×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२. १९ अर्बको बैंकिङ घोटालाको पर्दाफास सहित सीआइबीका टप टेन अपरेशन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२. १९ अर्बको बैंकिङ घोटालाको पर्दाफास सहित सीआइबीका टप टेन अपरेशन

११ भाद्र २०७३, शनिबार

पढ्न लाग्ने समय: ७ मिनेटभन्दा कम

काठमाडौं – सिआइबीको पहिलो अप्रेसन ब्ल्याक स्पाइडर समूहमाथि थियो । सिन्धुलीका सन्दीप पाठक भन्ने मिलन लामाले ब्ल्याक स्पाइडर समूहका नाममा आतंक मच्चाउँदै आएका थिए । ठूला व्यवसायी तथा चिकित्सकलाई करोडौँ माग्दै धम्क्याएर उनले आतंकित बनाएका थिए ।
सिआइबीले करिब दुई महिना लामो मिहिनेतपछि उनलाई भारतमा पक्राउ गरी नेपाल ल्याएको थियो । त्यसअघि सिआइबीले उनमाथिको अनुसन्धानबारे प्रहरी र पत्रकारलाई समेत खासै जानकारी दिएन । लामा त्यस्ता व्यक्ति हुन् जसले पैसा नदिने व्यक्तिलाई गोली हानेर तर्साउने गरेका थिए । सोही घटनाको विषयमा सिआइबीले पहिलो पत्रकार सम्मेलन गरेको थियो ।
सिआइबीले नेपालमा मात्र होइन, विदेशमा  गएरसमेत अपराध अनुसन्धान गरेको छ । दुई वर्षअघि बैंककमा तीन नेपाली अपहरणमा पर्दा सिआइबीको टोली बैंकक नै गएर अनुसन्धान गरेको थियो । त्यस्तै, भारतबाट मात्र होइन, मलेसिया  र साउदी अरेबियाबाट समेत फरार अपराधीलाई सिआइबीले पक्राउ गरेको छ । गैँडा तस्कर राजकुमार प्रजालाई मलेसिया तथा  न्यायाधीश रणबहादुर बमका सुटर सञ्जय स्माइली मगरलाई साउदी अरेबियाबाट प्रहरीले पक्राउ गरेको थियो ।
१. रातो पासपोर्टमा सभासद्
जतिसुकै गल्ती गरे पनि नेता तथा ठूला मान्छे पक्राउ पर्दैनन् भन्ने सर्वसाधारणको धारणा थियो । तर, पाँच वर्षअघि सिआइबीले दुई बहालवाला सभासद्लाई पक्राउ गर्‍यो । सिआइबीले रातो पासपोर्ट (कूटनीतिक राहदानी) बिक्री गरेको आरोपमा पहिला दुई र पछि थप दुई गरी चार सभासद्लाई पक्राउ गर्‍यो ।
सुरुमा गायत्री साह, विपी यादवलाई पक्राउ गरी सिआइबीले मुद्दा चलायो । पछि, थप दुई सभासद् नारदमुनि राना र शिवपूजन यादवलाई समेत पक्राउ गरी मुद्दा चलाइएको थियो । उनीहरू सबैलाई अदालतले दोषी ठहर गरिसकेको छ । उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत मुद्दा दायर गरेको थियो ।
सिआइबीले सभासद् मात्र होइन, त्यसमा मिलेमतोको आरोपमा अध्यागमनका कार्यालयका सहसचिवसमेतलाई पक्राउ गरी मुद्दा चलाएपछि ठूलै हंगामा भएको थियो । चारजना पक्राउ परेपछि अन्य सभासद्को राहदानी दुरुपयोग रोकिएको थियो ।
सर्लाहीका सन्तोष उप्रेतीले सभासद्लाई अस्ट्रेलियालगायत देशमा कार्यक्रममा लैजाने भन्दै पासपोर्टमा भिसा लगाएर अन्य व्यक्तिको फोटो टाँसी विदेश पठाउँदै आएका थिए । जसबापत सभासद्ले १० लाख रुपैयाँसम्म लिएका थिए ।
२. १९ अर्बको बैंकिङ घोटालाको पर्दाफास
सिआइबीको अप्रेसनपछि बैंकिङ क्षेत्रको सुशासनमा ठूलो परिवर्तन आएको छ । सञ्चालक र कर्मचारीको मिलेमतोमा कर्पाेरेट भ्रष्टाचार हुँदै आएकोमा सिआइबीले स्थापनाकालदेखि नै नेपाल राष्ट्र बैंकसँग सहकार्य गरी बैंकिङ घोटालाविरुद्ध अप्रेसन चलाउँदै आएको छ ।
यो अवधिमा सिआइबीले ३१ वटा बैंक तथा फाइनान्सका एक सय १२ जनालाई पक्राउ गरेको छ । बैंकिङ कसुरमा मात्र हजारभन्दा धेरैविरुद्ध मुद्दा दायर गरेको छ । १९ अर्ब ३९ करोड ४२ लाख ६६ हजार ६ सय ३८ रुपैयाँको बैंकिङ ठगीको सिआइबीले अनुसन्धान गर्‍यो । गोरखा डेभलपमेन्ट बैंकबाट सुरु भएको सिआइबीको बैंकिङ कसुर अप्रेसनमा देशका चर्चित बैंकरसमेत फन्दामा परेका थिए ।
नेपाल सेयर मार्केट एन्ड फाइनान्स, क्यापिटल मर्चेन्ट एन्ड फाइनान्स, जनरल फाइनान्स, नेपाल विकास बैंक, सम्झना फाइनान्स, प्रोगे्रसिभ फाइनान्स, युनाइनेड फाइनान्स, क्रिस्टल फाइनान्स, श्रीलंका मर्चेन्ट एन्ड फाइनान्स, एच एन्ड बी डेभलपमेन्ट बैंक, हिमालयन फाइनान्स, वैभव फाइनान्स, सिद्धार्थ डेभलपमेन्ट, किस्ट बैंक, एनआइडिएसपी डेभलपलमेन्ट बैंक, किस्ट (हाल प्रभु) बैंक, एनबी बैंक, सिभिल बैंक, हामा मर्चेन्ट एन्ड फाइनान्स, बुटवल फाइनान्स, पिपुल्स फाइनान्स, कृषि विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, एभरेस्ट बैंक, ग्लोबल आइएमई बैंक, प्रुडेन्सियल फाइनान्स, कुबेर मर्चन्ट फाइनान्स, मञ्जुश्री फाइनान्सियल इन्स्टिच्युट, हिमालयन बैंकलगायत वित्तीय संस्थामा भएको अनियमिततामा सिआइबीले छानबिन गरेको थियो । ठूला बैंंकर नै धमाधम पक्राउ पर्न थालेपछि बैंकिङ क्षेत्रमा सुधार आएको छ ।

३. ११ अर्बको अप्रेसन भ्वाइस फक्स 
गत ३० साउनमा सिआइबीले एकपटक राजधानीका तीन स्थानमा छापा हानी कल बाइपासको काम गरेको आरोपमा दुई युवकलाई पक्राउ गर्‍यो । काभ्रेका केदार अछामी र सिन्धुपाल्चोकका सुमन श्रेष्ठलाई सिआइबीले पक्राउ गरेको थियो । केही वर्षअघि प्रहरीले हरेक हप्ताजसो कल बाइपास सञ्चालक पक्राउ गथ्र्याे । तर, यसपटक लामो समयको ग्यापपछि कल बाइपास गर्नेहरू पक्राउ परेका हुन् ।
अधिकांश कल बाइपास सेन्टर बन्द भइसकेका छन् । सिआइबीले ६ वर्षमा कल बाइपासविरुद्ध ९१ वटा अप्रेसन चलाई एक सय ६ नेपाली र ३१ विदेशीलाई पक्राउ गरेको छ । जसमा ११ अर्ब ४८ करोड ४२ लाख ६६ हजारको ८ सय ७४ बराबरको मागदाबी लिई मुद्दा दायर गरिएको छ । धेरैजसो बंगलादेशीले नै नेपालमा कल बाइपासको काम गर्दै आएका छन् । कल बाइपास गर्नेहरूबाट हालसम्म २२ हजार सिम कार्ड बरामद भएको सिआइबीले जनाएको छ । सिआइबीले सुरुदेखि नै कल बाइपासविरुद्ध अप्रेसन भ्वाइस फक्स चलाउँदै आएको छ ।
४ .शून्य सिकार वर्ष
गैँडा तथा बाघलगायत संरक्षित वन्यजन्तुको चोरीसिकारी बढेपछि सिआइबीले फागुन २०६७ देखि यससम्बन्धी अनुसन्धानका लागि छुट्टै पिलर नै स्थापना गरेको थियो । त्यसयता चार सय २० वन्यजन्तु तस्करलाई सिआइबीले पक्राउ गरिसकेको छ । त्यो वर्षयता गैँडा चोरीसिकारी शून्य भएको छ । जुन विश्वमै नमुना बन्न पुगेको छ ।
वन्यजन्तु तस्करविरुद्ध सिआइबीले विभिन्न देशसँगको सहकार्यमा अप्रेसन कोब्रासमेत चलायो । अहिले पनि सिआइबीले अन्तर्राष्ट्रिय निकायसँग मिलेर वन्यजन्तु तस्करीविरुद्ध अप्रेसन चलाउँदै आएको छ । हालसम्म सिआइबीले एक सय ७८ वटा अप्रेसन सञ्चालन गरिसकेको छ ।
गैँडामा शून्य सिकार वर्ष मनाएपछि आफूहरू अब बाघमा पनि आगामी वर्षलाई शून्य सिकार वर्षका रूपमा मनाउने योजना अघि बढाइएको सिआइबीमा सुरुदेखि नै वन्यजन्तुसम्बन्धी अपराधको अनुसन्धान गर्दै आएका डिएसपी प्रवीण पोखरेल बताउँछन् ।
५. गुन्डा नाइकेको करोडौँ सम्पत्ति 
कुनै समयमा डान्सबारमा बाउन्सरका रूपमा काम गर्ने गुन्डाहरू पछिल्लो समय करोडपति भइसकेका छन् । महँगा गाडी र ठूला महलमा उनीहरू बस्ने गरेका छन् । पैसाकै बलमा हरेक क्षेत्रमा उनीहरूको राजनीतिक पहुँच बनिसकेको छ ।
यस्तो अवस्थामा सिआइबीले प्रमुख गुन्डा नाइकेको सम्पत्तिको छानबिन मात्र गरेन, उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट गुन्डागर्दीबाट कमाएको करोडौँ सम्पत्ति जफतको माग राख्दै मुद्दासमेत दायर गर्‍यो । सिआइबीकै पहलमा गुन्डा नाइकेहरू गणेश लामा, दीपक मनाङे, मिलन चक्रे, पर्शुराम बस्नेत र अभिषेक गिरीविरुद्ध मुद्दा चलाइयो । जुन मुद्दा अहिले पनि विशेष अदालतमा विचाराधीन छ । जसले गुन्डागर्दी गरेर धेरै पैसा कमाउँदा पनि मुद्दा चल्ने सन्देश दियो, केही हदसम्म भए पनि गुन्डागर्दी नियन्त्रणमा उक्त पहल सकारात्मक भयो ।
६ . न्यायाधीश बम हत्याको रहस्य 
सर्वाेच्च अदालतका बहालवाला न्यायाधीश रणबहादुर बमको हत्या नेपाल प्रहरीका लागि ठूलो चुनौती थियो । लामो समयसम्म पनि उक्त घटनाको अनुसन्धानमा असफल हुँदा प्रहरीको छविमा दाग लागेको थियो ।
तर, पुस २०७१ मा प्रहरीले उक्त दाग मेट्यो । घटनामा संलग्न नाइकेदेखि सहयोगीसम्मलाई सिआइबीले पक्राउ गरेर घटनाको वास्तविकता बाहिर ल्यायो ।
न्यायाधीश बमको १८ जेठ २०६९ मा ललितपुरको युएनपार्कनजिकै गोली हानी हत्या भएको थियो । बंगलामुखी मन्दिरको दर्शन गरी अदालत जाने क्रममा उनको गाडी रोकी गोली हानिएको थियो । घटनामा उनका साथी राम गिरी तथा पिएसओ महेश गिरीसमेत घाइते भएका थिए । न्यायाधीश बमको उपचारका क्रममा केही घन्टापछि अस्पतालमा मृत्यु भएको थियो ।
चुरे भावर एकता पार्टीका नेता बाबु थापाको योजनामा न्यायाधीश बमको हत्या भएको थियो । पार्टीको अध्यक्षसम्बन्धी विवादमा न्यायाधीश बमले आफ्नो विपक्षमा फैसला गरेको प्रतिशोधमा बममाथि गोली हानेका थिए । जेलमा चिनजान भएका मगरलाई र करण चौधरीलाई उनले सुटरका रूपमा प्रयोग गरेर हत्या गरेका थिए । थापासहित चौधरी तथा घटनामा सहयोग गर्ने दीपक कर्ण पुर्पक्षका लागि जेलमा छन् ।
७. १२ वर्षपछि खुल्यो रानीबारीको रहस्य
डेढ वर्षअघिसम्म नेपाल प्रहरीको इतिहासमा असफल अनुसन्धानको नाम लिँदा रानीबारी हत्याकाण्डको नाम आउँथ्यो । तर, १ चैत २०७१ मा सिआइबीले नै उक्त जिज्ञासा पनि मेटायो ।
दोलखाका मनराज गुरुङ र रामेछापका प्रमेश चौहानलाई पक्राउ गर्दै प्रहरीले हेमन्त र उनकी श्रीमती अञ्जलीलाई घरबेटीलाई मार्न आएका सूचना चुहिने डरले हत्या गरेको खुलायो ।
३१ असार २०५९ मा रानीबारीस्थित गीता खड्काको घरमा बस्ने इन्जिनियर दम्पतीको हत्या भएको थियो भने उनीहरूको छोरी घाइते भएकी थिइन् । घरधनी खड्कालाई मार्न माथिल्लो तलामा जानुपर्ने भएकाले उनीहरूले श्रेष्ठ दम्पतीलाई मारेर माथिल्लो तलामा गएका थिए । तर, खड्का बाथरुममा लुकेकाले खड्काको हत्या योजना असफल भएको थियो । कसले खड्काको हत्या गर्न लगाएको भन्ने प्रहरीले खुलाएको छैन । पक्राउ परेका दुवैजना पुर्पक्षका लागि थुनामा छन् ।
८. मानव बेचबिखनमा चीनदेखि अफ्रिकासम्म अनुसन्धान
सिआइबीलाई चर्चामा ल्याएको अर्काे अनुसन्धान भनेको मानवबेचबिखनसम्बन्धी हो । युवतीलाई युरोप पठाउने भनेर काजकिस्तान पठाएर अलपत्र बनाउनेदेखि बिहको आवरणमा नेपाली किशोरीको चीन र कोरियामा भइरहेको बिक्रीलाई सिआइबीले बाहिर ल्याएको थियो । महिला मात्र होइन, पुरुषलाई पनि वैदेशिक रोजगारीका नाममा अफ्रिका पु¥याएर बिक्री गर्ने गिरोहलाई समेत सिआइबीले पक्राउ ग¥यो । बिहेको नाममा हुने मानवतस्करीका घटनामा सिआइबीले अनुसन्धान गरेपछि म्यारिज ब्युरोको विदेशीसँग बिहे गराएर नेपाली युवती बिक्री गर्र्ने धन्दा केही हदसम्म कम भएको छ । सिआइबीमा बसेर तीनै घटनाको अनुसन्धान गरेकोमा एसपी किरण बज्राचार्यले अमेरिकी सरकारबाट ‘ट्राफिकिङ इन पर्सन हिरो’ अवार्ड हात पारेकी थिइन् ।
९. अप्रेसन हन्टको लहर 
राज्यमा कानुनी राज्यको स्थापनामा सिआइबीको अर्काे योगदान हो– अप्रेसन हन्ट । अदालतले दोषी ठहर गरेर पनि फरार रहेका अपराधी समाजमा खुलम्खुल्ला हिँड्दै आएका थिए । जसले कानुनी शासनलाई नै चुनौती  दिएको थियो ।
पहिलो वर्षदेखि नै सिआइबीले यस्ता फरार अपराधीलाई पक्राउ गर्दै जेल हाल्दै आएको छ । गत बुधबारसम्मको तथ्यांकअनुसार २५ महिलासहित दुई सय ७५ जना फरार अपराधी पक्राउ परिसकेका छन् । जसमध्ये केही देशका नाम कहलिएका व्यवसायी प्रदीपराज पाण्डेलगायत छन् । उनीहरूबाट राज्यले ३ अर्ब ८५ करोड जरिवाना तथा ६ सय ८८ वर्ष कैद सजाय असुल गरिसकेको छ ।
सिआइबीले सुरु गरेको यो अभियान अहिले देशभरिका प्रहरी कार्यालयमा चलिरहेको छ । हरेक जिल्लाका प्रहरी प्रमुखले फरार अपराधीलाई पक्राउ गर्ने अभियानलाई प्राथमिकतामा राखेका छन् । सिआइबीको सक्रियताले धेरै फरार व्यक्ति पक्राउ परेको र अर्बाैं रकम उठेको फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक महेन्द्र उपाध्याय बताउँछन् ।
१०. अप्रेसन क्वाक
चिकित्सकलाई नेपाली समाजमा भगवान्जस्तै मानिन्छ । तर, भगवान्को आवरणमा नेपालको चिकित्सा क्षेत्रमा धेरै डाक्टरले बिरामीको ज्यान लिँदै आएको तथ्य सिआइबीकै अनुसन्धानमा खुलेको छ । नेपालमा रहेका करिब १८ हजार चिकित्सकमध्ये दुई हजारको शैक्षिक प्रमाणपत्र नक्कली रहेको प्रहरी अनुमान छ । एक हजार चिकित्सकको प्रमाणपत्र छानिबन गरिएकोमा एक सय ५० भन्दा धेरैको नक्कली भएको खुलिसकेको छ।
५५ जना पक्राउ परिसकेका छन् । कतिपय जागिर नै छाडेर विदेश पलायन भइसकेको प्रहरीले जनाएको छ । सिआइबीले नेपाल मेडिकल काउन्सिलसँग सहकार्य गरी सबै चिकित्सकको शैक्षिक प्रमाणपत्र छानबिन गरिरहेको छ । यसले चिकित्सा क्षेत्रमा ठूलो परिवर्तन ल्याउने भन्दै सर्वसाधारणले प्रहरीको यो कामको प्रशंसा गर्दै आएका छन् । गत मंसिरदेखि सिआइबीले अप्रेसन क्वाक नाम दिएर यो अप्रेसन सुरु गरेकोमा गत फागुनदेखि नक्कली चिकित्सकलाई पक्राउ गर्न थालेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: