
काठमाडौं – विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय टिमको तयारी सुरु गरेको छ । १२ औं दक्षिणएसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणका कारण स्थगित भएको राष्ट्रिय टिम तयारी राखेपको वार्षिक कार्यक्रमअनुसार फागुन २६ देखि सुरु भएको हो । तर अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी अघि बढाइएको टिम तयारीमा सहभागी खेलाडी भने राखेपले उपलब्ध गराउँदै आएको न्यून भत्ताका कारण विभिन्नखाले मानसिक दबाब झेल्न बाध्य छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
अपर्याप्त भत्ताका कारण उनीहरूको ध्यान अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीभन्दा पनि अपर्याप्त डाइट र बसोबासको समस्यामा बढी केन्द्रित हुने गरेको छ । अर्को वर्ष इन्डोनेसियाको राजधानी जकार्तामा हुने एसियाली खेलकुद र सन् २०१९ मा नेपालमै आयोजना हुने भनिएको १३ औं सागलाई ध्यानमा राखी पदकको सम्भावना भएका १२ वटा एकल खेललाई प्रशिक्षणमा समावेश गरिएको राखेपले जनाएको छ।
राष्ट्रिय टिम तयारीका लागि खेलाडी चयन गर्दा १२ औं सागको नतिजा, सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हासिल गरेको सफलता र एकल खेललाई प्राथमिकतामा राखिएको जानकारी राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले दिए ।
उनले १२ औं साग र सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक जितेका खेलाडीलाई राष्ट्रिय तयारी टिममा सहभागी गराइएको बताए । राखेपले राष्ट्रिय टिममा सहभागी खेलाडीमध्ये उपत्यका भित्रकालाई दैनिक तीन सय र उपत्यका बाहिरकालाई ६ सय रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ ।
खेलाडीलाई प्रदान गरिने दैनिक भत्तामध्ये दुई सय रुपैयाँ भने ‘डाइट’ का लागि कटाउने गरिएको जानकारी संयोजक रानाभाटले दिए । उनका अनुसार यस आर्थिक वर्षमा राष्ट्रिय टिम तयारीका लागि तीन करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
राष्ट्रिय टिम तयारीमा सहभागी खेलाडीले राखेपले दिने भनेको भत्ताबापतको रकम हालसम्म आफूहरूले नपाएको गुनासो गरेका छन् । १२ औं सागकी स्वर्णपदक विजेता उसुकी नीमा घर्तीमगरले दिनहुँ ‘डाइट’ खान पाए पनि पकेट खर्चबापतको रकम अहिलेसम्म नपाएको बताइन् । ‘समग्रमा हामीलाई दिइने डाइट त ठीकै छ तर भत्ताबापतको बाँकी रकम भने अहिलेसम्म पाउन सकिएको छैन’, उनले भनिन्।
उसुका राष्ट्रिय खेलाडी राजु लामाले पनि निकै दु:ख सहेर राष्ट्रिय टिमको तालिम गरिरहेको बताए । धादिङ ७ जीवनपुरका लामा काठमाडौंमा कोठा भाडामा लिएर प्रशिक्षणमा सहभागी छन् । ‘काठमाडौंमा आफन्त कोही छैनन् । प्रशिक्षणकै लागि कोठा भाडामा लिएर बसेको छु । महिनामा चार हजार रुपैयाँ कोठाभाडा तिर्नुपर्छ । राखेपले दिने भनेको भत्ता पनि अहिलेसम्म पाएको छैन । आफ्नै खर्चले अहिलेसम्म धानिरहेको छु’, उनले दुखेसो पोखे ।
यसैगरी कराँते प्रशिक्षक कुशल श्रेष्ठले उपत्यकाभित्रका लागि दैनिक तीन सय रुपैयाँ दिनु उचित भए पनि उपत्यकाबाहिरका लागि भने न्यायसंगत नभएको बताए । ‘उपत्यकाबाहिरका प्रशिक्षकका लागि त समस्या नहोला तर खेलाडी भने मारमा परेका छन् । ६ सय रुपैयाँले खान र बस्न पुग्दैन । यस विषयमा परिषद्ले पुनर्विचार गर्नैपर्छ’, उनले भने ।
तेक्वान्दो खेलाडी रेजिना कार्कीले पनि डाइट र भत्ता पर्याप्त नभएको बताइन् । ‘दिनको तीन सय रुपैयाँ भत्ता दिने भनिएको छ । दुई सय रुपैयाँ त डाइटमै काटिन्छ । एक सय रुपैयाँले के गर्ने ? ‘ उनले गुनासो गरिन् । राष्ट्रिय टिम तयारी समितिका संयोजक रानाभाट पनि खेलाडीलाई उपलब्ध गराएको भत्ता पर्याप्त नभएको बताउँछन् । ‘तालिमका लागि अर्थ मन्त्रालयबाट बजेट निकासा गर्दा शीर्षक नै तोकिएको छ । यसमा हामीले केही गर्न मिल्दैन । तर भत्ता पर्याप्त नभएको विषय हामीले मन्त्रालयमा पठाइसकेका छौं । आशा छ अर्को आर्थिक वर्षदेखि बजेटमा बढोत्तरी हुनेछ’, उनले भने।रानाभाटले मन्त्रालयमा प्रस्ताव पठाउँदा उपत्यकाभित्रका लागि दैनिक पाँच सय र मोफसलका खेलाडीका लागि दैनिक एक हजार रुपैयाँ प्रस्ताव गरिएको बताए ।
राखेप सदस्यसचिव केशवकुमार बिष्टले पनि खेलाडीलाई वैज्ञानिक हिसाबले ‘डाइट’ खुवाउन र पर्याप्त पकेट खर्च दिन नसकिएको स्वीकारे । ‘हामीले खेलाडीलाई वैज्ञानिक हिसाबले डाइट खुवाउन सकेका छैनौं । तर अबका दिनमा कुन खेलका खेलाडीका लागि दैनिक कति क्यालोरी चाहिन्छ, त्यसको हिसाब गरेर वैज्ञानिक रूपमा डाइट खुवाउँछौं’, बिष्टले भने, ‘पकेट खर्च पनि अर्को आर्थिक वर्षदेखि वृद्धि हुन्छ ।’
काठमाडौंमा अहिले सामान्य खाने हो भने पनि छाकको दुई सय रुपैयाँ पर्छ । यसैगरी होटेल र लजको भाडा पनि महँगो छ । काठमाडौंमा दैनिक पाँच सयभन्दा कम मूल्यको कोठा पाउन कठिन छ । पाइहाले पनि होटेलको सुविधा चित्तबुझ्दो हुँदैन । यस्तो अवस्थामा राखेपले खेलाडीलाई मारमा पारेको गुनासो अधिकांश खेलाडीको छ ।
प्रशिक्षणमा विभिन्न १२ खेलका एक सय ८७ जना खेलाडी सहभागी छन् । सहभागी खेलमा तेक्वान्दो, कराँते, बक्सिङ, उसु, जुडो, एथलेटिक्स, आर्चरी, ब्याडमिन्टन, टेबुलटेनिस, सुटिङ, भारोत्तोलन र कुस्ती छन् । यसैगरी पौडी र ट्रायथलनको प्रशिक्षण पनि चाँडै सुरु हुने राखेपले जनाएको छ । राष्ट्रिय टिम तयारीमा ५५ जना प्रशिक्षक खटाइएको छ । राष्ट्रिय टिम तयारीमा समावेश गरिएका अधिकांश खेलको प्रशिक्षण त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको छ।
खेलाडीले पाउने भत्ता
उपत्यकाबाहिरका खेलाडी : ६ सय रुपैयाँ
उपत्यकाभित्रका खेलाडी : तीन सय रुपैयाँ
डाइटबापत कट्टा गरिने रकम : दुई सय रुपैयाँ
बाँकी
उपत्यकाबाहिरका खेलाडी : चार सय रुपैयाँ
उपत्यकाभित्रका खेलाडी : एक सय रुपैयाँ
खेलाडीको खर्च
दुई छाक सामान्य खाना : चार सय रुपैयाँ
आवास : पाँच सय रुपैयाँ
राष्ट्रिय टिम तयारीमा सहभागी खेल : १२ वटा
राष्ट्रिय टिम तयारीमा सहभागी खेलाडी : एक सय ८७ जना
राष्ट्रिय टिम तयारीमा सहभागी प्रशिक्षक : ५५ जना
छुट्ट्याइएको बजेट : तीन करोड ३९ लाख रुपैयाँ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्