काठमाडौं । नेकपा माओवादीको एम्बुसमा परेर जीवनको फरक क्षमताको पाटोमा बाँधिएका जर्नेल रमिन्द्र क्षेत्री अहिले नेपाली सेनाको जङ्गी अड्डाको नयाँ जङ्गबहादुर बन्न खोजिरहेका छन् । भाई प्रधानसेनापति भएको भरपुर उपयोग उनले उठाउने गरेको सैनिक अधिकारीहरूकै गुनासो छ ।
सेनामा मौलाएको आर्थिक वेथितिका विषयमा गत साता बसेको जर्नेलहरूको वैठक (पिएसओ मिटिङ)मा रमिन्द्रको चाहनाअनुसारै यस गहन छलफल गराइएन । ‘सेनाको विषयमा निरन्तर अनियमितता र भ्रष्टाचारको समाचार आउनुको पछाडीको कारण खोज्ने प्रयत्न गर्दा रोकियो’, स्रोतले भन्यो,‘खासमा चुल्हो, विस्कुट र रासनको विषयमा किन बारम्बार यस्तो भ्रष्टाचारको कुरा आइरहन्छ भन्ने चर्चा चल्यो ।’
पछिल्लो पटक नेपाली सेनाको भान्साका लागि तयार पारिएको आधुनिक चुल्हो खरिद र ठेक्का प्रकरणमा ४६ करोडको अनियमितता भएको थियो । चार सय करोडको उक्त ठेक्कालाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीसम्म कमिशन पुग्नेगरी पुष्प पीयाको बुद्ध पिया सप्लायर्सले हात लिएको छ । उसले बसन्त चौधरीको कम्पनीलाई पनि रकम दिएर मिलाएको बुझिएको छ ।
नेपाली सेनामा दाउराको विकल्पमा उक्त चुल्होको परिकल्पना ०५२ सालतिर विरङ्ग ट्रेडिङले ल्याएको थियो । विरङ्गलाई पनि सेटिङमा मिलाइएको हो । त्यो कम्पनी जर्नेल रमिन्द्रका सम्धिको हो । चुल्होको ठेक्काका लागि बसन्त चौधरीको ग्लोबल लजिस्टिक प्रालि, पुष्प पियाको बुद्ध सप्लायर्स पिया ट्रेडिङ, पुष्प पियाकै भाईको पिके लजिस्टिक प्रालि, काजी शेर्पाको विरङ्ग ट्रेडिङ कम्पनी प्राली, राजेन्द्र जोशीको राजेन्द्र जोशी सप्लायर्स र अच्युत भारतीको सिद्धिसाई प्रकाश कन्साईन् स्पर्धामा थिए ।
चुल्होको नमूना बोकेर पुगेका ६ वटै कम्पनीलाई प्रारम्भिक छनौटका लागि पास गरिएको थियो । सेनाले बनाएको प्रारम्भिर छनौट (प्रि क्वालिफाई) समिति भने कर्णेल नारायण सिलवालको संयोजकत्वमा बनाएको थियो । उक्त समितिले सवैलाई छनौटमा पास गरी परिक्षणका लागि विभिन्न सैन्य क्याम्पहरूमा खटाएको थियो । स्रोतका अनुसार सेनाले परिक्षणमा हुने खर्च पनि सम्बन्धित ठेकेदार कम्पनीलाई नै गराउँछ । प्रि क्वालिफाईको तथ्यगत जानकारीका लागि जनप्रहारले उक्त समितिका संयोजक कर्णेल सिलवाललाई सोध्दा ‘यस विषयमा मैले केही बोल्न मिल्दैन, नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयमा बुझ्न सकिन्छ’ भने।
यो ठेक्का अन्तरर्गत नेपालभर रहेका नेपाली सेनाका विभिन्न पृतनाहरू, बाहिनीहरू, गणहरू र गुल्ममा गरी १ हजार २ सय ९६ वटा इलेक्ट्रिक पावरसहितका चुल्हो जडान गर्नुपर्ने हुन्छ । यस्तो चुल्होमा मट्टितेललाई ग्यास बनाएर पावर निकाली खाना पकाउने काम हुन्छ । त्यसका लागि नेपालमा रहेका ९६ हजार ५ सय सैनिकको प्रति दिन खर्च काटिने गरेको छ ।
चुल्हो विक्रि एकातिर रहेपनि त्यसको जडानबाहेक सेवा शुल्क वापत ठेक्का पाएको कम्पनीले प्रति सैनिक ६ रूपैंया ७ पैसाका दरले पाउने निर्णय गराइएको छ जवकि यसअघि २ रूपैंया ५९ पैसा रहेको थियो । अहिले बढाइएको ४ रूपैंया भन्दा बढि रकममा भ्रष्टाचार गरिएको छ । ठेक्काको अन्तिम दुईमा पुगेका कम्पनीहरू, प्रधान सेनापति, जर्नेलहरूलाई बाँड्नका लागि ४ सय करोडमा ४० करोडभन्दा बढि रकममा हिनामिना गरिएको हिसावसहितको तथ्य जनप्रहारसँग सुरक्षित रहेको छ ।
सेनाको ठेक्काकै क्रममा १८ करोड रूपैंया घोटाला पारेको अभियोगमा केही वर्षअघि आन्तरिक राजस्व विभागको कारवाहीको लिष्टमा परेको पुष्प पियाको बुद्धलाई नै मिलाएर यो ठेक्का दिनुमा सैनिक अधिकारीको पूर्ण संलग्नता रहेको देखिन्छ । कुनैपनि ठेक्काको विषयमा प्रधानसेनापतिले ‘यस’ नभनेसम्म पास हुने प्रचलन अहिलेसम्म नेपाली सेनामा कायम रहेको छैन । यसकारण पनि यो चुल्हो ठेक्का प्रकरणमा प्रधानसेनापति क्षेत्रीको परोक्ष भएपनि संलग्नता देखिएको छ ।
अन्य निकायमा भएको भ्रष्टाचारका विषयमा संसदको सार्वजनिक लेखा समिति, अख्तियारले प्रश्न गरेपनि सैनिक निकायमा भएको अनियमितताको विषयमा त्यति साह्रो खोजी गरिएको छैन । सैनिक एउटा शक्ति भएका कारणले त्यहाँभित्रको भ्रष्टाचारबारे सरकारका अन्य निकाय मौन बसेका हुन् । सेनामा रासन, पानी, विस्कुट, चुल्हो र कपडामा व्यापक कमिशनको खेल निरन्तर भइरहेको छ । जनप्रहार साप्ताहिकमा खबर छ ।