काठमाण्डौ – जनयुद्धका सहकर्मी प्रचण्ड र डा।बाबुराम भट्टराई १६ महिनापछि सोमबार एउटै मञ्चमा देखा परे । संयोग स्व। भक्ति पाण्डेको जीवनयात्रा समेटिएको पुस्तक ‘चाचा’ सार्वजनिकीकरण कार्यक्रमले जुराइदिएको थियो । कार्यक्रममा प्रचण्ड प्रमुख अतिथि थिए भने डा। भट्टराई विशिष्ट अतिथि थिए । डेढ घन्टा लामो कार्यक्रममा कुम जोडेर मञ्चमा बसेका प्रचण्ड–बाबुरामले एकअर्काका सबल र दुर्बल पक्षबारे खुलेरै चर्चा गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर ।
प्रचण्डले भने
हामी झन्डै तीन दशक कम्युनिस्ट आन्दोलनमा एउटै पार्टीमा रह्यौँ । २५ वर्ष एउटै कमिटीमा हामी बस्यौँ । धेरै ठूला उतार–चढाव हामीले पार गर्यौँ , सँगसँगै । मेरो भूमिका के हो भन्नेमा उहाँले र उहाँमा भएको गुण के हो भन्नेमा मैले जति अरूले बुझेका छन् भन्नेमा मलाई विश्वास लागेको छैन । एकता केन्द्र बनाउँदा म नेतृत्वमै थिएँ, त्यसलाई माओवादी बनाउँदा पनि म नेतृत्वमै थिएँ । जनयुद्ध सुरु गर्दा र शान्तिप्रक्रियामा आउँदा पनि म नेतृत्वमै थिएँ र छु । बाबुरामजीलाई वैचारिक राजनीतिक बहस गर्दै जाँदा यदि हामी ‘जड’ नै भएको लागेको भए या हामी साँच्चै विचलनतिर गएको जस्तो भए जनयुद्ध न सुरु गर्न सम्भव हुने थियो, अथवा यसको अन्तिममा ल्यान्डिङ जसरी जुन ढंगले भयो, न त्यो नै सम्भव थियो । यतिवेला पुष्टि हुन्छ कि बाबुरामजीले हतारो गर्नुभयो । उहाँले त्यसो नगरेको भए हुन्थ्यो ।
हामी इमानदार छौँ, राष्ट्रप्रति, जनताप्रति । हिजो गरेका काम र त्यसको उपलब्धिको रक्षाप्रति भने हामी एकै ठाउँमा उभिनुको मैले विकल्पै देखेको छैन ।
बाबुरामले भने,
जनयुद्धको विकास गरेर यो अवस्थासम्म ल्याउन प्रचण्ड र बाबुरामको भूमिका रह््यो, उनीहरूका भूमिका एक–अर्काका परिपूरक थिए । तर, दुर्भाग्य त्यसलाई यथार्थका रूपमा स्वीकार नगर्ने, पार्टीभित्र पनि अस्वस्थ खालका गुटगत प्रतिस्पर्धा गर्ने र एउटालाई एकातिर, अर्कोलाई अर्कोतिर उचालिदिने, यथार्थ कुरालाई बंग्याइदिने काम भयो ।
मलाई लाग्छ, हामी दुईको पूरक भूमिकाकै कारण यो अवस्थासम्म आइपुगेका हौँ । तर, म अब त्यसमा केही भन्न चाहन्नँ, किनकि मैले एउटा नयाँ अगाडिको बाटो तय गरिसकेको छु । ९ देशभित्र अहिले जुन खालको संकटका बादल मडारिन थालेका छन्, प्राप्त उपलब्धि गुम्ने त होइन भन्ने खतरा देखिँदै गएको छ । त्यसलाई बचाउन, जोगाउन हामीले ध्यान दिनैपर्छ ।
त्यसका लागि हामी मिल्नुपर्छ भन्ने कुरा प्रचण्डजीले भनिरहनुभएको छ, हामी मिल्न नचाहेका होइनौँ, मिल्न चाहन्छौँ, मिल्ने सम्भावना भोलि पनि रहन्छ । मूल कुरा विचारमा हामीबीच एकरूपता ल्याउनुपर्छ । विचार, नीति–कार्यक्रम एक हुनुपर्यो, । रूपान्तरण हुनुभयो भने एक हुन सक्छौँ ।