×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संघीयतामा तेहेरो कर हुने छैन : प्रधानमन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

संघीयतामा तेहेरो कर हुने छैन : प्रधानमन्त्री

Artha Sarokar

२९ चैत्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संरचनामा तेहेरो कर प्रणाली नहुने बताएका छन् । संघीय संरचनाको कर प्रणालीप्रति निजी क्षेत्र चिन्तित देखिएको भन्दै प्रधानमन्त्रीले तेहेरो कर नलगाइने स्पष्ट पारेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ५१औँ वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले कर प्रणालीमा ढुक्क हुन उद्योगी व्यवसायीलाई आग्रह गरे । ‘संघीय प्रणालीमा तीनवटै तहले छुट्टाछुट्टै कर उठाउन सक्ने निजी क्षेत्रको चिन्ता र चासो रहेको देखियो र यो स्वाभाविक पनि हो,’ उनले भने, ‘कर उठाउने अधिकार तीनै तहमा भए पनि उद्योग व्यवसायबाट दोहोरो–तेहेरो कर भने लगाइनेछैन ।’
प्रधानमन्त्री प्रचण्डले संघीय प्रणालीमा मुलुकभित्रै हुने वस्तु, सेवा र पुँजीको आवत–जावतमा कुनै पनि प्रकारको कर नलगाइनेसमेत बताए । ‘देशको प्रतिस्पर्धी क्षमता बढाउन निर्यात व्यापारमा शून्य करको व्यवस्था भएको अवस्थामा मुलुकभित्रै हुने आवत–जावतमा कर लाग्ने गरी बजारलाई खण्डित गरिनेछैन,’ उनले भने, ‘कर प्रणाली तर्जुमा र कार्यान्वयनमा संविधानमा भएको व्यवस्थाअनुसार हुनेछ ।’ सरकारका तहहरूबीच जिम्मेवारीको बाँडफाँडले उद्योग व्यवसाय झन् जटिल हुन सक्ने निजी क्षेत्रको चासो र चिन्ता रहेको भन्दै उनले प्रक्रियालाई सरल बनाउन र जटिलता हटाउन सरकार सचेत रहेको स्पष्ट पारे ।

निर्वाचनमा सघाउन आग्रह
सोही अवसरमा प्रधानमन्त्री प्रचण्डले उद्योगी व्यवसायीलाई स्थानीय तहको निर्वाचनमा सघाउन आग्रहसमेत गरे । उनले मुलुक स्थानीय तहको निर्वाचनमा होमिइसकेको भन्दै यसलाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न सबैको सहयोग चाहिने बताए । ‘आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्ने कार्यमा आ–आफ्नो तह र तप्काबाट हरतरहले सहयोग गर्न तपाईं निजी क्षेत्रलाई विशेष आग्रह गर्न चाहन्छु,’ उनले भने । चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा सरकार र निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय चुनौतीहरूको सामना गर्नुपर्ने भन्दै उनले निजी क्षेत्रको सद्भाव र सहयोगका लागि आग्रहसमेत गरे ।
भवानीलाई सुझाब र शुभकामना
प्रधानमन्त्री प्रचण्डले महासंघको संशोधित विधानअनुसार मंगलबारबाट अध्यक्ष बन्ने भवानी राणालाई समेत सुझाब दिए । निर्यातमुखी आर्थिक वृद्धिको नीतिलाई अघि बढाई निजी क्षेत्रलाई अर्थतन्त्रको इन्जिन रहेको पुष्टि गर्न उनले सुझाब दिए । ‘नेपालको राष्ट्रप्रमुख, प्रधानन्यायाधीश र सभामुखजस्ता महत्वपूर्ण स्थानमा महिला रहेको सन्दर्भमा निजी क्षेत्रको महत्वपूर्ण संस्थाको प्रमुख पदमा महिला पुग्नुले नेपाली महिलाहरूको सामथ्र्य र नेतृत्वदायी भूमिकाको उजागर गर्दछ,’ उनले भने, ‘सामाजिक उत्तरदायित्व बहन गर्दै आर्थिक वृद्धि हासिल गराउन खरो रूपमा उत्रिनुस्, सरकारको तर्फबाट सहजकारी भूमिका निर्वाह गर्ने कार्यमा कुनै कसर बाँकी राखिनेछैन ।’
अबको दशक ‘समृद्धिको दशक’
८ महिना सरकारको नेतृत्व गर्दैगर्दाको अनुभव सुनाउँदै प्रधानमन्त्री प्रचण्डले संकल्प गर्न सके मुलुकले छिट्टै आश्चर्यजनक विकास हासिल गर्न सक्ने बताए । ‘हामीले संकल्प गर्यौँ, इमानदार भयौँ र सही मान्छेलाई सही ठाउँमा राख्यौँ भने छिट्टै नै आश्चर्यजनक विकास गर्न सम्भव छ,’ उनले भने, ‘त्यसैले नयाँ अठोट गरौँ, आउँदो दशक नेपालको समृद्धिको दशक हुनेछ ।’ वर्तमान सरकारले लोडसेडिङ हटाउने, आर्थिक क्षेत्रसँग सम्बन्धित ऐन ल्याउने, राष्ट्रिय गौरवका आयोजनालाई अघि बढाउने र प्रशासनिक अवरोधलाई हटाउनेलगायत थुप्रै काम अघि बढाएको उनले बताए ।

लगानी प्रवद्र्धन गरे समृद्धि : महासंघ
महासंघका अध्यक्ष पशुपति मुरारकाले स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धन गर्न सके मुलुकले समृद्धि हासिल गर्ने बताए । ‘हालै सम्पन्न अन्तर्राष्ट्रिय लगानी सम्मेलनबाट १४ खर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको छ,’ उनले भने, ‘यो लगानीलाई यथार्थमा रूपान्तरण गर्दै कार्यान्वयनमा ल्याउन सके आर्थिक विकासले फड्को मार्ने पक्का छ ।’ त्यस्तै, वरिष्ठ उपाध्यक्ष भवानी राणाले स्वदेशी लगानीको आकर्षण तथा प्रवद्र्धन गर्न नसके विदेशी लगानी आउन नसक्ने बताइन् । उनले आर्थिक समृद्धि हासिल गर्न सरकार–निजी क्षेत्र साझेदारीको आवश्यकता रहेकोसमेत बताइन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी