
रमेश : गुडमर्निङ सर।
राजकुमार : गुडमनिङ। केही छैन भने म छुट्टि लिन्छु ?
रमेश :: एक छिनमा।
राजकुमार : छुट्टि बस्दा हुन्छ ?
रमेश : हुँदैन। एक छिनमा कन्र्फम हुन्छ।
राजकुमार : ओके
रमेश : ओके कन्फर्म छ है भोली सर।
राजकुमार : ओके
फेसबुकको म्यासेन्जरमा भएका यी सूचना आदानप्रदान नेपालमा बसेर साढे ३३ किलो सुन रिसिभ गर्ने मुख्य व्यक्ति दिलबन्धु भन्ने रमेश थापा र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयस्थित एक्स–रे मेसिनमा स्क्रिन पास गराउने कर्मचारी राजकुमार ढकालबीचको हो। पुस नौ गते थापा र ढकालबीच लामो गफ भयो। थापाले लगेज र लगेर लिएर आउने व्यक्तिसम्मको फोटो ढकालको म्यासेन्जरमा पठाउँथे। ढकालले ढुक्क हुन्न थापालाई सम्झाउँथे।
अन्तराष्ट्रिय विमानस्थलको भन्सार जस्तो संवेदनशील स्थानमा मुख्य जिम्मेवारी सम्हालेका सरकारी कर्मचारी र सुन तस्करबीचको अवैद्य साँठगाँठले मुलुकको सुरक्षा र गोपनियता उदांगिएको छ। साढे ३३ किलो सुन तस्करीमा संलग्न संगठीत गिरोहले विमानस्थलमा खटिएका भन्सारका कर्मचारीलाई पूर्ण सूचना दिएर मात्रै सुन पास गराउँदै आएको यो नमुना घटना हो। तस्करले फेसबुक म्यासेन्जरमा च्याट गर्दै सुन ल्याउने व्यक्ति र लगेजसम्मको सूचना आदानप्रदान गर्दै आएका थिए।
सुन बरामद घटनाको दुई महिनापछि आईतबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले पत्रकार सम्मेलन गर्दै आधिकारीक जानकारी गराएको हो। ‘ दुवई देखि विमानस्थलसम्मको सेटिङ ज्यादै संगठीत देखियो, जबकी दुवईका गिरोहसँग विमानस्थलको भन्सारमा खटिएका कमचारी र सुन रिसिभ गर्न आउने व्यक्तिबीच पटकपटक सूचना आदानप्रदान भएको देखिन्छ,’ सीआइबी प्रमुख डीआइजी नवराज सिलवालले भने,‘ मुख्य व्यक्ति युएईको दुवईमै छन्, हामी रेडकर्नर नोटिस जारी गरेर भएपनि कानुनी दायरामा ल्याउँछौं।’
सुनका तस्कर र भन्सारका कर्मचारीबीच लगातार म्यासेन्जरमा च्याट हुने गरेको र भन्सारका कर्मचारीले विदामा बस्दा समेत तस्करलाई मात्रै सोधेर बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। बढी सुन तस्करी एयर अरेबियाको शारजाहँबाट काठमाडौं आउने उडानमा हुने गरेको जानकारी सिलवालले दिए। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
मुख्य तस्कर हरिशरण खड्काको कनेक्सन युएईकै अर्का कारोबारी सन्तोष काफ्ले (हाल पक्राउ) सँग र काफ्लेको रिसिभर दिलबन्धु थापा र थापाको भन्सारका कर्मचारी श्रीनारायण यादवसँग हुँदै आएको सीआइबीले जनाएको छ। ‘ यी चार जनाबीच पटकपटक फोनमा र म्यासेन्जरमा कुराकानी भएको देखिन्छ,’ डीआइजी सिलवालले भने,‘ यादवको विमानस्थल भित्रै सिधासम्पर्क भने राजकुमार ढकाल, ढकालको श्यामकुमार श्रेष्ठसँग हुन्थ्यो, एसएसपी श्याम खत्रीसँग यादवसँग मात्रै सम्पर्क देखियो।’
दुवईमा बसेका मुख्य कारोबारीहरु हरिशरण खड्का, राजन प्रसाद पन्त, अर्जुन प्रसाद खरेल, रोशन गुप्तलाला भुसाल, कृष्ण गोपाल अग्रवाल, चुडामणी उप्रेती, गोरो भन्ने सिताराम खरेल, केशव चापागाइँ, सञ्जय भन्ने दुर्ग प्रसाद खरेल र गोपाल भुसालसमक्ष भने प्रहरी पुग्न सकेको छैन। नेपालका मुख्य रिसिभरहरु दरबार रोधी क्लबका काभ्रेका रामहरि कार्की, रुविन भन्ने राम प्रताप खड्का र मोरङका प्रकाश खरेल र बुद्धिमान खरेल हुन्।
सीआइबीका अनुसार सुन मगाउनेहरुमा चर्चित सुन पसल आरके ज्वलर्सका सञ्चालक राजेन्द्र कुमार शाक्य, मल्लिका बज्राचार्य शाक्य, सालिमार ज्वलर्सका सञ्चालक राम कृष्ण गोयल, कुसुम गोयल र राहुल गोयल हुन्। सालिमारकै अनमोल बज्राचार्य र बैभव लक्ष्मी ज्वलर्सका सञ्चालक प्रमोद श्रेष्ठ समेत सुन माग गर्ने व्यापारी रहेको सीआइबीले जनाएको छ। यी व्यापारीहरुसँग शेयर होल्डर्सको रुपमा कैलालीका रवि राजेश बोगटी, काठमाडौं क्षेत्रपाटीका शनि श्रेष्ठ, वैभव ज्वलर्सकै मनोज श्रेष्ठ, सुनिल श्रेष्ठ, राजेश शाक्य र सपन श्रेष्ठ समेत रहको प्रहरी दावी छ।
सीआइबीका अनुसार विमानस्थल भन्सार कार्यालयमा विगत पाँच वर्षको अवधिमा तीन सय १४ वटा सुन तस्करीसम्बन्धी मुद्दा दर्ता भएको र सबै प्रतिवादीहरु धरौटीमा छुटेका थिए। राजश्व अनुसन्धान विभागमा भने विगत पाँच वर्षमा ४५ वटा मुद्दा दर्ता भएकोमा सबै प्रतिवादीहरु धरौटीमा छुटेका थिए।
सीआइबीले गत पुस २१ गते बिमानस्थलबाट बाहिरिएको ३३ किलो ५७७.४० ग्राम सुनसहित गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्लेलाई पिंगलास्थानबाट पक्राउ गरेको थियो। उनीहरुमाथि थप अनुसन्धान गर्दा हाल पक्राउ परेका १२ जना र फरार २१ जनाको संलग्नता खुलेको हो।
तस्करले विमास्थल सेटिङका लागि प्रतिकिलो ५० हजार देखि ८० हजार रुपैंया छुट्याउने गरेको तर तलका कर्मचारीको हकमा सामान्यतया एक पटक सुन पास गराएबापत दुई देखि तीन लाख रुपैंया दिने गरेको सीआइबी प्रमुख सिलवालले दिए। प्रहरीका लागि छुट्याईएको एक लाख भने एसएसपी श्याम खत्रीले पाउँदै आएको सिआइबीको दावी छ।
यसैबीच सिआइबीले सुन तस्करीमा संलग्न ३३ जनाविरुद्ध दुई वटा मुद्दामा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। १५ करोड ४० लाख चा हजार आठ सय ८ रुपैंया २६ पैसा र तिर्नुपर्ने भन्सार महशुल एक करोड ४२ लाख ८३ हजार आठ सय ९२ रुपैंया ४० पैसा गरि कूल १६ करोड ८२ लाख ८८ हजार सात सय रुपैंया ६६ पैसा बराबरको विगो बमोजिम जरिवाना र विगो जफतको दावीसहित प्रहरीले मुद्दा दायर गरेको हो। सीआइबीले भन्सार ऐन अन्तर्गत पाँच वर्ष कैदको माग गरेको छ।
संगठीत अपराध नियन्त्रण ऐन २०७० दफा ९(क) र (ग) सँजाय माग गरिएको छ। दफा ९ (क) मा गम्भीर अपराधमा हुने सँजायको अतिरिक्त थप ५० प्रतिशत (साढे दुई वर्ष कैद) सँजाय माग गरिएको छ। ९(ग)मा थप पाँच कैदको व्यवस्था छ। सबै गरेर यी प्रतिवादी विरुच प्रहरीले १२ वर्ष ६ महिना कैद माग गरेको छ।
सुनमा कर्मचारीको हकमा थप छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानविनका लागि पठाउने र गैर कर्मचारीको हकमा सम्पत्ति छानविनका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाउन आदेशको समेत माग गरिएको छ।
कस्को के जिम्मेवारी ?
गोपालबहादुर शाही : भरिया
दिलबन्धु थापा : नेपालमा रिसिभ गर्ने
सन्तोष काफ्ले : दुवाईबाट पठाउने
रामहरी काफ्ले : मुख्य वितरक र रकम संकलक
श्रीनारायाण यादव : विमानस्थलमा सेटिङ मिलाउने
राजकुमार ढकाल : विमानस्थलको स्क्रिन पास गराउने
श्यामकृष्ण श्रेष्ठ : विमानस्थलको स्क्रिन पास गराउने
श्यामबहादुर खत्री : विमानस्थलको सुरक्षा सेटिङ मिलाउने
राजेश शाक्य : अवैध सुन खरिद गर्ने
मनोज श्रेष्ठ : अवैध सुन खरिद गर्ने
सपना श्रेष्ठ : अवैध सुन खरिद गर्ने
सुनिल श्रेष्ठ : अवैध सुन खरिद गर्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्