६ सिटे नीजि एयरक्राफ्ट छ, पेम्बा शेर्पासँग । ५ मिलियन डलरमा उनले ४ वर्षअघि मात्र नीजि जेट किनेका हुन् । सम्भवतः नीजि जेटमा आफै पाइलट बनेर आकाशमा सयर गर्ने उनी पहिलो नेपाली एनआरएन हुन् ।
अमेरिकाको कोलोराडोको जर्निस् एभिएसनबाट ब्यवसायिक पाइलटको लाइसेन्स लिएका पेम्बा प्रायजसो हप्तामा दुई तीन पटक ब्यवसायिक कामका शिलशिलामा क्यालिफोर्निया, स्याटल र लसभेगास आफ्नै जहाजमा उडिरहेका हुन्छन् ।
सगरमाथाको फेदी सोलुखुम्बुको चौरीखर्कमा जन्मे हुर्केकाले होला उनलाई हिमाली दृश्यको लत परेको छ । ‘काममा स्ट्रेश भएका बेला प्लेन उडाएर हिमालतिर हानिन्छु,’ उनी भन्छन् । कहिलेकाहीँ लञ्च, ब्रेक फाष्ट गर्न कोलोराडोको आस्पेन लगायतका हिमालतिर हानिन्छन्, उनी । त्यो उडान उनले २५ वर्ष अमेरिकी भूमिमा खर्चिएको पसिनाको मुल्यमा खडा भएको हो । यसको आधार हो अमेरिकामा गरेको ट्राभल टुर्स विजनेश, शेर्पा चायको ब्राण्डिङ, रेष्टुरेण्ट र उनको पोपर्टीको इन्भेष्टमेण्ट ।
४३ वर्षीय पेम्बाको व्यवसायिक उडानको सुरुवात भएको मात्र १५ वर्ष भएको छ । उनी अमेरिका गएको पनि धेरै समय भएको छैन ।
सन् १९८९ मा पेम्बा अमेरिकामा जाँदा उनीसँग न कुनै सीप थियो न त राम्रो सर्टिफिकेट नै । मात्र उनले सोलखुम्बुमा केही अमेरिकनहरुसँग परिचय जोडेका थिए । ‘त्यो बेला म मात्र ४ कक्षा पढेको थिएँ,’ उनी भन्छन्, ‘म अमेरिका हेर्न मात्र गएको हुँ । बस्न होइन ।’
गरिखानेहरुका लागि स्वर्ग मानिन्छ, अमेरिका । हो, त्यही अवसरले पेम्बाको अमेरिका नबस्ने योजना फेल भयो । ‘अमेरिका पुगेपछि मैले धेरै कुराहरु रियलाइज गरे,’ उनले भने, ‘पढ्न पर्दोरहेछ भन्ने लाग्यो ।’ उच्च शिक्षा पढ्न उनीसँग ‘आधार’ थिएन् ।
अमेरिकामै बस्ने निधो गरेपछि पेम्बा उच्च शिक्षाको आधार बनाउन जनरल एजुकेशन (जिइडी) ज्वाइन गरे । जिइडी अमेरिकामा पढ्न इच्छा भएका तर पढ्न नपाएकाहरुका लागि हो । ‘त्यतिबेला मैले रेष्टुरेष्ट र कपडा पसलमा काम गरे, ट्रक चलाए, गाई बाख्रा र घोडा चराए,’ उनी अमेरिकाका सुरुवाती संघर्षका दिनलाई बयान गर्छन्, ‘निकै मेहनेत गरे । म साँझ खाना खाएर पढ्न थाल्थे । विहान चरा न उडुन्जेलसम्म पढिरहेकै हुन्थे ।’
यो मेहनेतले उनलाई ५ वर्षमै उच्च शिक्षा लिने ढोका खुला भयो । युनिभर्सिटी अफ कोलोराडोमा जिओटेक इन्जिनियरिङ पढ्न थाले । पछि त्यो युनिभर्सिटीबाट मेट्रो स्टेट युनिभर्सिटीमा गए । उनले जिओटेकमा डिप्लोमा गरे । जियो इन्जिनियर बनेपछि पेम्बाले अमेरिकाको प्रतिष्ठित कम्पनी एक्सोनमा जागिर पाए । तर, त्यसले उनलाई धेरै बाँध्न सकेन । उनी ब्यवसायिक उडान भर्न चाहन्थे एक्सोनमा रहेर त्यो सम्भव थिएन । त्यसैले उनले काम गरेनन् ।
पेम्बाले डिप्लोमाको पढाइसँगसँगै अमेरिकामा ट्राभल एण्ड टुर्सको बिजनेश गर्न थालिसकेका थिए-‘शेर्पा एसेन्ट इन्टरनेशनल’ मार्फत । ‘टुरिजम त्यो बेला निकै राम्रो थियो । मैले अफ्रिकन देशहरु तान्जानिया, केन्या, रुवान्डालगायत देशमा विजनेश गरे,’ शेर्पाले ब्यापारको सुरुवाती समयको अनुभव सुनाए, ‘नेपालमा पनि वर्षमा १ सय जनाजति अमेरिकन ल्याउथे ।’ यो बेला उनले आफ्नो कम्पनीमार्फत अमेरिकनलाई भुटान र भारत पनि घुमाए । यी कामले उनको खल्तीमा केही पैसा पनि थुपार्दै गएको थियो । जसका कारण उनले अलि ठूलो सपना देख्न थाले ।
सन् २००० मा उनले कोलोराडोको बोल्डरमा ‘शेर्पाज् एडभेन्चरस रेष्टुरेण्ट’ खोले । त्यतिले मात्र उनलाई पुगिसकेको थिएन । उनी ब्यापारलाई थप विस्तार गर्न चाहन्थे । ‘म बिजनेश गर्ने मान्छे, विभिन्न सम्भावनाहरु हेरिरहेको हुन्छु,’ उनले विजनेश विस्तारको किस्सा खोले । स्टार्कबक्स भन्ने एउटा मल्टिनेशनल कम्पनीको सिइओले अमेरिकाको कफी पछिको बजार चियाले लिन्छ भनेका रहेछन्, जुन कुरा उनले पत्रिकामा पढे ।
त्यसबाट प्रभावित भएका पेम्बाले ‘शेर्पा चाय’को अमेरिकामै उत्पादन गर्ने पहल सुरु गरे । उनले ‘शेर्पा चाय’को सर्टिफिकेट लिन, प्रोडक्ट बनाउन, परिक्षण पास गर्दा झण्डै ३ वर्ष बित्यो ।
अमेरिकी बजारमा ‘शेर्पा चाय’ आउन थालेको डेढ वर्ष मात्र भएको छ । यसले उनको विजनेशलाई नयाँ उचाइ दिदैंछ, त्यसैले उनी थप उचाइ नाप्ने सपनाहरु पालिरहेका छन् । नपालुन पनि कसरी ? संसारकै ठूलो ग्रोसरी चेन मध्येको एक ‘होल फुड’ले शेर्पा चाय किनिरहेको छ । जसका अमेरिकामा मात्रैं ४ सय ४० वटा पसल छन् । अमेरिकामा ‘शेर्पा चाय’ले उनलाई राम्रो आम्दानी मात्र दिएको छैन्, राम्रो सम्भावना पनि देखाएको छ । ‘मैले निकै राम्रो रेस्पोन्स पाइरहेको छु,’ उनले सुनाए, ‘यसको धेरै राम्रो फ्युचर देखिरहेको छु ।’ त्यसैले टी प्रोडक्सनलाई उनले नेपालमा पनि विस्तार गर्ने योजना बनाएका छन् । ‘अब टी प्रोडक्सन यहीबाट थाल्छु,’ उनले भने, ‘जग्गा हेरिरहेको छु ।’ १९९० मा अमेरिकाको टि मार्केट ६ बिलियन थियो । अहिले त्यो बढेर झण्डै ६० बिलियन पुगेको छ । यसले पनि उनलाई नेपालमा चिया उत्पादन सुरु गर्न उत्साहित पारिरहेको छ ।
उनको कोलोराडाको रेष्टुरेण्ट पनि झकासै चलिरहेको छ । जसमा नेपाली र अमेरिकन गरी ३५ जना स्टाफ छन् । हरेक दिन कम्तिमा ३ सयभन्दा बढी ग्राहक उनका पाहुना बन्छन् । शेर्पा रेष्टुरेण्टको सम्पत्ति मात्र ५० करोडको छ ।
यस बाहेक उनको अमेरिकाका कोलोराडो वरपरका ७ ठाउँमा प्रोपर्टी छ । ‘रियल स्टेटमा झण्डैं २० मिलियन डलर बराबरको प्रोपर्टी छ,’ उनी भन्छन् । यसमा उनको जापानको फुकेटे आइसल्याण्डमा रहेको घर जोडिएको छैन ।
५० हजारलाई रोजगारी दिने सपना
जहाजमा सयर गर्नु पेम्बाको सौख हो । त्यही सौखले सन् २०१३ मा अमेरिकी फ्रेडरल एभिएसन एडमिनिष्ट्रेशनले वर्षमा सबैभन्दा राम्रो एकजना पाइलटलाई दिने प्रमाणपत्र उनको पोल्टामा पर्याे । ‘यो हरेक वर्ष एक जनालाई दिइन्छ, सन् २०१३ मा मलाई दिएको थियो,’ उनले भने, ‘यो पाउन निकै प्रतिस्पर्धा हुन्छ ।’
उनलाई जेट उडानमा मात्र रुची छैन । ब्यवसायिक उडानलाई उचाइ दिने सपना पनि त्यतिकै छ । उनको भविष्यको सपना हो- ५० हजार जनालाई रोजगारी दिने । ‘मेरो जिन्दगीको मुख्य लक्ष्य अमेरिका र नेपालमा ५० हजार जनालाई रोजगारी दिने हो,’ उनले सुनाए ।
यसका लागि उनी नेपालको सबैभन्दा ठूलो चियाको मार्केट लिने विचारमा छन् । त्यसबाहेक तामाको मार्केट पनि खोज्न चाहन्छन् । ‘यसले नेपाललाई समृद्ध पार्नका लागि मुख्य भूमिका खेल्न सक्छ,’ उनी भन्छन् । जियोटेक इन्जिनियर भएकाले तामाको उत्खननका लागि उनी आफै जुट्ने योजनामा छन् । त्यसबाहेक पर्यटन, होटलहरुमा लगानी गर्ने विषयमा पनि उनले अध्ययन सुरु गरिसकेका छन् ।
लेक्चर क्लासमा भेटिइन प्रेमिका एक दिन अमेरिकामा लेक्चर दिइरहेका बेला जापानी युवती मरिको टोमिनाका पेम्बाप्रति आकर्षित भइन् । त्यसपछि उनीहरुको कुराकानी र भेटघाट बाक्लियो । पछि मरिकोसँगको उनको सम्बन्ध प्रेममा बदलियो ।
तीन वर्ष लामो प्रेम सम्बन्ध सन् २००५ मा विवाहमा परिणत गरे । उनका अहिले २ जना छोरीहरु छन् ।
मरिको हावार्डकी आर्किटेक्चर इन्जिनियर हुन् । त्यसैले उनी युएसकी प्रतिष्ठित आर्किटेक्चरमा गनिन्छिन् । उनले त्यहाँ केही चर्च र ब्यापारिक भवनहरुको डिजाइन गरेकी छिन् ।
२० हजार डलर मासिक खर्च
पेम्बा ६ बजे नै उठ्छन् । उठ्नासाथ उनलाई चाहिन्छ न्यूयोर्क टाइम्स । यो उनको मनपर्ने पत्रिका हो । न्युयोर्क टाइम्सको सण्डे रिभ्यु उनको मनपर्ने स्तम्भ हो । त्यसपछि ब्रेकफास्ट लिन्छन् । ७/८ बजेतिर अफिस पुगिसक्छन् । त्यहाँ दैनिक कामहरुको बाँडफाँड, नयाँ योजनालगायतका विषयमा आवश्यक कामहरु गर्छन् । ५/६ बजेतिर घर पुग्ने मन भएपनि साँझ घर फर्किने उनको निश्चित समय हुँदैंन । तर, ८ बजेभन्दा ढिलो गर्दैनन् । उनलाई जगिङ, भलिबल मन पर्छ । खानामा भने उनी नेपाली खानाको सौखिन हुन् । त्यसपछि जापनिज र चाइनिज पनि उनलाई मन पर्ने खानाहरु हुन् ।
फुर्सद्को समयमा उनलाई पढ्न मन पर्छ । एडभेन्चरस र विजनेश रिलेटेड किताबहरु उनको पहिलो रोजाइमा पर्छन् ।
अमेरिकामा उनको मासिक खर्च ‘हेभी’ छ । श्रीमतीका लागि मात्र १२ हजार डलर मासिक छुट्टयाएका छन् । भन्छन्, ‘मेरो कम छ जहाजमा कहिलेकाही इन्धन हाल्ने हो । २० हजार डलर सबै पारिवारिक खर्च हुन्छ ।
समय खर्च हुने भएकाले उनलाई सोसल मिडिया र इन्टरनेटतिर उति रुची छैन । ‘धेरै समय जाने भएकाले मलाई त्यति रुची छैन्,’ उनले भने, ‘अरुले मेरो कम्पनीका फेसबुक हेर्छन् ।’
१८ वर्षमा ४ कक्षा पढाइ तर विश्वासले बनेको परिचय १९७१ मा सोलुखुम्बुको चौरीखर्क गाविसमा जन्मिएका हुन्, उनी । वुवा पासाङ शेर्पा र आमा छोक्पा शेर्पा सामान्य खेती किसानीमा थिए । बाल्यकालमा गाउँमा निकै गाह्रो थियो । २/३ घण्टा हिडेर स्कुल पुग्थे ।
त्यसबाहेक उनले पनि भेडा बाख्रा चलाए । घाँस काटे । गाउँमा आर्थिक अवस्था कमजोर भएपछि उनले ४ कक्षामै पढाइ छाडिदिए । १८ वर्षसम्म उनको संसार काठमाडौं र सोलुखुम्बु मात्र थियो ।
पहिले दुःखका दिन थिए । अहिले सम्झदा उनलाई ती दुःखका दिनले पनि आनन्दित गराउँछ । अहिले ब्यवसायिक उडानको उचाइमा रहँदा गरिब देशको गरिब परिवारमा हुर्केको अनुभवले उनलाई ‘नोस्टाल्जिक’ बनाउँछ ।
‘हरेक मानिसमा विश्वास हुनुपर्छ । ‘भिजन’ लिनैपर्छ । भिजन भनेको ‘मेन्टल पिक्चर’ हो,’ उनी भन्छन्, ‘त्यसलाई वास्तविक बनाउन इफोर्ट लगाउनुर्यो ।’ उनलाई लाग्छ मान्छेको दिमाग जति काम गर्याे उति बढ्छ । ‘त्यसको उदाहरण म नै हुँ,’ कुराको विट मार्नुअघि उनले थपे, ‘म १८ वर्षसम्म ४ कक्षामात्र पढेको थिए । तर, अमेरिका गएर मेहनेत गरे । इन्जिनियर बने र पाइलट पनि ।’
राहत एयरपोर्टमा रोकिदाको निराशा उनले गत बैशाखको भूकम्पपछि आफू जन्मेको गाउँ चौरीखर्कमा झण्डै डेढ करोड बराबरको राहत सामग्री बाँडे । भूकम्पले क्षतिग्रस्त भएको आफ्नो गाउँका लागि उनले अमेरिकाबाट स्लिपिङ ब्याग, टेण्ट, ब्लाकंकेट र अन्य लुगाहरु ल्याएर बाँडेका थिए । उसो त यसअघि पनि उनले गाउँमा विभिन्न सामाजिक काम गरेका छन् । सन् २००० मा २० हजार डलर खर्च गरेर पुल बनाइदिए । सन् २००७ मा १२ हजार डलर खर्च गरेर विजुली बनाइदिए । ‘त्यसबाहेक अरु पनि कामहरु गरिरहेको हुन्छु,’ उनी भन्छन्, ‘त्यहाँका बालबालिकाको शिक्षामा पनि सहयोग काम धेरै वर्ष अगाडिदेखि गरिरहेको छु ।’
अमेरिकामा उनी त्यहाँका विभिन्न नेपाली संघसंस्थाहरुसँग पनि आवद्ध छन् । एनआरएनको कार्यकारी समितिमा पनि छन् उनी ।
- नेपालीपत्रबाट