×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘चितवनमा विना लाइसेन्स मोटरसाइकल चलाउने बढे’ प्रहरी भन्छन्, ‘सिकारुका कारण दुर्घटना पनि बढ्यो’

PRIME CA
GLOBAL IME BANK

‘चितवनमा विना लाइसेन्स मोटरसाइकल चलाउने बढे’ प्रहरी भन्छन्, ‘सिकारुका कारण दुर्घटना पनि बढ्यो’

८ माघ २०७३, शनिबार

पढ्न लाग्ने समय: < ३ मिनेट

  • प्रनिश थापा / अर्थ सरोकार डटकम 

चितवन – ट्राफिक नियम उल्लङ्घन गर्नेको सूचीमा सबैभन्दा बढी मोटरसाइकल चालक देखिएका छन् । आर्थिक वर्ष २०७०/ ७१ यता ५९ हजार ४ सय ९१ वटा मोटरसाइकल ट्राफिक प्रहरीको निशानामा परेका हुन् । उनीहरुको साथबाट कार्वाही स्वरुप तीन करोड २३ लाख ९२ हजार ७ सय रुपैयाँ राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 
पछिल्लो चार वर्षको तथ्याङ्क अनुसार २ सय ७३ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायव निरीक्षक कृष्ण ठकुरीले लाइसेन्स (सवारीचालक अनुमति पत्र) विना नै मोटरसाइकल चलाउँदा बढी दुर्घटना हुने गरेको बताए । “घर घरमा मोटर साइकल छन्, तर चालकसँग लाइसेन्स छैन”, उनले भने, ‘सिकारु चालकका भरमा मोटरसाइकल कुदेका छन्, जोखिम बढ्दो छ ।’ तीव्र गति, ओभरटेक जस्ता कारणले बढी मोटर साइकल दुर्घटनामा परेका छन् । 
चालु आर्थिक वर्षमा मात्रै ६६ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यो वर्षमात्रै ४ हजार २ सय २६ मोटरसाइकल ट्राफिक कारवाहिमा परेका छन् । ट्राफिक प्रहरी कारवाहीबाट सबैभन्दा बढी राजश्व मोटरसाइकल चालकबाट उठेको छ । मोटरसाइकल चालकबाट चालु आर्थिक वर्षमा मात्रै ४५ लाख ८६ हजार रुपैयाँ राजश्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जिल्लामा मोटरसाइकल चालकमाथि उच्च निगरानी गरिएको बताए ।
‘अन्य सवारीसाधनको तुलनामा मोटरसाइकल चालकको लापरवाही बढी भएको देखिन्छ’, उनले भने, ‘ट्राफिक नियम बारे जानकार बनेका युवाहरु नै लापरवाही ढङ्ले चलाउँदा दुर्घटनामा परेका छन् ।’ साउन यता पुष मसान्तसम्म ६६ वटा मोटरसाइकल दुर्घटनामा परेको उनले जानकारि दिए । नियमित हुने चेक जाँचलाई कडाईका साथ लैजान एक महिने विशेष अभियान माघ १० गतेबाट सुरु हुने बताए । दैनिक १० स्थानमा छड्के चेकजाँच गरिने बताए । ट्राफिक प्रहरीको उपस्थितिमा सवारी ऐन, नियम कार्यान्वयन गराउन सक्रिय भएर कार्यालय लाग्ने बताए । चार वर्षको तथ्याङ्क हेर्दा दोस्रो नम्बरमा ट्रक÷ ट्क्याक्टर दुर्घटना तथा कारवाहीमा परेका छन् । तेस्रो नम्बरमा बस दुर्घटना र कारवाहीमा परेका छन् । 
३८ हजार ८ सय ८ ट्रक  / ट्क्याक्टर तथा २३ हजार ५ सय ३९ बसहरु चार वर्षको अवधिमा ट्राफिक कारवाहीमा परेका छन् । चार वर्षको अवधिमा १ सय ७० ट्रक तथा ट्याक्टर दुर्घटनमा परेका छन् । १ सय ३६ वटा बसहरु पछिल्लो चार वर्षको अवधिमा दुर्घटनामा परेका छन् । 
चालु आर्थिक वर्षमा ५ हजार ६ सय ८४ वटा ट्रक÷ ट्याक्टर चालकबाट ४१ लाख ७१ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै, ३ हजार ३ सय ५८ वटा बस चालकबाट २१ लाख ३९ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 
यसैबीच, रातको समयमा हुने सवारी दुर्घटना लाई न्यूनिकरण गर्ने उद्देश्यले पुर्वी चितवन क्षेत्रमा सञ्चालित ट्याक्टर, रिक्सा, अटो रिक्सा जस्ता सुस्त गतिमा चल्ने ५० वटा सवारी साधनहरुमा रातको समयमा टल्कने रिफ्लेक्टर स्टिकर टाँस गरिएको छ । रिफ्लेक्टर स्टिकर टाँस्ने कार्यलाई निरन्तरता दिइने जनाएको छ ।
ट्राफिक ब्यवस्थापनमा समस्यै समस्या :
यसैबीच , जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले नारायणगढ, भरतपुरको ट्राफिक व्यवस्थापनमा चुनौती देखा पर्न थालेको छ । बढ्दो  साना सवारीसाधनको चापले ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न हुने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले ईरिक्सा अटो रिक्सा जस्ता सवारी साधनको चाप अधिक हुनुले ट्राफिक व्यवस्थापनमा अप्ठ्यारो पारेको बताए । राजधानीपछिको शहरका रुपमा नारायणगढलाई चिनिन्छ, तर साँघुरो सडकमा यत्रतत्र पार्किङ् गरिएका सवारी साधनले गर्दा ट्राफिक जामको अवस्था सृजना हुने गरेका छन् । 
‘सबै चालकहरु पुलचोक नारायणगढ नै पुग्न हतारिन्छन्’, उनले भने, ‘सरोकारवाला निकायबीच छलफल गरि बजारको भिडभाड कम गर्न नयाँ रुट व्यवस्थापन गर्नु जरुरी छ ।’उनले साना सवारीसाधनलाई पूर्व पश्चिम राजमार्गमा बढी भीड नगर्ने गरि भित्री  सडकमा चल्ने गरि रुट व्यवस्थापनको पहल भएको जानकारी दिए । ट्राफिक कार्यालयले आज सरोकारवाला निकाय हरुबीच छलफल गर्ने तयारी समेत गरेको छ । 
‘सबै सवारी नारायणगढ केन्द्रीत हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती देखा परेको छ’, उनले भने, ‘सरोकारवाला गम्भीर बन्नु पर्ने देखिएको छ ।” नारायणगढ क्षेत्रमा शुल्क पार्किङको व्यवस्था मिलाउन पहल गर्नुपर्ने देखिएको छ । लायन्सचोक स्थित सब्जी मण्डी नजिकैको क्षेत्र, पुलचोक स्थित पेट्रोल पम्प पछाडिको क्षेत्रको जग्गा सम्भावित पार्किङ स्थल बन्न सक्ने प्रारम्भिक अध्ययन थालिएको छ ।“ निजी वा सार्वजनिक जग्गा पहिचान गरि निजी  सवारी पार्किङ क्षेत्र बनाउनुपर्ने देखिएको छ’, 
ट्राफिक प्रमुख पन्तले भने, “नगरपालिका, जिविस, उवासंघ लगायतका सबै क्षेत्रको सहकार्यमा पार्किङ व्यवस्थापन कार्यलाई तीव्र बनाइनुपर्छ ।” नारायणगढ क्षेत्रमा दुइ सय बढी निजी सवारी सडक छेउमा दिनभर पार्किङ हुँदै आएको देखिन्छ । गोन्द्राङ्, आँपटारी, सिमलताल, टाँडी, पर्सा, भण्डारा, गीतनगरमा थोरै संख्यामा भएपनि ट्राफिक प्रहरी दैनिक खटिएका छन् । 
भरतपुर नारायणगढ क्षेत्रका व्यस्त चोक मालपोत चोक, केन्द्रीय बस ट्रमिनल, चौविसकोठी , लायन्सचोक, शहिदचोक, पुलचोक क्षेत्रमा ट्राफिक दिनभर खटिन्छन् । जनशक्ति थप भएमा माडी र चनौली क्षेत्रमा ट्राफिक परिचालन गरिने लक्ष्य रहेको उनले बताए । चितवनमा हाल ४५ जना ट्राफिक प्रहरी खटिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: