- गगन थापा, स्वास्थ्यमन्त्री
मेरी आमा । उनै महान आमा । नाम : रामेश्वरी थापा । सोलुखुम्बुमा जन्मनुभएको थियो । ३ कक्षासम्म पढ्नुभयो । सरकारी सेवामा रहनुभएका मेरा बुबा जागिरको सिलसिलामा सिन्धुपाल्चोक आउनुभएका बेलामा म पनि त्यतै जन्मिएँ रे । दुई कक्षादेखि सिन्धुपाल्चोकबाट काठमाडौँ पढ्न आएँ । सिद्धार्थ वनस्थली स्कुलबाट एसएलसी दिएँ ।
आमाको त्यो बानी र अभावको जिन्दगी
मेरो आमाको एउटा मलाइ अचम्मको लाग्ने बानी थियो । बुबाले हामीलाई पिट्नुभयो भने आमाले कहिल्यै पनि जोगाउनुहुन्नथ्यो । बरु बुवासँगै मिलेर पिट्नु हुन्थ्यो । जिन्दगीमा अभावका अनुभव धेरै छन् । हामी दाजुभाइ वर्षमा जम्मा एक एक जोडी लुगा हाल्थ्यौँ । त्योपनि दाजुभाइलेनै त्यसलाई साटेर लगाउन मिल्ने गरी किन्थ्यौँ । त्यो अभावले धेरै सिकाएको छ । बुबा आमाले सकेको गर्नुभएको हो । आमाकै कारण यहाँसम्म छु ।
कमाएकोजति पैसा आमालाई दिन्थें
एसएलसी पास भएदेखिनै आफ्नो काम गर्न थालेँ । पहिले किताब पसलमा बस्थेँ, पछि ट्युसन पढाउन थालेँ । त्यसपछि रेडियोमापनि काम गरेँ । म्याथको राम्रो ट्युसन टिचर थिएँ म । उतिबेलानै मैले मैले १५ हजार बढी कमाउँथें । त्यो ट्युसन पढाएर आएको पैसा म आमालाई नै दिन्थेँ । आमा र बुबाको रहर म इन्जिनियर कि डाक्टर बनोस् भन्ने थियो । मैले आफ्नै कानले सुनेको त छैन तर आफन्तहरुलाईचाहिँ “मेरो माइलोले गरी खाँदैन कि क्या हो” भनेर चिन्ता व्यक्त गरेको कुरा थाहा पाएको थिएँ ।
आमाले पिटेका यादहरु
सात कक्षा पढ्दाको कुरा हो । मैले पढाइ निकै बिगारेँ । रिजल्ट बिग्रियो भनेर मलाई बुबाले पिट्नु भयो । बुवाले पिट्दै गर्दा आमाले जोगाउनु भएन । चप्पल खोलेर झन् पिट्नु भयो । ९ कक्षा पढ्दा पनि ‘रामधुलाई’ भेटेको छु। आन्दोलनको बेलामा डिल्लीबजार चोकमा सेनासँग मैले झण्डै गोली खाएँ । त्यतिबेला एफएम एक सय भन्ने थियो । त्यसैको आधारमा सेनाले मलाई लखेटेको रहेछ । म नारा लगाउँदै, भाग्दै घरभित्र छिरेँ । घर छिर्ने बित्तिकै बुवाले बेजोड पिट्नुभयो । आमा- आमा भनेर कराएँ । आमा आउनु त भयो तर उल्टै उहाँले पनि पिट्नुभयो ।
आफ्नै ससुरासँग चुनाव लड्दा चिन्तित आमा
नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा मेरो ससुरा बुवासँगै म चुनाव लड्ने भएपछि आमालाई त्यो निकै चिन्ताको विषय बनेको थियो । ‘तँ कि यो छोड्दे कि कुनै अरु ठाउँबाट लड’ भनेर सम्झाउने प्रयास गर्नुभयो । ‘तपाईंले यस्तो कुरा बुझ्नु हुन्न, छोडिदिनुस् आमा’ भनेर म अगाडि बढेँ । त्यतिबेला आमा रुनुपनि भएछ । मलाई पहिले नै यो जानकारी भएन । तर पछि साथीहरुले भने ।
छोरो मन्त्री भएपछी…
म अहिले पनि आमासँग नै बस्छु । मन्त्री भइसकेपछि पनि मेरो घरमा ठाउँ साँघुरो छ । अप्ठेरो छ । तर आमाले कहिलेपनि गुनासो गर्नुहुन्न । जीवनमा जे जे गरें, सब आमाकै देन हो । आमाको माया हो । मसंग भएको सबैभन्दा ठुलो सम्पति पनि आमा हो । आमाको ठाउँ अरु कसैले लिन सक्दैन । त्यो असम्भव कुरा हो । सकेसम्म आफ्नी आमालाई खुसी राख्छु । हरेक सन्तानको चाहाना पनि यहि हुन्छ ।
(कुराकानीमा आधारित)