- नरेन्द्र चुदाली
कृषि विकास बैकंको केही समय अगाडी खुलाएर विक्रि नभएको हकप्रद सेयर लिलामिमा राखियो । लिलामीका आवेदनहरुको अन्तिम नतिजा सार्बजनिक हुँदैगर्दा त्यहाँ अनौठो लाग्ने खालको अवस्थापनि देखिए । अनौठो यस अर्थमा कि कृषि विकास बैकंको अहिलेको बजार भाउ निरन्तर घट्ने क्रममा रहि ४३० (आवेदन दिने समयमा) कै हाराहारिमा हुदै गर्दा लिलामिका लागि दिईएको बन्द खाममा लगानीकर्ताहरु ले ६०१ सम्ममा किन्न तयार रहेको देखियो ।
जबकि बजारमा कृषिको सेयर सेयर दलालकै कार्यलयबाट सुविधानजनक किसिमले ४३० को हाराहारीमै किन्न पाईन्छ र किनेको ३–४ दिनमै आबश्यकता अनुसार कारोबार गर्न पाईन्छ भने किन लगानीकर्ताहरु दिनभरि लाईनमा ठेलमठेल गरि सुचिकृत हुन पनि हप्तौ लाग्ने सेयरलाई ६०१ सम्म (५०० र ४५० का पनि आवेदन छन्) हाल्न तयार भए ? प्रश्न गम्भिर छ ।
यहाँ जसलाई जति हाल्नपनि स्वतन्त्रता छ । त्यसमा कुनै रोकतोक भएन । तर यहा ४३० मा पाईने चिजलाई किन ६०१ हालीयो । यसलाई गम्भिर रुपमा लिनु जरुरी छ । सेयरमा नाफा कमाउने उद्देश्यका साथ लगानी गर्ने हो तर बजारमूल्यभन्दा बढीमा किन आवेदन दिईयो ? यो व्यावसायिक धर्म भन्दा बाहिरको अस्वभाविक कुरा हो । यसलाई सामान्यकृत गरेर हेर्नु उचित हुदैन । किनकि यसमा गम्भिर प्रश्न उब्जिएका छन् ।
यस घटनाले नेपाली सेयर बजारमा आबद्ध हुन चाहाने लगानीकर्ताको चेतनास्तर र ज्ञान कति कमजोर छ भन्ने कुराको प्रतिविम्वित गर्छ । यसो भन्दैगर्दा यहा सबै लगानीकर्तालाई एउटै बास्केटमा हालेर हेर्न खोजिएको भने अवस्यपनि होईन । बजारमा आधारभुत तथा प्राबिधिक पाटाहरुको विश्लेषण गरेर लगानी गर्ने विबेकशील लगानिकर्तापनि धेरै छन् । त्यसका दुईमत छैन । तर यो बजारको भेलमा त्यस्ता नया लगानीकर्ता आएका छन् जसले कुनै तथ्य तथा आधारभुत ज्ञान विनानै सेयरमा लगानी गर्दे छन् । सेयरको र बजारको प्रवृतिको ज्ञान विनानै लिलामि सेयरमा आबेदन दिंदा बजारमुल्यभन्दा बढी तिर्न तयार भएको अनुमान गर्न सकिन्छ । नत्र भने जानीजानी लगानीकर्ताले धेरै पैसा हाल्दैनन् । त्यस्तो मानवीय स्वभावपनि हुदैन कि पर्ने भन्दा बढी पैसा खर्च गर्ने ।
यसमा सेयर साक्षारताकै अभाव देखिएको छ । बजारमा कुनै एउटा ब्राण्डको चाउचाउ २० मा पाईन्छ भने उपभोक्ताले ४० हालेर किन्दैनन् । त्यसरीनै कृषिको लिलाम सेयरपनि ४३० मा बजारमा पाउदा पाउदै ६०१ हाल्नु पर्ने आबश्यकतानै थिएन। अझ लिलाम सेयर ३६१ सम्मको आबेदन दिनेले पनि पाए ।
कृषिको सेयर लिलामीमा देखिएको अस्वाभाविक दृश्यले पूँजी बजारमा सेयर शिक्षा र ज्ञानलाई व्यापक बनाउनुपर्ने आवश्यकता महसुस भएको छ । यो बजारमा लगानी गर्न आउन सबै लगानीकर्ताहरु समान हुन् । चाहे त्यी ठुला र सस्थागत हुन चाहे त्यीनी साना हुन । कसैलेपनि सेयर ज्ञानको अभावमा आफ्नो लगानी जोखिममा पार्ने वातावरण बन्नु हुदैन । बजारमा धेरै किसिमका तत्वहरुले जोखिम बढाउने गर्छ । कहिले बजारलाई बाह्य वातावरणले प्रभावित पारिरहेको हुन्छ त कहिले आन्तरीक वातावरणले । आधारभुत ,प्राविधिक, राजनैतीक, नितिगत हरेक किसिमले बजारमा अबसरको साथ साथै जोखिमपनि रहन्छ ।
कुनैकुनै जोखिमलाई हामिले चाहेर पनि नियन्त्रण गर्न सक्दैनौ । नितिगत तथा राजनैतीक कारणबाट उत्पन्न हुने जोखिम हाम्रो नियन्त्रमा रहन सक्दैन । तर कमसेकम पनि हाम्रो बजार अब सेयर ज्ञान र साक्षारताकै कारणले उत्पन्न हुने जोखिमबाट बच्नु जरुरी छ । यस्ता जोखिमबाट लगानीकर्ताहरुलाई बचाउनका लागि लगानिकर्ताहरुलाई ब्यापक रुपमा सेयर शिक्षाको आवश्यकता देखिएको छ । बजारमा नया लगानीकर्ताहरुमा आधारभुत ज्ञानकै अभाव देखिनु विडम्बना पुर्ण छ । कृषिको लिलाम सेयर त एउटा उदाहरण मात्र भयो यस अघि केहि अरु बैंकहरुको सेयर लिलामीमापनि यस्तै नजिर दोहोरिएको थियो । अझ दोस्रो बजारमा त सेयर शिक्षाको अबस्था दयनिय छ । जसले गर्दा त्यस्ता सेयर साक्षारता प्रयाप्त नभएका लगानीकर्ताहरुको आफ्नै लगानी त जोखिममा परेको छदै छ यसले समग्र बजारनै प्रभावित गराउन सक्ने खतरा रहेको छ ।
सेयर बजार सधै तथ्य र आधारमा चल्छ भन्ने पनि छैन । यसमा लगानीकर्ताको मनोविज्ञानले पनि ठुलो काम गरिरहेको हुन्छ । बजारमा आबद्ध भएका लगानीकर्ताहरुको ज्ञान विबेक साक्षारता आत्मविश्वासको स्तर तथा मनोविज्ञानको छाया अप्रत्यक्ष रुपमा पुजि बजारमा पर्ने गर्छ । त्यसैले बजारमा लगानीकर्ताहरु विबेकशील छन् भने बजारमा त्यही अनुसारको छाया पर्छ । यदी छैनन् भने आधारभुत तथ्यभन्दा विपरित प्रभाव पूँजी बजारमा पर्ने गर्छ । त्यसकारण पनि हामिले बजारमा सेयर शिक्षा प्रभावकारी बनाउनुपर्ने देखिएको छ । जसको लागि धितोपत्र बोर्ड लगायतका सरोकारवाला निकायहरु सचेत बन्नु जरुरी छ ।
यहाँ कसैलाई आरोप प्रत्यारोप लगाउनेभन्दा पनि हामी कहाँ कमजोर छौ त्यही कुरा सुधार्ने हो । अहिले हाम्रो बजारमा सेयर साक्षारताको स्तर कमजोर देखिएको कुरा यथार्थ हो । यसलाई लुकाउनुपर्ने आवश्यकता छैन । तथ्यहरुलेनै यसको पुष्टि गर्छ । त्यसकारण सेयर साक्षारताको लागि नितिगत तथा संरचनागत रुपमा सरकारले सहजीकरण गर्नुपर्ने देखिन्छ । जसको लागि बोर्डले आफ्नै मातहतमा एकेडेमि स्थापना गरी निश्चित शुल्कमा सेयर शिक्षा प्रदान गर्न सक्छ । वा सेयर ब्रोकरहरुलाई परामर्शदाताको भुमिका दिन सक्छ । वा कन्सल्ट्यान्ट सेवाको लागि आवश्यक वातावरण मिलाईदिन सक्छ ।
र अन्त्यमा यस संग संगै कृषीको लिलाम सेयरमा देखिएको अस्वभावीक तथ्यलाई अर्को कोणलेपनि हेर्नुपर्ने देखिन्छ । यदि त्यहाँ सुनियोजित रुपमा बजार मुल्य भन्दा बढीको आवेदन गराएर कम्पनीको ‘भ्यालु’ देखाउन खोजिएको हो भने त्यसको सत्य तथ्य छानविन हुनुपर्छ । यदि त्यसो हो भने, त्यस्ता विकृतिलाई निस्तेज पार्नु जरुरी छ। यहाँ कमजोर नियमनको फाईदा उठाएर त्यस्तो स्तरको जालसाझी नहोला भन्नपनि नसकिने स्थिति छ ।