विदेशबाट आउँदा केही ल्याइदिनुहुन्छ कि हुन्न ?
विदेशबाट आउँदा खाली हात आउनुहुन्न, केही न केही ल्याइदिनुहुन्छ ।
९८. जन्मदिन, म्यारिज एनिभर्सरी, भ्यालेन्टाइन डेमा विस गर्नुहुन्छ कि बिर्सनुहुन्छ ?
कहिलेकाहीँ त बिर्सनुहुन्छ । जन्मदिनमा चाहिँ सम्झेर विस गर्नुहुन्छ ।
९९. उहाँले ल्याइदिएको तपाईंलाई सबैभन्दा मन परेको उपहार कुन हो ?
एकपटक बिहारबाट गरिजा खाँडीको सेतो सलवार–कुर्ता ल्याइदिनुभएको थियो, त्यो साह्रै राम्रो लाग्छ ।
१००. विदेश जाँदा तपाईंलाई सँगै लैजान कत्तिको मन पराउनुहुन्छ ?
मन त पराउनुहुन्छ । तर, त्यति धेरै सँगै गएका छैनौँ ।
१०१. किन नि ?
पहिलो त उहाँलाई निम्तो भएको ठाउँमा म पनि सँगै जान्छु भनेर कर गर्ने कुरा भएन । अर्को कुरा मिडियामा पनि के–के लेखिदिन्छन् । एकपटक चीन जाँदा त्यसै लेखिदिए । आफ्नै पैसा खर्च गरेर जानु पनि छ, नभएको आरोप पनि खेप्नु छ । सँगै चीन, हङकङ र भारत गएका छौँ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: