
धेरै भाइबर चलाएबापत ५० लाख भारु र एउटा कार चिट्ठा परेको भन्दै काभ्रेका कुलन लामालाई गत महिना भाइबरमै फोन आयो । भाइबर कम्पनीबाट बोलेको भन्दै एक भारतीय युवकले उनलाई फोन गरेका थिए । लामा निकै भाइबर चलाउँथे । त्यसकारण आफूलाई चिट्ठा परेको हुन सक्ने भन्दै उनी मक्ख परे । फोन गर्ने व्यक्तिले बैंकको खाता नम्बर, फोटो र नागरिकताको परिचयपत्र मागे । सोहीअनुसार उनले सबै कुरा बुझाए । तर, पैसा आएन । पैसा नआएपछि सो नम्बरमा उनी आफैँले फोन गरे । त्यसका लागि केही पैसा लाग्ने भन्दै उनीसँग ५७ हजार रुपैयाँ मागियो । झन्डै एक करोडको पुरस्कारका लागि ५७ हजार रुपैयाँ पठाउन उनलाई कुनै समस्या भएन । ती व्यक्तिले भनेकै खाता नम्बरमा उनले पैसा हालिदिए । त्यसपछि धेरै पत्रकारहरूका अगाडि उक्त पुरस्कार दिइने भएकाले स्टेजमा बोल्न अभ्यास गर्न निर्देशन दिइयो । मिडियामा आफू छाउने सपनामा लामा मक्ख भए ।