- मदन कृष्ण श्रेष्ठ
आमा जननी हुन् । मायाकी प्रतिमूर्ति हुन् । आमा साक्षात् भगवान हुन् । तर उनै आमाको माया मैले अनुभव गर्न पाइनँ । म ६ महिनाको हुँदा मेरी आमा बित्नुभएको थियो । आमाको अनुहार याद छैन । फोटो थुप्रै पटक हेरेको छु । कहिलेकाहीं लामो समयसम्म हेर्छु ।
बाले ४ वटी बिहे गर्नुभयो
आमा बितेपछी बाबाले अर्को बिहे गर्नुभयो । तर दोस्री आमा पनि दुईटा बच्चा जन्मेपछि बित्नुभयो । पछि दुइटा बच्चाहरुको पनि निधन भयो । बुवाले तेस्री आमा बिहे गर्नुभयो । तेस्री आमालाई मैले राम्रैसँग सम्झन्छु । उहाँले मलाई माया गर्नुहुन्थ्यो । जहाँ जाँदा पनि सँगै लैजानुहुन्थ्यो । तेस्री आमा पनि वित्नुभयो । उहाँको एक जना छोरा हुनुहुन्थ्यो, उहाँ पनि वित्नुभायो । त्यसपछि बुबाले चौथी आमा ल्याउनुभयो । उहाँ मभन्दा ९ वर्ष मात्रै जेठी हुनुहुन्छ । मेरो नजरमा उहाँलाई ‘सानिमा’ बन्नु थिएन ।
आफ्नै आमाको विरुद्ध मुद्धा हालें
बुवा ०३२ सालमा बित्नुभयो । मेरी अहिलेकी आमातिर दुइटी बहिनी र एक भाइ छ । ०३८ सालतिर मैले घर बनाएपछि हाम्रो भान्सा अलग भयो । हाम्रो सबै जग्गा भाइ, म र आमाको नाममा थियो । एकपटक भाइ र आमाले केहि काम गर्न भनेर ३६ प्रतिशतमा ऋण लिएछन् । तर, घरै खाइदिने स्थिति आएपछी आमाले मलाई भन्नुभयो, ‘बाबु, मेराविरुद्ध मुद्दा हाल । आमा र भाइले मलाई नसोधी घर बेचे भनेर हकदाबी गर, घर त जोगाउनुपर्यो ।’
आफ्नै आमाको विरुद्ध मुद्धा हाल्न मन लागेन । तर भोलिपल्ट त आमालाई हर्टअट्याक भयो । आमालाई आइसियुमा राखियो । एक दिन हस्पिटलमा गएर भनेँ, ‘आमा, मैले हजुरको विरुद्धमा मुद्दा हालेँ ।’ आमाले खुसीका आँशु झार्नुभयो ।’ त्यो बेला आफैंलाइ कस्तो कस्तो लाग्यो । तर आमाको खुसीका निम्ति त्यति गर्नुथियो । मैले मुद्धा हालें भने आमा खुसी हुनुहुन्छ र आमालाई केहिपनि हुँदैन भन्ने कुराले दिमागमा हानीरहेको थियो ।
पूजा कोठामा आमाको फोटो
मुद्दा मैले जितेँ । अझैसम्म हाम्रो सम्बन्ध यस्तै मीठो छ । छोराछोरीको पहिलो धर्म नै आमाबाबुलाई हेर्नु हो जस्तो लाग्छ मलाइ । मैले मेरी आमाको तस्बिर पूजाकोठामा राखेको छु । पूजा गर्दा उहाँको पनि पूजा गर्छु । कहिलेकाहीं आमाको तस्विर हेरेर त्यतिकै रुन मन लाग्छ । आफ्नी आमा सम्झंदा कहिलेकाहीं ठूलो पीडा हुन्छ। आफ्नी जन्म दिने आमा नभएपनि कसैलाई आमा भन्न पाएको छु, यसैमा खुसी लाग्छ ।
(अर्थ सरोकारकर्मी रेखा ग्वायमरुसँगको कुराकानीमा आधारित)