Skip to content
LAXMI SUNRISE BANK

स्वास्थ्य मन्त्रालयको निर्देशन अझै कार्यान्वयन भएन

अर्थ सरोकार

  • प्रनिश थापा /अर्थ सरोकार डटकम

काठमाण्डौ – स्वास्थ्य मन्त्रालयले नेपाल सरकारको मातहतमा रहेका डाक्टरलाई निजी क्लिनिक जान रोक लगाए पनि भरतपुरको क्यान्सर अस्पतालमा सरकारी निर्णय अझै  कार्यान्वयन हुन सकेको छैनन् । यहाँका डाक्टरहरु निजी क्लिनिकहरु धाइरहेका छन् । केही नयाँ उपकरणहरु सञ्चालनमा आए पनि व्यवस्थापन अझै चुस्त हुन सकेको छैन ।

 एकातिर क्यान्सर अस्पतालका डाक्टरलाई निजी क्लिनिक जानबाट रोकिएको छैन भने, अर्कोतिर सञ्चालक समितिमा नयाँ सदस्य थपेर पूर्णता गरिए पनि सर्वोच्चमा रिट परेको छ । सर्वोच्च अदालतले पुरानै समिति लाई काम गर्नू भनी आदेश दिएपछि पुनः यो विषय सर्वोच्चमा बहस बनेको छ । जसले गर्दा क्यान्सर अस्पतालमा देखिएको केही सुधारमा फेरि समस्याहरु थपिएको छ ।
 ‘क्यान्सर अस्पतालमा सुधार ल्याउन सुरूमा यहाँका डाक्टरलाई निजी क्लिनिक जान रोकेर अस्पताल भित्रै काम गर्ने वातावरण बनाउनुपर्छ’ क्यान्सर रोकथाम नियन्त्रण तथा अनुसन्धान विभागका विभागीय प्रमुख भोला सिवाकोटीले भने, ‘व्यवस्थापन चुस्त र योजनाबद्ध कार्यक्रम ल्याए क्यान्सर अस्पताल अवश्य सुध्रन्छ ।’डाक्टरहरु कि सरकारी अस्पतालमा कि निजी अस्पतालमा मात्र आबद्ध हुनुपर्ने उनको भनाइ थियो । 
सरकारी मातहतमा रहेका डाक्टरहरुलाई निजी क्लिनिक जान कडाइका साथ रोक लगाए क्यान्सर मात्र होइन, धेरै अस्पतालमा सुधार आउने उनले बताए । क्यान्सर अस्पतालको २०५५ सालमा बनेको नियमावलीले निजी क्लिनिकमा काम गर्न बन्देज लगाएको भए पनि २०६१ सालमा सञ्चालक समितिले निजी क्लिनिक जान छुट दिएको थियो । ‘त्यो बेलामा तलबले पुगेन भन्दै डाक्टरलाई निजी क्लिनिकमा जान छुट दिनु नै गल्ती भयो’ अस्पतालका कार्यकारी निर्देशक चिनकाजी पुनले भने । 
अस्पतलाका अध्यक्ष प्रकाशराज न्यौपानेले डाक्टरलाई निजी क्लिनिक जान रोक लगाउने भन्ने विषयमा जिल्लाका सबै सरोकारवाला निकाय सहमत भए पनि यो कार्यान्वयनमा नआएको बताए । ‘हामीले क्यान्सर अस्पतालका डाक्टरलाई निजी क्लिनिक जान रोक लगाउने भनेका हौँ, तर यो कार्यान्वयनमा आउन अझै केही दिन लाग्छ’ अस्पतालका अध्यक्ष प्रकाशराज न्यौपानले टेलिफोनमा भने, ‘केही ढिलो होला तर यो जसरी पनि म कार्यान्वयन गराएर छोड्छु ।’ उनले पछिल्लो समय अस्पतालमा धेरै नै सुधार आएको बताए ।
 सञ्चालक समितिको सर्वोच्चमा चलेको बहसको लागि अध्यक्ष न्यौपाने यतिबेला काठमाडौँमा छन् । पुरानो सञ्चालक समितिका केही सदस्यहरुलाई हटाएर नयाँ नियुक्ति गरेपछि पुरानो समितिले रिट हालेपछि सर्वोच्चले पुरानो लाई नै काम गर्न भनेको थियो । तर, फेरि नयाँ नियुक्ति भएकाबाट सर्वोच्चमा रिट परेपछि यो विषय सर्वोच्चमा यतिबेला बहस चलिरहेको अध्यक्ष न्यौपानेले जानकारी दिए । उनले भने, ‘यो विषय एक हप्ताभित्र टुङ्गो लाग्छ ।’
 पुरानो समितिको कार्यकाल चैत ९ गते सकिदैछ । अस्पतालका कार्यकारी निर्देशक चिनकाजी पुनले अस्पतालको सबै निर्णयहरु सञ्चालक समितिले गर्ने हो, कार्यान्वयन मात्र कार्यकारी निर्देशकको काम भएको बताए । उनले भने, ‘सञ्चालक समितिको बैठक बसेको छैन, कुनै योजनाहरु आएकै छैन । क्यान्सर अस्पतालको मुख्य समस्या भनेकै सञ्चालक समिति पूर्ण नहुनु र बैठक नबस्नु नै हो ।’
 उनले ईएचएस सेवा कार्यालय समय अगाडि र पछाडिको काम सुरू गरेपछि डाक्टरहरु बाहिर क्लिनिकमा जाने काम बन्द हुने बताए । उनले भने , ‘डाक्टरले विदेशमा कि सरकारी कि निजी अस्पताल दुईमा एक रोज्नुपर्छ । यहाँ पनि त्यस्तो नियम बन्नुपर्छ ।’
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK